बझाङको प्रसिद्ध चैतली मेलाको रौनक सुरु

 चैत ३०, २०७५ शनिबार १७:५:४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङ जिल्लामा अहिले चैतली जात्राको रौनक छ । चैतलीलाई यस क्षेत्रको सबैभन्दा ठूलो धार्मिक मेलाको रुपमा लिने गरिन्छ । 

सुदूरपश्चिमको प्रसिद्ध चैतली मेलाको सुरुवात चैते औंसीबाट हुन्छ । चैते औंसीको दिन मेलाको दिनको लागि भनेर त्यहाँका स्थानीयहरु काँकर बनाउनको लागि रुख छनौट गर्न टाढाका जङ्गलमा जान्छन् । त्यो दिन काटेको काँकरलाई चैत पूर्णिमाका दिन अर्थात चैतली मेलाको विशेष दिनमा मष्टा मन्दिरमा लगेर चढाइन्छ ।

चैतली मेला भर्न आएका हजारौं श्रदालुहरुले बान्नीको काँकर र बान्नी मष्टाको दर्शन गर्ने गर्दछन् । मेलामा डेउडा प्रतियोगिताको आयोजना पनि गरिएको हुन्छ । डेउडाले मेलालाई अझै बढी रोमाञ्चित अर्थात संगीतमय बनाउने गर्छ । 

परापूर्वकालमा महिषासुर दानवले मष्टा देवतालाई युद्धमा हराएर पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मा देवी प्रकट भइ महिषासुरको वध गरेको खुशियालीमा बान्नीकी चैतली मेला लाग्ने गर्दछ । 

चैत्र औँसीका दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पूर्णिमा हुँदै त्रयोदशीसम्म लाग्ने गर्दछ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका पुजारीहरु चोखो भएर ब्रत बस्ने गर्दछन् । छविस पाथीभरा गाँउपालिकामा रहेको बान्नीकी चैतली हेर्न सदुपश्चिम भरिका श्रदालु भत्तजनाहरु आउने गर्दछन् ।  

सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ । झण्डै ४०।५० मिटर लामो कांकर (लिङ्गो) लाई मानिसहरुले समाएर ५ सय मिटर जति हिडाउने गरिन्छ ।  यसरी हिडाएर ल्याएको कांकर लाई बान्नी मष्टाको मन्दिरमा चढाए पछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाहरु बीच भकुन्डो खेल्ने प्रचलन समेत रहेको स्थानीय सुरेश रोकायाले बताउनुभयो  । 

यसरी काँकर हिँडाएको र भकुन्डो खेलेको हेर्न बझाङ जिल्लालगायत सुदूरपश्चिम प्रदेशका जिल्लाबाट हजारौं दर्शनार्थी छविसपाथीभेरा गाँउपालिकाको बान्नी चौरमा उपस्थित हुने गर्दछन् । राक्षसलाई मारिसकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औंलाको नगरा (गजा) बनाइ विजय उत्सव मनाएको किम्वदन्ती रहेको छ ।

घरमा जस्तोसुकै समस्या आइपरे पनि अनिवार्य रुपमा यो पर्व मनाउनु पर्ने चलन छ । घरमा मान्छेको मृत्यु भएको अवस्थामा पनि लास घरमै राखेर यो मेला मनाउने चलन रहिआएको छ ।

दशैँ तिहार भन्दा पनि ठूलो पर्वका रुपमा यस पर्वलाई मनाउने गरेको स्थानीय बासिन्दा विष्णु ऐडीको भनाइ छ ।  

घोडेजात्राको दिनदेखि सुरु भएर पूर्णिमासम्म चल्ने यो मेलाको काँकर ल्याउने दिन महत्त्वपूर्ण मानिन्छ । यस दिन घरबाट लगिएका बोकाहरू काँकरमा बलि दिने प्रचलन रहेको छ । बाजागाजासहित तीन गाउँका अलग अलग समूह बनाएर  काँकर (लिङ्गो) काट्न गएको र काँकर बोकेर ल्याएको हेर्नका लागि छविस क्षेत्रमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । 

यो वर्ष मेलाको आकर्षण बढाउनका लागि विभिन्न गाउँकाबीच डेउडा प्रतियोगिता, भलिबल प्रतियोगिता समेत आयोजना गरेको छविस पाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले जनाउनुभयो ।

मेला हेर्न आउनेहरुको लागि खाना र बासको व्यवस्था गर्न मेला स्थल आसपासका गाउँहरूलाई अस्थायी होमस्टेको रूपमा प्रयोग गर्ने तयारी भैरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: भदौ १७, २०७६

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया