आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
डोटी– जिल्ला प्रहरी कार्यालय डोटीले भारतबाट चोरी गरी ल्याएको रकमसहित केआईसिंह गाउँपालिका–२ का केशव भुललाई पक्राउ गरेको छ ।
पक्राउ परेका भुलबाट ४ लाख ३१ हजार रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पक्राउ परेका भुलले भारतको लुधियाना शहरबाट चोरी गरी रकम ल्याएको छ भन्ने सूचनामा आधारमा हामीले पक्राउ गरेका हौँ, बाँकी अनुसन्धान भैरहेको छ ।’
तर राष्ट्रिय जनमोर्चाका नेता तथा स्थानीय मीनबहादुर मलासीले पक्राउ परेका भुलबाट प्रहरीले ४ लाख ६० हजार बरामद गरेको दाबी गर्नुभयो । ‘प्रहरीको टोली आएर भुलको घरमा खान तलासी गरेर ४ लाख ६० हजार रुपेयाँ लगेको हो, अहिले ४ लाख ३१ हजार रुपैयाँ मात्रै बरामद भयो भनेको छ, बाँकी २९ हजार कसले लुकायो ?’ उहाँले भन्नुभयो ।
प्रहरीले बरामद गरेको भनिएको र स्थानीय प्रत्यक्षदर्शीले दाबी गरेको रकममा फरक परेपछि अहिले यो विषयमा खैलाबैला मच्चिएको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार, पक्राउ परेका भुलले भारतबाट १ करोड नगद र केही सुनका गरगहना चोरी गरेर फरार भएको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सुरज केसीको आदेशमा प्रहरी टोली परिचालन गरिएको थियो ।
पक्राउ परेको रकमसहित भुललाई प्रदेश प्रहरी कार्यालयमा बुझाउन डीआईजी केशीले जिल्ला प्रहरी कार्यालय डोटीलाई आदेश दिएको प्रहरीले जानकारी दियो ।