गाैमुत्र प्रशाेधन गरेर औषधि बनाउँदै स्वर्गद्वारी आश्रम

 बैशाख ७, २०७६ शनिबार १८:३१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्यूठान – प्यूठानकाे स्वर्गद्वारी आश्रममा रहेका गाईबाट संकलित मुत्र प्रशोधन गरी औषधिको रुपमा बिक्री गर्न सुरु गरिएको छ । 

स्वर्गद्वारी आश्रममा रहेका ३ सय ५० गाईबाट दैनिक ४० लिटर बढी मुत्र संकलन हुदै आएको छ । संकलित मुत्रलाई प्रशोधन गरी ग्याष्ट्रिक तथा पेटका अन्य समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिने गरी गौअर्घको रुपमा बिक्री गर्न सुरु गरिएको हो ।

झण्डै १ महिना अगाडिदेखि गौअर्घको रुपमा प्रशोधित गाईको मुत्र बिक्री गर्न सुरु गरिएको आश्रममा रहेका साधक बाबुराम न्यौपानेले जानकारी दिनुभयो । ८० लिटर गाैमुत्रलाई उमालेर बाफ निकाल्दै पुरै प्रशोधित गर्दा ४० लिटर गौअर्घ उत्पादन हुने न्यौपानेले जानकारी दिनुभयो ।

गौअर्घको मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ राखिएको छ । आश्रममा एक सय घनमिटरको गोबर ग्यास प्लाण्ट भए पनि चिसोका कारण पुरै क्षमतामा सञ्चालन हुन सकेको छैन । 

गाईहरुलाई पानी, कुँडाे खुवाउन सजिलो होस् भनेर वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले आश्रममा सोलार पनि राखिदिएको छ । राप्ती अञ्चल अन्तर्गत प्यूठानको अग्लो शैलशिखरमा रहेको पावन क्षेत्र स्वर्गद्वारी आश्रमको स्थापना वि‍.सं. १९५२ मा बालतपस्वी महाप्रभुबाट भएको जनविश्वास छ । प्राचीन समयमा स्वर्गद्वारी क्षेत्र यज्ञभूमिको रुपमा प्रसिद्ध थियो ।

वेदव्यास जस्ता त्रिकालदर्शी महर्षिहरुले यही ठाउँमा यज्ञ गरेको तथा महाभारतका पाँच पाण्डवले तपस्या गरेर स्वर्ग प्रस्थान गरेको जनश्रुति पनि रहदै आएको छ । आश्रममा २०५२ सालदेखि अखण्ड यज्ञ चल्दै आएको छ । स्वर्गद्वारीमा यज्ञका लागि २४ जना पूजारी, गुरुकुलमा १ सय जना विद्यार्थी तथा साधुसन्तहरु रहेको साधक न्यौपानेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०७६

तपाईको प्रतिक्रिया