लाली गुराँस क्रिकेट मैदान : डाँडाको टुप्पोमा राष्ट्रिय खेलाडीको पर्खाइ

 बैशाख ९, २०७६ सोमबार १८:७:२३ | अर्जुन पोख्रेल
unn.prixa.net

नेपालमा क्रिकेटको लोकप्रियता छ भन्ने सबैलाई थाहा छ । तर अति धेरै लोकप्रियता छ, र क्रिकेट अब डाँडाकाँडामा पनि पुग्न थाल्यो भन्ने चाहिँ कमैलाई थाहा होला ।

नेपालमा क्रिकेटको लोकप्रियता कतिसम्म छ भन्ने जान्न प्यूठानको झिमरुक  गाउँपालिका वडा नम्बर–८, को दियाल्ना चौरमा जानुपर्छ । 

नजिकै शहर पनि छैन, ठूला–ठूला प्रतियोगिता पनि हुँदैनन्, तर वडा नम्बर ८ भने दियाल्ना चौरमा बडेमानको मैदान क्रिकेट रंगशालाको पर्खाइमा छ । डाँडोको टुप्पोमा मैदान क्रिकेट मैदान बनाउन वडासँगै उनीहरु पनि लागिपरेका छन् ।

डाँडोको टुप्पोमा मैदान आधाजति बनिसकेको छ, एउटै मैदानमा २/३ वटा सम्म समूहले मज्जाले क्रिकेट खेलिरहेका हुन्छन् । नयाँ वर्षको दिन नै दियाल्ना चौरमा पुग्दा ४ टोलीले खेल खेलिरहेका थिए । 

बेला–बेलामा बल जंगलतिर पुग्थ्यो, १०/१५ मिनेटपछि बल खोजेर ल्याएरै भए पनि युवाहरुले खेल जारी राखेका थिए । 

‘हामीलाई त यही मैदान नै राष्ट्रिय मैदान जस्तो भएको छ, बेला बेलामा प्रतियोगिता गरिरहेका हुन्छौँ, डाँडोको टुप्पोमा खेल्दाको मज्जा छुट्टै छ’, स्थानीय खेलाडी प्रेम महताराले भने । 

२१ लाख खर्च भयो, ५० लाख रुपैयाँको माग

झिमरुक गाउँपालिका वडा नम्बर ८ दियाल्नाको डाँडो उचाइका हिसाबले निकै माथि छ । तर डाँडो सम्म परेको भएकाले यहाँ आन्तरिक विमानस्थल बनाउनुपर्छ भन्ने आवाज उठेको थियो । झण्डै २ सय रोपनी जग्गा विमानस्थलका लागि उपयुक्त भएको भन्दै पटक–पटक बजेटका लागि पहल पनि भएको थियो । 

तर पछि यसलाई विमानस्थलभन्दा पनि क्रिकेट मैदान बनाउनुपर्छ भन्ने आवाज उठ्यो र क्रिकेट मैदानको अवधारणा ल्याइयो । 

क्रिकेट मैदानको लागि तत्कालीन जिल्ला विकास समितिले १० लाख रुपैयाँ खर्च गरेको थियो । आर्थिक वर्ष २०७४/७५ मा झिमरुक गाउँपालिकाले ८ लाख रुपैयाँ खर्च गर्‍यो भने यस आर्थिक वर्षमा ३ लाख रुपैयाँ खर्च भएको छ । 

२१ लाख रुपैयाँ खर्च गरेपछि दियाल्ना चौरले मैदानको आकार लिएको छ । तर सामान्य तारबार पनि नहुँदा गाईबाख्राले आराम गर्नेदेखि उच्छृङखल व्यक्तिले दिसापिसाब गरिदिने गरेका छन् । 

मैदानमा आधारभूत सुविधाका लागि वडा कार्यालयले गाउँपालिकामार्फत प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयमा ५० लाख रुपैयाँको बजेट माग गरेको छ । 

‘यति धेरै रकम खर्च भैसक्यो, गाउँमा पनि क्रिकेटको क्रेज कस्तो छ भनेर देखिसक्नुभयो, त्यसैले हामीले क्रिकेट मैदानमा जोड दिएका छौँ’, वडाअध्यक्ष तुलसबहादुर बस्नेतले भन्नुभयो । 

राष्ट्रिय खेल र खेलाडीको प्रतिक्षा

दियाल्नाको डाँडोलाई सम्याएर मैदानको आकार दिएदेखि नै प्रस्तावित लाली गुराँस रंगशालामा खेल हुन थालेका हुन् । गएको वर्ष मात्रै १९ वटा टिमको सहभागितामा जिल्लास्तरीय प्रतियोगिता भएको थियो । स्थानीय प्रतियोगिता भैरहन्छन् । प्यूठान, गुल्मी, बाग्लुङलगायत जिल्लाका रमणीय दृश्य हेर्दै क्रिकेट हेर्न र खेल्नको लागि घन्टौँ हिँडेर युवाहरु दियाल्ना चौर पुग्छन् । 

‘भारत, दक्षिण अफ्रिका, न्यूजिल्याण्डलगायतका देशमा पहाडका टुप्पामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भैरहेका देख्छौँ, हाम्रो पनि त्यस्तै दिन आउला भनेर कुरेर बसेका छौँ’, मदन भण्डारी स्पोर्टस एकेडेमीका एक युवाले भने । 

वडा नम्बर ८ का वडाध्यक्ष बस्नेतले पनि सुन्दर पहाडको टुप्पोमा क्रिकेट मैदान बनाउने सपना पूरा गरेरै छाड्ने र राष्ट्रिय खेलाडी ल्याएर ठूला प्रतियोगिता खेलाउने धोको रहेको बताउनुभयो ।


 

अन्तिम अपडेट: चैत १, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया