कसले पठाउँछ बालबालिकालाई सडकको बीचमा पानी बेच्न ?

 बैशाख १२, २०७६ बिहिबार १९:१३:३७ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

रातको नौ बजिसकेको थियो । कार्यालयबाट फर्कंदा कोटेश्वरमा सामान्य जाम थियो । रोकिएको गाडी अगाडि आएर एक जना बालक कराए, ‘पानी लैजानुस् न एउटा मात्र बाँकी छ ।’ जाम खुल्यो, पानी चाहिँदैन भन्दै अघि बढ्यौं । 

७-८ वर्षका जस्ता देखिने बालक कराउँदै थिए, ‘एउटा मात्र बाँकी छ लैजानुहोस् न, रात पर्‍यो साहुले कराउँछ’, भर्खर कार्यालयबाट निस्किएको, घर पुग्नै लागेको अनि रातको समय पानी आवश्यक थिएन । 

पर पुग्दा मसिनो स्वरमा सुनिएको शब्द, ‘साहुले कराउँछ’ले चसक्क बनायो । साहुले नै बेच्न पठाएको हो त? सोच्दै थिएँ । ड्राइभर दाइलाई पनि त्यही शब्दले छोएछ, भने, ‘साहुले कराउँछ भन्छ, कसका छोराछोरी हुन्, कसले जम्मा गरेर राखेर सामान बेच्न पठाउँछ क्या हो, नत्र त घरमा बा-आमा वा आफन्तको नाम लिनुपर्ने ।’ 

घटना सामान्य छ । तर यस देशको चित्र झल्किएको छ । छिप्पिएको रातमा सानो बालक साहुको पिर गर्दै सडकमा पानी बेच्छ । सडकमा जे पनि हुन सक्छ । जोखिमकाबीच कराइरहेको बालक पनि त यही देशको नागरिक हो नि । 

खै उसको भविष्यको चिन्ता ? हरेक दिन समृद्धिको भाषण गरेर नथाकेका प्रधानमन्त्रीका आसेपासेले प्रधानमन्त्रीलाई यस्ता चित्र देखाउलान् ? राति अबेरसम्म मनमा कुरा खेलिरह्यो । 

दिनमा दुई पटक त्यही बाटो हिँड्छु । दिउँसो थुप्रै बालबालिकासँगै, किशोरकिशोरी, युवायुवती वा अधबैंशेहरु पनि कोटेश्वर चोकमा सामान बेचिरहेका हुन्छन् । गाडीको चापका हिसाबले काठमाण्डौ उपत्यकाकै चर्चित कोटेश्वरमा जाम भएको मौकामा सामान बेच्न धेरैको तँछाडमछाड हुन्छ । 

गाडी पुछ्ने टालोदेखि खानेकुरा पनि यात्रुको हातमै आइपुग्छ । बालबालिका लोभ्याउने मिठाइदेखि जंकफुड भनेर चिनिने प्याकेटका विभिन्न खानेकुरा बोकेर गाडी-बाइकलाई पछ्याउनेहरु धेरै छन् । कतिलाई लाग्ला व्यस्त जिन्दगी भएका शहरबासीलाई यसले सजिलो बनाएको छ । केहीले तर्क गर्लान्, मानिसहरु स्वरोजगार भएका छन् । काम पाएका छन् । 

तर यी सबै तर्क भावनाका कुरा हुन् । महत्वपूर्ण कुरा व्यस्त सडकको बीचमा गएर व्यापार गर्न हुँदैन र पाइँदैन । 

नेपालको संंविधानमा मौलिक हक अन्तर्गत कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन भन्ने व्यवस्था गरेको छ । गाडी गुडिरहेको अत्यन्तै व्यस्त चोकमा बालबालिकाहरु दौडधुप गरिरहनु निकै जोखिमपूर्ण हुन्छ, त्यसैले जसले लगाएको भए पनि यो काम संविधान विपरीत छ । 

कानुनको कुरा एकातिर छ, बालबालिकालाई जोखिममा लगाउने वा लगाएको हेरेर बस्नेहरुले कम्तिमा मानवीय संवेदनशीलतालाई पनि ध्यान दिनुपर्छ । जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने भएकोले त्यस्ता ठाउँमा बालबालिका पठाइनु हुँदैन । 

बालबालिका मात्र हैन, व्यस्त सडकको बीच भागसम्म पुगेर व्यापार गरिरहनेका कारण सडक दुर्घटना हुने जोखिम निकै हुन्छ । गाडी गुड्ने सडक र मानिस हिँड्ने फुटफाथमा व्यापार गर्न नपाईने भए पनि काठमाण्डौ उपत्यकामा यस्ता व्यापार धरै हुने गरेका छन् । 

कोटेश्वरसँगै, गौशाला, कलंकी, नयाँ तथा पुरानो बसपार्क, रत्नपार्क लगायत मानिसको जमघट तथा सवारी चाप बढी हुने धेरै ठाउँमा हात र काँधमा सामान राखेर दौडनेहरुको भिड नै हुन्छ । उनीहरुको व्यापारका कारण गाडी र यात्रुहरुले निकै सास्ती भोग्ने गरेका छन् । यस्तो कामलाई रोक्नुपर्छ । 

धेरैलाई लाग्ला सडक व्यापारबाट धेरैले आम्दानी लिइरहेका छन् । सडक सामान्य व्यवसाय गर्नेहरुको आधार त हो, तर यो सुरक्षाका दृष्टिले ठिक हैन । सडकछेउ तथा सामान्य व्यवसायका लागि केही खुला ठाउँको व्यवस्था राज्यले गर्न सक्छ । तर मानिस र गाडी हिँड्ने सडकमा व्यापार गर्ने छुट दिनु हुँदैन । त्यसमा आश्रितलाई सरकारले विकल्प खोज्नु कर्तव्य हो । तर विकल्प खोज्दासम्म बसून् भन्न पनि मिल्दैन । 

सडक छेउमा फलफूल काटेर खुल्ला रुपमा राखिएको हुन्छ । औषधि भन्दै विभिन्न बस्तु बेचिएकै हुन्छ । हावा र धुलो चलिरहेको खुला ठाउँमा खानेकुरा पनि बेचिएकै हुन्छ । विभिन्न मिठाइहरु सडकमै बेचिएका छन्, त्यसको गुणस्तर के भन्ने थाहा छैन । यस्ता खानेकुराले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन्, तर रोकिएको छैन । 

स्मार्ट सिटी, सहज आवागमन, स्वस्थ वातावारण यी सबैलाई काठमाण्डौको सडकछेउ मात्र हैन, सडकको बीच भागमै पुगेर गरिने व्यापारले गिज्याइरहेको छ । अझ बढी त भोलिको देशका खम्बा बालबालिकालाई व्यापारका लागि बीच भागमा दौडाइरहेको छ । जुन कार्य स्वयं बालबालिकासँगै यात्रा गर्ने सबैका लागि खतराको संकेत हुन् । 

साहुले कराउँछ भन्ने अघि शुरुमा चर्चा गरिएको विषय झनै गम्भीर हो । कोटेश्वर चोकमा पानी र मिठाइका केही पोका लिएर बेच्दै गरेका एकजना बालकसँग मैले छोटो कुराकानी गरें :
तिम्रो नाम के हो ?  
रवीन तामाङ ।
घर कहाँ हो ? 
त्रिशुलीतिर ।
कहाँ बस्छौं ? 
उता, (बालकुमारीतिर देखाउँदै) ।
को को बस्छौं ? 
हामी सामान बेच्ने धेरै छौं ।
सामान कहाँबाट ल्याउँछौं ? 
साहुले दिन्छ ।
पैसा दिएर ल्याएको ? 
हैन, अहिले साहु लिन आउँछ । 
कति नाफा हुन्छ ? 
खै सबै साहुलाई दिन्छु (पानी किन्नु न, गफ गरेर बसेको देख्यो भने साहुले कुट्छ) ।
खै कहाँ छ साहु ?
अहिले आउँछ नि । काम कस्तो गर्छ भनेर हेर्न आउँछ (यति भन्दै बालक बीच सडकतर्फ दौडिए ।)

चिन्ता यहीँनेर हो । केही पहिले सडकमा मगन्ते परिचालन गर्ने गिरोहका बारेमा समाचार पढेको थिएँ । बालबाालिकालाई माग्न बाध्य बनाउने र उनीहरुले मागेको रकम लैजाने गरेको पीडादायी समाचार जस्तै बालबालिकाहरुलाई सडकमा सामान बेच्न खटाउने पनि समूह त छैन ? यदि त्यस्तै हो भने त्यो निकै खतरनाक हो । यसको अनुसन्धान प्रहरीले गर्नुपर्छ । 

मगन्ते हटाउने, फुटपाथको व्यापार हटाउने जस्ता प्रयास प्रभावकारी हुनुपर्‍यो । व्यस्त हुने सडक तथा चोकमा हातमा सामान लिएर दौडिनेहरुलाई रोक्नुपर्छ । यो मानिसको स्वास्थ्यदेखि सडक सुरक्षाका दृष्टिले पनि खतरा हो । अनि गम्भीर हुनुपर्ने विषय त, त्यसरी सडकमा हुने व्यापारमा बालबालिकाको सहभागिता रोक्न ढिलाई गर्नुहुन्न । 

बालबालिकाको अधिकार संविधानमा मौलिक हकको रुपमा छ । अभिभावक छैनन् भने बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्ने जिम्मा सरकारको हो । सरकार यो काम गर्न तयार हुनुपर्छ । 
 

अन्तिम अपडेट: साउन १२, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया