नेपालले लण्डनमा 'स्ट्रीट चाइल्ड वर्ल्डकप क्रिकेट' खेल्ने

 बैशाख १३, २०७६ शुक्रबार १९:५:५२ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपालले बेलायतको राजधानी लण्डनमा आयोजना हुने ‘'स्ट्रीट चाइल्ड वर्ल्डकप क्रिकेट' प्रतियोगिता’ खेल्ने भएको छ ।  

यही वैशाख १८ देखि २५ गतेसम्म हुने त्यस विश्वकपमा नेपालसहित भारत, बङ्गलादेश, मरिसस, ताञ्जानिया, वेष्टइन्डिज, जिम्बाबे, कङ्गो, बेलायतलगायतको सहभागिता रहनेछ ।

‘चाइल्ड रिच नेपाल र स्ट्रीट वाल नेपाल’को समन्वयमा हुने त्यस प्रतियोगितामा नेपालबाट चार महिला र  चार पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ट्रीट वाल नेपालका कार्यक्रम व्यवस्थापक छितिज बस्नेतले जानकारी दिनुभयो ।

सहभागी खेलाडीमा महिलातर्फ निशा राई, रुपा श्रेष्ठ, सङ्गीता थापामगर र रिता गौतम तथा पुरुषतर्फ सन्देश सुनार, सन्देश छतकुली, रवीन्द्र गुरुङ र विनोद परियार छन् ।  राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र कलाकार हरिवंश आचार्यले टोलीलाई सफलताको शुभकामना दिनुभयो । उहाँहरुले उक्त प्रतियोगितामा पाएको अवसरलाई सदुपयोग गर्न खेलाडीलाई आग्रह गर्नुभयो । 

स्ट्रीट वाल नेपालका कार्यक्रम व्यवस्थापक बस्नेतले विश्वकपमा नेपालले फाइनलसम्मको यात्रा तय गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस प्रतियोगिताका लागि नेपाली टोलीले दुई महीना अभ्यास गरेको थियो । आठ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली यही वैशाख १७ गते लण्डन प्रस्थान गर्नेछ 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया