हुम्लामा परिचय नखुलेको रोगका कारण थप एकजनाको मृत्यु

 बैशाख १६, २०७६ सोमबार ९:६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हुम्लाको ताँजाकोटमा परिचय नखुलेको रोगका कारण थप एकजनाको मृत्यु भएकाे छ ।

ताँजाकोट गाउँपालिका वडा नम्बर ५ की ६० वर्षीया पवित्रा बोहोराका आइतबार राती मृत्यु भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो । यससँगै ज्यान गुमाउनेको सँख्या १० पुगेको पनि उहाँले जानकारी दिनुभयो ।

आइतबार सुर्खेतबाट हेलिकोप्टरमा औषधी लिएर गएको डाक्टरकोे टोलीले साेमबार काठमाडौ फर्कने तयारी गरेपनि थप एकजनाको ज्यान गएपछि शिविर सञ्चालन गरेर बिरामीको उपचार सुरु गरेको उहाँले बताउनुभयो ।

ताँजाकोटको वडा नम्बर १, २, ५ र ८ मा रुघा लाग्ने, छाती दुख्ने, ज्वरो आउने लगायत समस्या देखिएपछि कर्णाली प्रदेश सरकारले आइतबार औषधिसहित डाक्टरको टोली पठाएको हो ।

स्वाथ्यकर्मीले त्यहाँ मौसमी फ्लुका कारण उनीहरुको ज्यान गएको हुन सक्ने आशंका गरेका छन् ।

यसैबीच, झाडापखाला फैलिएको गुल्मीको दजाकोटमा संकलन गरिएको दिसा र पानीको नमुना काठमाण्डाै ल्याइएको छ । विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले झाडापखाला प्रभावित क्षेत्र मुसिकोट नगरपालिका ४ दजाकोटमा पुगेर दिसा र पानीको नमुना संकलन गरेर साेमबार काठमाडौ ल्याएको हो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया