ठेकेदारले काम नगरेपछि सडक निर्माणको जिम्मा उपभोक्तालाई

 जेठ ४, २०७५ शुक्रवार १०:१७:३३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

terhathum

तेह्रथुम, जेठ ४ – धनकुटाको सिधुवादेखि तेह्रथुमको छथर गाउँपालिका जोड्ने नौ किलोमिटर दुरीको सडक निर्माणमा ठेकेदार कम्पनीले काम नगरेपछि अब उपभोक्ता समितिमार्फत नै स्तरोन्नतिको काम हुने भएको छ ।

यो सडक निर्माणका लागि चार वर्ष अघि उन्नति परियोजनाले जिल्ला विकास समितिमार्फत ठेक्का लगाएको थियो ।

साढे तीन करोड रुपैयाँ बढी लगानीमा सडक निर्माणको जिम्मा लिएको वाईपी कन्स्ट्रक्सनले पटक–पटक म्याद थप गर्दासमेत काम सम्पन्न नगरेपछि बहिर्गमन हुने बेलामा उन्नति परियोजनाले गाउँपालिकामार्फत उपभोक्ता समितिहरु गठन गराई काम गर्न सहमति दिएको हो । विहीबार मात्र यो सडक उपभोक्ता समितिमार्फत स्तरोन्नति गर्नका लागि सहमति भएको छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्बुले बताउनुभयो ।

छथर गाउँपालिकाको जिविकोपार्जनसँग प्रत्यक्षरुपमा जोडिएको यो सडक निर्माणमा ढिलाई हुँदा गाउँपालिकाका बासिन्दाले सास्ती बेहोर्दै आएका थिए । अब यो सडकको तीन खण्डमा छुट्टा–छुट्टै उपभोक्ता समितिमार्फत दुई करोड २० लाख रुपैयाँको काम गर्ने सहमति भएको गाउँपालिका अध्यक्ष लिम्बुले बताउनुभयो ।

उहाँले सडक मर्मत गरेर यो वर्षको वर्षायाममै पनि नियमित सवारी सञ्चालनका लागि पहल गर्ने बताउनुभएको छ । उन्नति परियोजनाले जिल्लाका ९ वटा कृषि सडकहरुको स्तरोन्नतिका लागि काम गरेकामा अन्य सात वटा सडकहरु यसअघि नै उपभोक्ता समितिमार्फत निर्माण भइरहेका छन् ।

अन्तिम अपडेट: भदौ २४, २०७५

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया