मुम्बई भर्सेज चेन्नई : कसले बराबर गर्ला पुरानो हिसाब ?

 बैशाख २९, २०७६ आइतबार १४:५९:५६ | एजेन्सी
unn.prixa.net

रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई इण्डियन्सले अहिलेसम्म चार पटक फाइनल खेल्दा तीनमा बाजी मारेको छ, जस अन्तर्गत मुम्बईले सन् २०१३ र २०१४ मा चेन्नई सुपर किंग्ससँग फाइनल खेलेको थियो ।  

त्यस्तै महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले तीन पटक उपाधि चुमिसक्दा आठौं पटक फाइनलमा पुगेको छ । चेन्नईका लागि यो सत्र निकै सुखदायी रह्यो । विशेषगरी दुई वर्ष निलम्बनमा परेको चेन्नईले गएको वर्ष उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेको थियो । 

फाइनलको नतिजा जे भए पनि यी दुईबीचको फाइनल खेलले एउटा याद गर्न लायक अध्यायलाई जोड्छ । चेन्नई फाइनल खेलमा मुम्बईविरुद्ध विशेष तयारीका साथ उत्रँदैछ । किनकि यो सत्रमा भएको तीन भेटमा चेन्नई तीनै पटक पराजित भएको छ । 

रोहित र टिमले चेन्नईको स्पिनरविरुद्ध विशेष सजग भएर प्रस्तुत गर्नुपर्छ किनकि अरु टिमका ब्याट्सम्यान इमरान ताहिर, हरभजन सिंह र रविन्द्र जडेजासामु संघर्ष गरिरहेका थिए । चेन्नईका तीव्र गतिका बलर दीपक चाहरले पनि निकै प्रभाव जमाएका छन् । उनले यो प्रतियोगितामा १९ विकेट लिइसकेका छन् । 

मुम्बईलाई फाइनलका लागि चार दिनको आराम मिलिसकेको छ भने चेन्नई यो सत्रमा मुम्बईविरुद्ध पहिलो जित निकाल्दै चौथो पटक उपाधि जित्न चाहन्छ । 

चेन्नईले २०१० र २०११ मा लगातार दुई पटक उपाधि जितेको थियो भने त्यसपछि उपाधि जित्न २०१८ कुर्नु परेको थियो । उता मुम्बईले पहिलो उपाधिको स्वाद भने पहिलो पटक २०१३ मा चाखेको थियो भने २०१५ र २०१७ मा गरि तेस्रो पटक उपाधि जितेको थियो ।

मुम्बईका रोहित शर्मा, हार्दिक पाण्ड्या, सूर्य कुमार यादव, क्वीन्टन डि कक, किरन पोलार्ड र जसप्रित बुमराह जारी प्रतियोगितामा फर्ममा रहेका छन् । यी खेलाडीको प्रदर्शनले उपाधि माथि प्रभाव पार्ने निश्चित जस्तै छ । मुम्बईमा युवा खेलाडीहरुको बाहुल्यता रहेकोमा चेन्नई भने अनुभवी खेलाडीको सम्मिश्रणमा रहेको छ । 

जसमा भारतीय टिमका पूर्व कप्तान समेत रहेका धोनीको म्याच फिनिसरको भूमिका अविष्मरणीय हुने छ । यसैगरी सुरेश रैना, फाफ डू प्लेसिस, शेन वाट्सन, ड्वान ब्राभो, हरभजन सिंह, इमरान ताहिरले पनि जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । फाइनल खेल आइतबार राति पौने ८ बजे हैदराबादमा सुरु हुने छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया