राष्ट्रपतिद्वारा संस्कृतिविद् जोशीको दीर्घायूको कामना

 बैशाख ३०, २०७६ सोमबार १२:२०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको दीर्घायू र सुश्वास्थ्यको कामना गर्नु भएको छ । 

राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उहाँकै निवास पाटनमा पठाउनु भएको मंगलकामना सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पुर्‍याउनु भएको योगदानको पनि उच्च प्रशंशा गरिएको छ ।

राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशीलाई पठाउनु भएको मंगलमय कामना सन्देश सोमबार बिहान उहाँकै निवासमा आयोजित एक समारोहमा पढेर सुनाइएको थियो । राष्ट्रपति भण्डारीले पठाउनु भएको सो सन्देशमा नेपाल भाषा र संस्कृतिको श्रीवृद्धिमा पनि उहाँले पुर्‍याउनु भएको योगदान उल्लेखनीय रहेको स्मरण गरिएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले पठाउनु भएको सय अंक उल्लेख गरिएको चित्रसहितको बुकी र दोसल्लाद्वारा पनि संस्कृतिविद् जोशीलाई सम्मान गरिएको थियो ।

संस्कृतिविद् जोशी सय वर्ष पुगेको अवसर पारेर सोमबार विहान उहाँकै निवासमा आफन्तजनहरुले उहाँको सुस्वास्थ्य र दीर्घायूको कामना पनि गरेका छन । बिहानै निवासमा पुग्नु भएका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उहाँको आफन्तहरुले उहाँको सुश्वास्थ्य र दीर्घायूको कामना गर्नु भएको हो । त्यस अवसरमा उहाँको दिर्घायू र सुश्वास्थ्यको कामना गर्दै नेवारी परम्परागत शैलीमा पूजापाठ पनि गरिएको थियो ।

यसैबीच, ललितपुर महानगरपालिकाले उहाँको सम्मानमा सोमबार सार्वजनिक बिदा पनि दिएको छ । यता, सरकारले पनि संस्कृतिविद जोशीलाई नेपालको संस्कृतिलाई समृद्ध बनाउन दिनु भएको योगदानको कदर गर्दै वाङमय शताब्दी पुरुषको सम्मान प्रदान गरिसकेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया