टेलिभिजन अन्तर्वार्तालाई लिएर उत्तेजित नहुन कार्यकर्तालाई समाजवादी पार्टीको निर्देशन

 बैशाख ३०, २०७६ सोमबार १८:२२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मानमर्दन एवं अपमानित हुने ढंगले एक टेलिभिजनमा प्रश्न सोधिएको पार्टीले जनाएको छ । 

आइतबार राति एक राष्ट्रिय टेलिभिजनबाट राति ९.०० बजे प्रसारण हुने लाइभ अन्तर्वार्ताका  पत्रकारले आचारसंहिताविपरीत प्रश्न सोधेको र अभद्र व्यवहार गरेको पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा सार्वजनिक विज्ञप्तिमा जनाइएको छ । 

विज्ञप्तिमा अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सधैँ सम्मान गर्दै आएको बताउँदै  आइतबार राति एक राष्ट्रिय टेलिभिजनको कार्यालयमा भएको दुःखद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी पंक्ति एवं कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ । 

साथै,  पार्टीले पत्रकारिताको आचरणविपरीतका प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन संचार गृह, संचारकर्मी र प्रेस काउन्सिलसहित मिडियालाई नियमन गर्ने सम्पूर्ण निकायहरुलाई अपिल गरेको छ । 

सोमबार दिउँसो वीरगञ्जस्थित एभिन्यूज टेलिभिजनको क्षेत्रीय कार्यालयमा समाजवादी पार्टीका कार्यकर्ताले तोडफोड गरेको आरोप टेलिभिजनले लगाएको छ । 


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • माधब पसाद खनाल

    May 14, 2019, 1:34 a.m.

    यस्तो पाखन्डि नेतालाइ टेलिभिजन मा ल्याएर टेलिभिजन को बेइजेत भयो यस्तो सामन्ती ले कसरि जनता को कुरा सुन्छन

  •  0 Reply

तपाईको प्रतिक्रिया