नयाँ सिर्जना लिएर शान्ति ठटाल पलेँटीमा

 जेठ ८, २०७६ बुधबार १५:१०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जेठ महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा दार्जीलिङ र सिक्किमको संगम हुने भएको छ ।

कार्यक्रमका लागि दार्जीलिङबाट संगीतकार शान्ति ठटाल आफ्नो टीमका साथ काठमाण्डौ आइपुग्नु भएको छ । उहाँसँगै सिक्किमको गान्तोकका गायिका बिमला सेन्चुरी प्रधान र अंजली प्रधान पनि सँगै आएका छन् । 

शान्ति ठटाल नेपाली संगीतका सबै विधामा क्रियाशील सफल संगीतकार हुनुहुन्छ । उहाँले फुटकर गीतबाहेक काव्य(संगीत अथवा क्यान्टटा, गीति नाटक, चलचित्रलगायत विविध विधामा सफलता प्राप्त गर्नु भएको छ । शान्ति ठटालका साथमा पलेँटीमा सहभागी हुन आएका बिमला सेन्चुरी प्रधान र अंजली प्रधान संगीतकार शान्ति ठटालकै सानिध्यमा रहेर निखारिएका कण्ठ शिल्पी हुन् । बिमला सेन्चुरीले गाएको चलचित्र‘बाँच्न चाहनेहरू’का गीत‘नयाँ नयाँ घामको किरण’ र ‘मिठो मिठो तिम्रो साथ मिठो’ सर्वकालिक गीतहरूको पङ्क्तिमा पर्दछन् ।

ठटालकै संगीतमा रहेका ती गीत अहिले सुन्दा पनि उत्तिकै आकर्षक र मनमोहक छन् ।

सन् २००५ देखि थालिएको पलेँटीको मञ्चमा शान्ति ठटालले यसअघि पनि बेलाबखत आफ्ना सिर्जना प्रस्तुत गर्दै आउनु भएको छ । उहाँले सन् २००६ को पलेँटीमार्फत् आफ्नो जीवनकै पहिलो एकल गायन प्रस्तुत गर्नु भएको थियो । पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोतासामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुतगर्दै आएको छ ।

‘पलेँटीमार्फत् शान्ति दिदीसँग संगत गर्न पाउनु संगीत महाविद्यालयमा पढ्नु जत्तिकै हो । उहाँको सिर्जनशीलताले सँधै क्रियाशील हुन प्रेरित गर्छ । आठ दशक पार गरिसक्नुभएको शान्ति दिदीको सिर्जनात्मक सक्रियता देख्दा साँच्चै लोभ लाग्छ,’ पलेँटी संयोजक आभासले भन्नुभयो ।

यही महिनाको १७ गतेदेखि सुरु हुने शान्ति ठटालसँगको पलेँटी ३ दिनसम्म चल्नेछ । पलेँटी शान्ति ठटालसँगको सांगीतिक यात्रामा आधारित हुनेछ । कार्यक्रमलाई पलेँटीको सुरुवातदेखि नै सञ्चालन गर्दै आएका संगीतकर्मी आभासले शान्ति ठटालसँगको संगतका सन्दर्भसहित आफ्ना सम्झना सुनाउँदै ठटालसँग अन्तरसम्वाद पनि गर्ने कार्यक्रम रहेको छ ।

पलेँटीका लागि गीत छनोट गरिरहेकी संगीतकार ठटाललाई यसपालीको आगमनकाबारे सोध्दा भन्नुहुन्छ ‘म यसभन्दा पहिले पनि धेरै खेप पलेँटी कार्यक्रममा संलग्न भइसकेकी हुँ । तर म जतिखेप यहाँ आउँछु  हरेकखेप नयाँ सांगीतिक ऊर्जा भेट्छु । आफ्नो उमेर पनि बिर्सन्छु । जाँगर बढ्छ । पलेँटी त मलाई आफ्नै घरको बैठक जस्तो पो लाग्छ ।‘ आफ्ना धुनहरू गुनगुनाइरहेका दुई गायिकातिर हेर्दै ठटाल थप टिप्पणी गर्नुहुन्छ,  ‘झन् यसपाली त मेरा दुई छोरी जस्ता गायिका साथमा आएका छन् । यिनको मप्रतिको मायार संगीतप्रतिको मोहले मलाई झन् उत्साही बनाएको छ ।’

शान्ति ठटालको छेउमै गीतको डायरी लिएर बसेकी गायिका बिमला सेन्चुरी मुसुक्क हाँस्दै भन्नुहुन्छ, ‘शान्ति दिदीसँग सांगीतिक संगत गर्न नपाएको लामो समय भएको थियो । पलेँटीले यति सुन्दर मौका जुराइदियो । सारा घरेलु  नियमितताबाट टाढा रहेर संगीतमा रमाउन पाउँदा खुशीको सीमा नै छैन ।’

त्यस्तै अर्की गायिका अंजली प्रधान बिमलाको कुराले उत्साहित हुँदै भन्नुहुन्छ, ‘यो त जीवनकै अद्भूत अनुभव हो । यसरी शान्ति आन्टीसँग हरदम संगीतकै बारेमा कुराकानी गर्दै गाउँदै बस्न पाउनु हाम्रो अहोभाग्य हो । हामी कति भाग्यमानी !’ 

कालिकास्थानस्थित नेपालयको‘आर’शालामा आयोजना हुने पलेँटीमा शान्ति ठटाल र उहाँको टिमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन् ।

सुरुमा अंग्रेजी महिनाको अन्तिम शुक्रबार एक दिनमात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम साता शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन सञ्चालन हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया