रामशरण महतकाे प्रश्न: वृद्धभत्ता बढायो भन्दैमा बजेट राम्रो भन्दिनुपर्ने ?

 जेठ १५, २०७६ बुधबार १९:३७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले आर्थिक वर्ष २०७६-७७ को लागि पेश भएको बजेट वितरणमुखी र छरपष्ट मात्रै भएको बताउनुभएको छ ।

उज्यालो अनलाइनसँगको कुराकानीमा डा महतले बजेटमा धेरै लोकप्रिय हुने विषय समेटिएको तर देशको दीर्घकालिन हितको लागि खास योजना नभएको बताउनुभएको छ ।a

पूर्व अर्थमन्त्री महतले भन्नुभयो, ‘सुन्दा कर्णप्रिय छन्, तर यो बजेट वितरणवादी भयो, यसले देशको आर्थिक र वित्तीय क्षमता धान्न सक्दैन ।’

चालु आर्थिक वर्षमा जति धेरै भए पनि १० खर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको तर आउँदो वर्ष एकैपटक ४०-५० प्रतिशत खर्च गर्छु भन्नु अर्थमन्त्रीको नचाँहिदो बठ्याँइ भएको महतको भनाइ छ ।

‘उदारतापूर्वक धेरै छरेर बजेट राखिएको छ, वृद्धभत्ता बढायो भनेर बजेट राम्रो भन्नुपर्ने ? यस्ले केही व्यक्ति त खुसी होलान् तर हामीले भन्दै आएको समृद्धिको जग भने हाल्दैन, यस्तै खर्च हुने क्षमता हाम्रो कस्तो छ भनेर नबुझे जस्तोगरी बजेट ल्याइएको छ, यसलाई कसरी राम्रो भन्ने हो र ?’ महतले भन्नुभयो ।

डाक्टर महतले सरकारले राजश्व उठाउने लक्ष्य पनि धेरै राखेको बताउनुभएको छ । सरकारले यो वर्ष ८ खर्ब रुपैयाँकाे हाराहारीमा राजश्व उठाउन पनि हम्मे हम्मे परेको अवस्थामा आउँदो वर्ष ९ खर्ब ८१ अर्ब रुपैयाँको राजश्व कसरी उठ्छ भनेर प्रश्न गर्नुभएको छ । 


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया