हजारका नोटले हम्किदै हजुरबाले भने : डुब्ने भए डुब केटा ! मलाई बाल मतलब !

 जेठ १८, २०७६ शनिबार ८:२:२७ | मिलन तिमिल्सिना
unn.prixa.net

अस्ति ताकासम्म नाति केटो हजुरबा र हजुरआमाले भनेको मान्ने त परै जाओस्, उनीहरुको छेउछाउसमेत पर्दैन थियो । हजुरबाले ए नाति बाबु भित्रबाट एक अम्खोरा पानी ल्याउ न भन्दा म सक्दिनँ मलाई बाल मतलब भनेर तर्कन्थ्यो ।

हजुरआमाले बाबु यो के लेखेको रहेछ पढ पढ भनेर औषधिको पत्ता देखाउँदा पनि आ...सुड्डो सुड्डीले पनि हैरान पार्छन् भन्दै झर्कन्थ्यो । त्यसो नभन न बा, भोलिपर्सि तिमी पनि त बुढो हुन्छौ नि भन्दा टाउकाको ‘बाल’ हल्लाएर हावामा उडाउँदै ‘मलाई बाल मतलब’ भन्दै टकटकिन्थ्यो । त्यसैत्यसै मै हुँ भन्थ्यो, छोइ नसक्नुको थियो नाति केटो ।

बाउले पढाएकै थिए । जे भन्यो, त्यही पुर्याएकै थिए । खर्च धानेकै थिए । बाउआमालाई दलाउन पाएपछि यसैयसै भुइँमा न भाँडामा भएको थियो । हजुरबा, हजुरआमालाई मात्र होइन, बाआमालाई पनि सुड्डो सुड्डी भन्थ्यो । केही काम अह्राउँदा सक्दिनँ, मलाई बाल मतलब भन्थ्यो । वरको सिन्को पर सार्दैन थियो ।

त्यही केटो हेर्दाहेर्दै ठूलो भयो । बाउआमाको टाउकोमा गिर खेलेर मात्रै नपुग्ने भयो । जागिरको खोजीमा लाग्यो । हजुरबा, हजुरआमाले पढ्न नपाए पनि छोरालाई दुःख गरेर पढाए । उस्को बाउ पनि बेलैमा पढेर सरकारी जागिरे भएका थिए । 

छोरा, नातिको पारा देखेर वाक्क भएका बुढाबुढीले भने, ‘भयो बा, हामीलाई कसैले  पाल्नु पर्दैन । आफैं पालिन्छौं ।’

बाउले जस्तै सरकारी जागिर खान लोकसेवा पढ्नुपर्छ । पढेर मात्र पुग्दैन, दिमागमा बस्ने गरी घोक्नुपर्छ । घोकेको कुरा लेख्नुपर्छ । लेखेर मात्र हुँदैन, नाम निकाल्न सोर्सफोर्स लगाउनुपर्छ । यतिसम्म गर्दा नाम निस्किहाल्यो भने पनि भनेको ठाउँमा काम गर्न उसैगरी दौडधूप गर्नुपर्छ । अनि बल्ल सोचेजस्तो सरकारी जागिर खान र बेलाबेला बजेटले तलब बढाउँदा बुरुक्क उफ्रन पाइन्छ ।

सरकारी जागिर खाएर रमाउने भाग्य भए त पुगिहाल्थ्यो नि ! तर घोक्नेदेखि, हात मोल्ने र उस्तै परे मुक्का ठोक्नेसम्मको योग्यता नहुँदा धेरैले चाहेर पनि सरकारी जागिर खान पाएका छैनन् । कोही झुण्डिएका छन् । कोही खाडी पसेका छन् । अब त सरकारले पनि खाडी पस्न नदिने, गाउँघरकै खेतबारी र खोल्साझाडीमा काम दिने भनेको छ । भनेको मात्र हो, दिइसकेको छैन । दिने कहिले हो भन्ने भर पनि छैन । त्यतिबेलासम्म त खानुपर्‍यो, बाँच्नुपर्‍यो ।

खाने, बाँच्ने उपाय के त ? यसपालिको बजेटले गज्जबको अवसर दिएको छ – बुढाबुढीलाई खुशी बनाउ, वृद्धभत्तामा आफू रमाउ ।

यसपटक कर्मचारीको तलबभन्दा बुढाबुढीको भत्ता धेरै बढ्यो । कर्मचारीको तलब बढेको जम्मा २० प्रतिशत, बुढाबुढीको भत्ता बढेको ५० प्रतिशत । कहाँको २०, कहाँको ५० । जसको तलब धेरै बढेको छ, उसकै आडभरोसा बढी हुन्छ । त्यसैले सरकारी कर्मचारीको भन्दा बुढाबुढीको भर धेरै हुने भयो । घरका छोराहरु र नाति केटा सबैले कटकट नोट जस्ता कुरा फटाफट बुझे ।

घरमै बसीबसी बुढाबुढीले महिनाको तीनहजार कमाउँछन् । डुब्न लागेका घामजस्ता भएका बुढाबुढीलाई ३ हजार भनेको कताकता धेरै रकम हो । यत्रो पैसाले के गर्ने ?

बिहान बेलुका घरमै दुई गाँस खानलाई पैसा तिर्न पर्दैन । वर्षमा एक, दुई जोर लुगा दिन छोराबुहारीलाई कर लाग्छ । पिंढीबाट ओर्लन गाह्रो उमेरमा घुम्न जाने रहर के पाल्ने ? औषधि उपचारमा सरकारले निःशुल्क भनेको छ, पैसो तिर्न पर्दैन । भनेपछि बुढाबुढीले हरेक महिना पाउने ३ हजार रुपैयाँ चोखो बच्ने भयो ।

सरकारी नोकरी गर्ने छोराहरुको भन्दा धेरै भत्ता बढेपछि बुढाबुढी मख्ख छन् । कतिजना त खर्च गर्न नपर्ने पैसा कहाँ थन्काएर राखौँ भन्ने चिन्तामा छन् । पहिले बुढाबुढीसँग पैसा थिएन । पैसा बिनाका बाआमाको चिन्ता छोरा नातिले गरेनन् । सरकारले भत्ता बढाएपछि अहिले पैसा सहितको चिन्ता थपियो । पैसाको चिन्ता थपिएपछि छोराबुहारी र नातिहरुको आनिबानी र व्यवहारमा आकाश पातालको फरक आएको छ ।

एउटा छोरो हात समाउँदै भन्छ – बा म हजुरहरुलाई पाल्छु । अर्को आएर पाउ समाउँदै भन्छ – हैन बालाई म पाल्छु । जेठोले भन्छ – ‘म जेठो भएकाले मैले बाआमा पाल्न पाउनुपर्छ ।’ कान्छो भन्छ – कहाँ हुन्छ, कान्छाले हो पाल्नुपर्ने त, म पाल्छु ।

सरकारी जागिर खाने छोरो भन्छ – मेरो तलब बढेको छ, म पाल्छु । निजी संस्थामा काम गर्ने छोरो भन्छ – ‘तिम्रोभन्दा बाआमाको भत्ता बढी छ, बाआमालाई कसैले पाल्नु पर्दैन, उहाँहरु आफैं पालिनुहुन्छ । तर रेखदेख गर्नुपर्छ । म पाल्छु ।’

अनि जागिर नै खान नसकेको नाति भन्छ – ‘बा र काका त काम गर्न जानुहुन्छ, बाआमाको ख्याल गर्न भ्याउन्न, म दिनभरी खाली हुन्छु, म पाल्छु । बाआमाको पैसाको सदुपयोग म गर्छु ।’

भत्ता नआउँदासम्म बाआमालाई दुई गाँस भात कसले दिन्छ भन्ने चिन्ता थियो । भत्ता पाउन र पाइरहेको भत्ता समेत बढ्न थालेपछि छोरा र नातिहरुको हानथाप भयो । 
जेठोले बाको हात समात्दै भन्यो, ‘ल हिँड्नुहोस्, म पाल्छु ।’ कान्छाले आमाको हात समात्दै भन्यो, ‘मेरोमा हिँड्नुहोस् म पाल्छु ।’ हजुरबा र हजुरआमाको खुट्टा समात्दै नातिले भन्यो, ‘हैन हैन म पाल्छु ।’

छोरा, नातिको पारा देखेर वाक्क भएका बुढाबुढीले भने, ‘भयो बा, हामीलाई कसैले  पाल्नु पर्दैन । आफैं पालिन्छौं ।’

‘हैन हजुरबा, म सँगै बस्छु नि, जे  भनेको नि मान्छु, बाको तलब बढेको जम्मा २० प्रतिशत, हजुरहरुको बढेको ५० प्रतिशत । बासँग बसेर काम छैन, म त तपाईंहरुसँग बस्ने हो । तपाईंहरु मान्नुभएन भने म त डुब्छु नि हजुरबा ।’

नातिले अति नै गर्न थालेपछि बुढाको पारो तात्यो  । एउटा  हातले लौरो टेक्दै अर्को हातले खल्तीबाट हजारका तीनवटा नोट निकाले । अनि नोटले बनाएको पत्रैपत्रे पंखाले अनुहार हम्कँदै हजुरबाले घरि हजुरआमाको मुखमा र घरि नातिको मुखमा हेर्दै मुसुक्क हाँसेर भने‘, ‘डुब्ने भए पनि डुब केटा ! तँ डुबेर हामीलाई बाल मतलब !’
 

अन्तिम अपडेट: साउन २७, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया