हट्यो दिनभर भारी बोक्ने बाध्यता

 जेठ ५, २०७५ शनिबार १५:६:२८ | डीबी बिष्ट
unn.prixa.net

बझाङ, जेठ ५ – बझाङका बासिन्दालाई ३० किलो चामल किन्नका लागि दिनभर भारी बोकेर उकाली ओराली गर्नु पर्ने बाध्यता हटेको छ ।

गाउँमै नेपाल खाद्य संस्थानले डिपो राखेर खाद्यान्न वितरण गर्न थालेपछि दुर्गम बझाङको दुर्गाथली र छविस पाथिभेरा गाउँपालिकाका स्थानीय खुशी भएका छन् । विगतमा एक दिन हिँडेर खाद्यान्नको लागि सदरमुकाम पुग्नु पर्ने बाध्यता रहेका यहाँका मानिसहरु घर दैलोमा चामल पाउन थालेपछि उनीहरु हर्षित भएका हुन् ।

नेपाल खाद्य संस्थानले छविसपाथिभेरा र दुर्गाथली गाउँपालिकाको बीचमा रहेको  बिसौना बजारमा डिपो कार्यालय स्थापना गरी चामल बिक्री वितरण गर्न थालेपछि यहाँका स्थानीयलाई सहज भएको हो । 

यसअघि मोटा चामल प्रतिकिलो ६० रुपैयाँसम्म तिरेर खानु पर्ने बाध्यतामा रहेका यहाँका बासिन्दाहरु डिपो कार्यालय स्थापना भएपछि सस्तो र सुलभरुपमा खाद्यान्न पाइरहेका छन् ।  खाद्य संस्थानको डिपो कार्यालयले अहिले अरुवा मोटो चामल प्रतिकेजी ३७ रुपैयाँका दरले बिक्री वितरण गर्दे आएको छ ।

खाद्य संस्थानले दुर्गमका बासिन्दाको लागि भनेर नेपाल सरकारको ढुवानी अनुदानमा सस्तोमा चामल वितरण गरेको हो । गाउँमै चामल उपलब्ध हुन थालेपछि दुर्गाथली गाउँपालिकाका  दुर्गम गाउँहरु दौला, सैनपसेला, बिसौना, र छविसपाथिभेरा गउँपालिकाका विकट मानिने बुढखोरी, लेकगाउँ, घट्टे, नौरा, मझखोरी र खोरी गाउँका बासीन्दाको दैनिकी सहज भएको स्थानीयले बताएका छन ।  

‘२०/३० किलो चामलका लागि पनि दिनभर भारी बोकेर उकाली ओराली गर्नुपथ्र्यो । गाउँको पसलमा किन्ने हो भने दोब्बर भन्दा बढी पैसा तिर्नुपथ्र्यो’, सैनपसेलाकी उर्मिला दौल्यालले भन्नुभयो, ‘डिपो खुलेपछि निकै सुख भएको छ । भनेको बेला चहिए जति चामल सस्तोमा गाउँमै किन्न पाउँदा सबै खुशी भएका छन् ।’

बढी जसो खाद्य संकट हुने यस क्षेत्रमा नियमित चामल ढुवानी गर्नका लागि ठेकेदार मार्फत काम भैरहेको बताउदै नेपाल खाद्य संस्थान शाखा कार्यालय बझाङका प्रमुख इश्वरीप्रसाद जोशीले बताउनुभयो । यस वर्ष छविस र दुर्गाथली क्षेत्रमा असिनाले हिउँदेवालीमा निकै ठूलो क्षति गरेका कारण खाद्य संकट हुन सक्ने आंकलन गरेर चामलको कोटा साविक भन्दा बढाउनका लागि पहल भैरहेको उहाँले बताउनुभयो । 

छविस पाथिभेरा र दुर्गाथली गाउँपालिकाका अधिकांश वडा हिमाली क्षेत्रमा पर्ने भएकोले यहाँको उत्पादनले ३ महिना मात्र खान पुग्ने र बाँकी अवधी बजारबाट किनेर खानु पर्ने बाध्यता रहेको जिल्ला कृषि विकास कार्यालयको खाद्य सुरक्षा अनुगमन प्रणालीको तथ्याङ्क छ । यस वर्ष वैशाख महिनामा पटक–पटक परेको असिना पानीका कारण हिउँदेबालीमा क्षति भएका कारण स्थानीय उत्पादन निकै घट्ने भएकोले यहाँ थप खाद्यान्नको आवश्यकता पर्ने स्थानीयहरुको भनाई छ ।  

अन्तिम अपडेट: चैत २, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया