प्रहरी भन्छ: इन्टरनेट विषादीजस्तै भयो !

 जेठ २३, २०७६ बिहिबार १७:८:१५ | साजन सुबेदी
unn.prixa.net

काठमाण्डाै - गएको वैशाख २३ गते धनुषामा एक जना धामी सिक्दै गरेका व्यक्तिले सिद्धि प्राप्त हुने अन्धविश्वासमा छिमेकका अढाई वर्षका बालकको घाँटी रेटेर हत्या गरेको नृशंस घटना सार्वजनिक भयो ।

त्यसको तीन दिनपछि अर्थात् गएको वैशाख २६ गते ललितपुरको ढोलाहिटीमा जेठाजुले बुहारीलाई खुकुरी प्रहार गरेर ज्यान लिएको अर्को घटनाले सञ्चारमाध्यम रंगियाे ।

यो घटना सेलाउन नपाउँदै जेठ ३ गते बर्दियामा छोराले बञ्चरो प्रहार गरी बाबुको हत्या गरेको र टाउको र गिँड अलग अलग खाल्डो खनेर पुरेको भेटियो ।

त्यसको ठिक तीन दिनपछि जेठ ६ गते राति पाँचथरको आरुबोटेमा दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । एकै जनाले दुई परिवारका नौ जनाको ज्यान लिएपछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखियो ।

यी बाहेक हजुरबाले नाबालिका नातिनीलाई बलात्कार गरेको, शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेका घटना बाक्लै सुन्नु र पढ्नु परिरहेको छ ।

यी त केही प्रतिनिधि घटना मात्र हुन् । झट्ट सुन्दा यस्तो पनि हुन्छ र ? जस्तो लाग्ने यस्ता धेरै घटनामा नजिकको नातेदार वा आफन्तको संलग्नता भेटिएको छ । यसले हाम्रो समाज कति क्रुर हुँदैछ भन्नेतर्फ सोच्न हामीलाई बाध्य गराउँछ ।

अरुलाई दुःख दिनु हुँदैन, सबैको भलो गर्नुपर्छ भन्ने नैतिक शिक्षा फैलिएको हाम्रो समाज कतातिर जाँदैछ रु यस्तो हुनुमा के कुराले प्रभाव पारिरहेको छ त ?

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुबेदी भन्नुहुन्छ, ‘यी सबै घटनामा आफन्त र नजिकका नातेदारहरुको संलग्नता देखिन्छ । कुनै आपराधिक गिरोह वा गुण्डाहरुले गरेका होइनन्, यो सामाजिक विकृति हो ।’

सुबेदीका अनुसार यो वर्षको हत्याको तथ्यांक हेर्दा ४० प्रतिशत आफन्तले आफन्तकाे हत्या गरेको पाइएको छ भने ८० प्रतिशत हत्या चिनेको मान्छेले चिनेको मान्छेकै गरेको पाइएको छ ।

त्यस्तै पहिले पहिले बलात्कारका घटना १६ वर्ष उमेरमाथिका किशोरीहरुमा मात्र सुनिन्थ्यो भने अपरिचित व्यक्तिहरुको संलग्नता बढी हुन्थ्यो । तर हिजोआज त्यसको ठिक उल्टो भएको छ । ६४ प्रतिशत बलात्कारका घटनाका शिकार १६ वर्षमुनिका बालबालिकाहरु छन् भने अधिकांश नजिकका आफन्त र आफ्नै घरपरिवारका सदस्यबाट भएको पाइएको छ । त्यसबाहेक नातागोता, छरछिमेक, सहकर्मी, सहपाठीहरुबाट हिंसा भइरहेको छ ।

यसको प्रमुख कारक इन्टरनेटको सहज पहुँच, वैदेशिक रोजगारी, जनसंख्या वृद्धि आदि रहेको सुबेदी बताउनुहुन्छ ।

इन्टरनेटको पहुँचले गर्दा सकारात्मक भन्दा बढी नकारात्मक प्रयोगका कारण समाजमा अनगिन्ति विकृति आए र यसैका कारण अहिले समाजमा बढिरहेका हिंसाका घटनामा बढोत्तरी भएको हो ।

इन्टरनेट तथा सामाजिक सञ्जाललाई विषादीको संज्ञा दिनुहुन्छ सुबेदी । ‘विषादीको सही प्रयोगले बालीनालीको रोग तथा किरा नियन्त्रण हुन्छ भने त्यसलाई मान्छेले खाइदियो भने ज्यान जान सक्छ,’ उहाँले भन्नुभयो ।

सामाजिक सञ्जालको दुरुपयोगले हत्या, चरित्र हत्या तथा आत्महत्याजस्ता विकृति र विसंगति निम्त्याइरहेका छन् । फेसबुकबाट सुरु भएको प्रेमकथा हत्या र आत्महत्यामा गएर टुंगिएको धेरै उदाहरण छन् । अझै पनि समाजलाई यी कुराहरुका बारेमा सजग गराइएन भने समाज अझै विकराल स्थितिमा जान सक्ने सुबेदीको बुझाइ छ ।  

के भन्छन् मनोविद् ?

तर यी घटनाक्रमका सम्बन्धमा मनोविद्को धारण भने फरक छ । पछिल्लो समयमा भएका यी र यस्तै घटना सम्बन्धमा मनोविद रीसब कोइराला भन्नुहुन्छ,‘एकै समयमा घटेका र आपराधिक घटना भए पनि यी सबैलाई एक अर्कासँग जोडेर हेर्न मिल्दैन ।’

उहाँका  अनुसार ललितपुरकाे ढोलाहिटीको घटना मानसिक विचलन र व्यक्तिको मनस्थितिको उपज जस्तो देखिन्छ । कुनै पनि घटनाको सम्पूर्ण रुपमा वैयक्तिक अध्ययन (केस स्टडी) नगरिकन यसै भनेर ठोकुवा गर्न नमिल्ने बताउँदै कोइराला भन्नुहुन्छ, ‘यसमा समाज वा अरु कसैलाई दोष दिनुभन्दा पनि व्यक्तिको प्रकृति र व्यक्तित्वलाई जोडेर हेर्नु ठिक हुन्छ । कुनै कुनै मानसिक रोगीमा ‘प्यारानोइड स्किजोफ्रेनिया’ हुन्छ । यस्ता व्यक्तिले आफूलाई सर्वेसर्वा ठान्ने र अरुलाई केही नठान्ने प्रवृत्ति हुन्छ ।’     

उहाँका अनुसार आमाले आफ्नै छोराको बली दिएको घटनालाई मानसिक रोग वा विचलन भन्दा पनि सामाजिक कुरीति, भ्रम र अन्धविश्वासका कारण भएको भन्नु उपयुक्त हुन्छ । त्यस्तै केही दिनअघि पाँचथरमा भएको दुई परिवारका नौ जनाको हत्याको घटनासम्बन्धमा मानसिक रोग वा विचलनलाई नै केन्द्रमा राखेर हेर्नुपर्ने धारणा राख्नुहुन्छ मनोविद् कोइराला ।

‘यो केसमा आरोपितको आवेग वा रिस नै कारकजस्तो देखिन्छ, जुन नितान्त मानसिक हो न कि सामाजिक कुरीति वा अरु केही । आरोपितको श्रीमतीले डिभोर्स मागेको रिस, त्यसमाथि ससुरालीले डिभोर्सका लागि दिएको दबाबको आवेग सबैको एकमुष्ट प्रभावले ‘पर्सनालिटी डिस्अर्डर’ (व्यक्तित्व विचलन ) भएको हुनसक्छ,’ उहाँ थप्नुहुन्छ,‘ यस्तो बेला मानिसले विवेक गुमाउँछ र हिंस्रक हुन जान्छ ।’  

यद्यपि, कुनै पनि घटनाको आफैँले अध्ययन नगरी निष्कर्षमा पुग्न भने नसकिने उहाँको तर्क छ ।

यस्ता घटना बढ्नुमा सामाजिक सञ्जाल तथा इन्टरनेटको भूमिका कत्तिको हुन्छ त ?

सामाजिक सञ्जालले घटनाको संख्या बढाएको भन्ने तर्कमा सहमत हुनुहुन्न कोइराला । उहाँका अनुसार सामाजिक सञ्जालले घटना बढाउने होइन । सामाजिक सञ्जाल आउनुअघि पनि अपराध हुन्थे । यौनसम्बन्धी साइटले बलात्कार बढाएको होइन र यस्ता साइट बन्द गरेपछि बलात्कारका घटना नभएका पनि होइनन् । त्यसैले सामाजिक सञ्जाल र इन्टरनेटलाई दोष दिनुभन्दा मनोवैज्ञानिक चेतना, परामर्श र शिक्षा फैलाउन सके समाजलाई सही दिशामा डोहोर्याउन सकिने उहाँको तर्क छ ।   

उहाँ भन्नुहुन्छ, ‘विगतमा पनि आपराधिक घटना हुन्थे, तर सञ्चारमाध्यमको सहज पहुँच नभएका कारण हामीलाई सबै घटनाको जानकारी हुँदैनथ्यो र अपराध कम भएको जस्तो लाग्थ्यो । अहिले सूचनाको पहुँचका कारण देशका हरेक कुनामा भएका घटनाहरु हामीले थाहा पाउने भएका कारण घटनाको संख्या बढी लागेको हो ।’

मनोविद् कोइराला यस्ता घटना कम गर्न समाजमा मनोवैज्ञानिक परामश तथा जनचेतना फैलाउनु जरुरी देख्नुहुन्छ ।
 

अन्तिम अपडेट: भदौ १९, २०७६

साजन सुबेदी

 प्रविधि र न्यूमिडियामा रुची राख्ने सुबेदी उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया