बाध्यताले फेरि विदेश जानुपर्ने बनायो

 असार ३, २०७६ मंगलबार १६:४७:५७ | मेरो कथा मेरो भोगाई

सन्तोष भण्डारी/नुवाकोट, हाल काठमाण्डौ । 

म अहिले २७ वर्षको भएँ । बालाजु औद्योगिक क्षेत्रमा काम गर्छु । यहाँको मोर्डन स्लिपर कम्पनीमा काम गर्न थालेको २ वर्ष भइसक्यो । ४ वर्ष पहिले वैदेशिक रोजगारीको क्रममा मलेसिया पनि गएँ । दुई वर्ष मलेसियामा काम गरेर फर्किएको हुँ । 

भनेजस्तो काम पनि भएन । कमाइ पनि महिनाको २५ हजार रुपैयाँ जस्तो हुन्थ्यो । त्यसैले त्यति कमाइका लागि विदेशमा बस्नुभन्दा घर नै फर्किन ठिक लाग्यो र फर्किएँ । 

मलेसियाबाट फर्किएपछि बिहे भयो । छोरा जन्मियो । त्यसपछि जिम्मेवारी बढ्यो । खर्च पनि बढ्यो । तर काखको छोरालाई चटक्कै छाडेर विदेश जान सकिनँ । परिवारबाट टाढा भएर कमाउन मन पनि मानेन ।

विदेश जानुभन्दा बरु नेपालमै केही गरौँ न भन्ने लाग्यो । तर नेपालमा के गर्ने ? त्यसपछि यही उद्योगमा काम थालेको हुँ । कम्पनीबाट हुने आम्दानीले खान, लगाउन पनि राम्रोसँग पुग्दैन । 

मलेसियामा हुँदा महिनाको २५ हजार जति त कमाइन्थ्यो । यहाँ परिवारको साथ छ, तर कमाइ छैन । महिनाको जम्मा १३ हजारमा रुपैयाँ त हुन्छ । मायाले मात्र नहुने रहेछ । भोको पेटलाई के देश के विदेश, होइन र ? 

फेरि कतिलाई त परदेशमा काम दुःख लाग्छ । तर मलाई त नेपालमाभन्दा काम गर्न पनि मलेसियामै सजिलो लाग्यो । 

यहाँ उद्योगमा काम गर्न गाह्रो छ । आरामसँग खान पनि पाईंदैन । आधा घण्टाको समय हुन्छ खाना खाने । एक मिनेट ढिलो भए पनि पैसा काट्छ । फेरि काम पनि बढी लगाउँछ हिजोआज ।

पोहोर साल साउनमा सरकारले मजदुरको पारिश्रमिक बढाएर १३ हजार ४ सय ५० रुपैयाँ पुर्याएपछि काममा अलि बढी लगाउन थालेको छ । कम्पनीले कामदारको संख्या पनि घटाएको छ ।

यति थोरै तलबमा यति धेरै काम गर्नुपर्छ नेपालमा । यो काम अनुसार त हामीहरुको तलब ३० हजार रुपैयाँ जति हुनुपर्ने हो जस्तो लाग्छ । हुन त मैले एसएलसी पास गरेको छैन ।

कुर्सीमा बसेर गर्ने काम त पाउँदिन होला, तर मेहनत अनुसारको तलब भने पाउनुपर्छ भन्ने लाग्छ । परिवार चलाउनको लागि ८ घण्टाको जाबो १३ हजार रुपैयाँले के हुन्छ र यो जमानामा ? 

भन्नेहरुले त नेपालमा काम गर्न लाज मानेर युवा विदेश गए भन्छन् । तर यताको तलबले परिवार धान्नै नसकेर विदेश गएको होला भनेर बुझ्ने कहिले ?

पहिले त साथीभाइ गएको लहैलहैमा मलेसिया गइयो । अहिले त बाध्यताले विदेश जानैपर्छ जस्तो लाग्छ । अहिले आफ्नो देशमा काम गरेर थाहा हुँदैछ । यहाँको कमाइले त खान, लाउनै पुग्दैन ।

छोरा दिनदिनै ठूलो हुँदैछ । यहाँको कमाइले उसलाई पढाउन पुग्दैन । त्यसैले म त उसलाई पढाउनका लागि त विदेश नै जानुपर्छ भन्ने सोचिरहेको छु । तर महिनाको ३० हजार तलब हुने हो भने विदेश जाने थिइनँ ।
 

अन्तिम अपडेट: भदौ २०, २०७६

तपाईको प्रतिक्रिया