'मर्नुअघि छोराको फोटो भए पनि हेर्न मन छ'

 असार १८, २०७६ बुधबार १२:१०:२१ | सन्जिता देवकोटा

काठमाण्डौ – ‘मलाई त भेट्न कोही पनि आएको छैन, यसै बसिरहेको छु भन्छ, विदेशका जेलमा नेपालीलाई भेट्न कोही पनि जाँदैनन् हो,’ मनमाया मगरले छोराले फोनमा सोधेको प्रश्न मलाई पनि फोन गरेरै सोध्नुभयो ।

छोरो मलेसियाको जेलमा परेपछि छुटाउने उपाय खोज्दै हिँड्नुभएकी मनमायासँग केही दिनअघि भेट भएको थियो । त्यसको केही दिनपछि उहाँलाई मलेसियाबाट छोराले फोन गरेछन् । उनले फोनमा आफूलाई कोही भेट्न नआएको गुनासो गरेका रहेछन् ।

‘नेपालमा जस्तो त हुँदैन परदेशको जेलमा, सायद दूतावासका कर्मचारी जाँदै होलान्’ आफ्नो मन खिन्न पार्दै मनमायाको प्रश्नको उत्तर मात्रै दिएँ । 

जिन्दगीको एक मात्र सहारा परदेशको जेलमा थुनिएको खबरले छटपटिएको मनमायाको मनलाई मेरो यो उत्तरले केही राहत दिएन होला सायद । 

कमाउन गएको छोरो आफ्नै साथीको हत्याको अभियोगमा जेल परेको खबरपछि मैले दिएजस्तै थुप्रै मानिसले दिएका अपूरा खबरले मनमायालाई पलपल जिउँदै मारेको छ । कोहीले सुनाउँछन्, ‘तिम्रो छोरालाई गोली ठोकेर मारिदिन्छ ।’

कसैले भन्छन्, ‘हैन तिम्रो छोरो अब बाजुञ्जेल जेलमै सड्छ, फर्किएर आउने उपाय छैन ।’ 

यस्ता कुरा सुनिरहँदा मनमायालाई चाहिँ लाग्छ, ‘साँच्चै यस्तै भयो भने हातखुट्टा चल्न छाडेपछि मेरो के होला, बुढेशकालमा आफ्नो शरीर आफैंलाई भारी बनाएर किन बाँच्नु ?’

सास छउञ्जेल आश भने झैं फेरि कताकता छोरा फर्किएर आउने आश पलाउँछ र सम्हाल्नुहुन्छ आफूलाई मनमाया । अनि, छोरो जेलबाट छुटाउने पहल गर्न पुग्नुहुन्छ विभिन्न सरकारी कार्यालयदेखि संघसंस्थाका ढोकासम्म । ‘मेरो छोराले कसैलाई मार्न सक्दैन, के रहेछ कुरो बुझेर छुटाइदिनुस्’ उहाँ बिन्ती गर्नुहुन्छ ।

छोराकोबारेमा त्यो अशुभ खबर

२०७५ असार ३ गते । बिहानको ७ जति बजेको थियो होला । मनमाया आफूले काम गर्ने ठाउँ ललितपुर लगनखेलमा रहेको क्याम्पियन कलेज जाने तयारी गर्दै हुनुहुन्थ्यो । पल्लोकोठाकी साथी हतारिंदै आएर भनिन्, ‘तिम्रो छोराको बारेमा त के के कुरा पो आएको छ त फेसबुकमा ।’

खबर थियो – ‘मलेसियामा काम गरिरहेको छोरो जेल परेको ।’ साथीले सुनाएको खबर झुटो भैदियोस् भन्ने कामना गर्दै मनमाया अफिस पुग्नुभयो । उहाँ कलेजमा कार्यालय सहयोगीको रुपमा काम गर्नुहुन्छ ।

काम थाल्नुअघि अफिसका एक जनालाई मनमायाले फेसबुकमा छोराकोबारेमा आएको खबर हेरिदिन आग्रह गर्नुभयो । फेसबुकमा आफ्नो छोराको फोटोसहित ‘आफ्नै साथीलाई चक्कु घोपेर मारेको छ’ भनेर लेखेको देखेपछि साथीले सुनाएको खबर पक्का भयो । 

मनमायाको दिमागले केही सोच्न सकेन । आँखाका डिलसम्मै आएका आँसु दबाउनुभयो । ‘अफिसमा सबैका अगाडि छोरोले मान्छे मारेर जेल परेछ भनेर कसरी रुनु,’ मनमाया त्यो कठिन क्षण सम्झनुहुन्छ । 

मनमायाका छोरा सोनाम मगर एउटै कोठामा बस्ने नेपाली साथीलाई नै चक्कु हानेर हत्या गरेको अभियोगमा मलेसियाको जेलमा परेका छन् । बेलाबेलामा फोन गर्छन् । तर मनमायाले जेल पर्नुको कारण भने सोध्न सक्नुभएको छैन छोरालाई ।

 सोनाम २०६९ सालमा मलेसिया गएका हुन् । मलेसिया यात्रा पहिलो पटक भने थिएन । त्यसअघि पनि मलेसिया गएका थिए । मलेसियामा केही वर्ष बसेर फर्किएपछि कतार पनि गएका थिए । तर कतारको गर्मीमा ११ महिनाभन्दा टिकेनन् । 

फर्किएर फेरि मलेसिया नै जाने ढिपी गरे । कमाउन जान्छु भन्ने छोरालाई कसरी रोक्नु ? मनमायाले सञ्यकोषमा जम्मा भएको ९० हजार रुपैयाँ निकालेर मलेसियाको बाटो खोलिदिनुभयो । 

कमाइ कस्तो थियो, छोराले के काम गर्थे मनमायालाई थाहा थिएन । फोनमा कुराकानी बेलाबेलामा मात्रै हुन्थ्यो । कमाएर छोरो रमाएकै छ भनेर चित्त बुझाउनुहुन्थ्यो।

महिना बते । वर्ष बिते । छोरो फर्किएर आएन । त्यतिका वर्ष किन बिदामा घर आएन त्यो पनि जान्नुहुन्न मनमाया । उहाँलाई लाग्थ्यो, सायद भविष्य सोचेर होला । अब त झन् छोरो के फर्किएला ! 

भविष्य सोच्दा मनमायालाई विगतले झन पोेल्छ । जुन दुःखले छोरो हुर्काउनुभयो, त्यो दुःख सम्झँदा उस्तै दुख्छ अहिले पनि । 

कहिल्यै सुख नमिलेको मनमायाको जिन्दगी

मनमाया सानै छँदा आमाले अर्को बिहे गरिन् । बुवाले पनि मनमायाका लागि दोस्रो आमा ल्याए । आफ्नो आमा भएजस्तो व्यवहार भएन । त्यसैले कहिले मावली त कहिले घर गरेर बाल्यकाल बित्यो ।

मावली र घर गर्दागर्दै पढाइ छुट्यो । १३ वर्ष लाग्नुभएको थियो । सोनामका बुवा आर्मीको जागिरे हुँ भन्दै मनमायाको हात माग्न पुगे । 

‘सानोमा पनि दुःख पाइस्, जागिरे केटो रहेछ, सुखै हुन्छ बिहे गर भने,’ मनमाया खिन्न मान्दै सुनाउनुहुन्छ, ‘उसको झुट त छोरो जन्मिएपछि मात्रै थाहा पाएँ ।’भक्तपुरको सल्लाघारीमा कोठा खोजेर राखेका थिए । सोनाम त्यही कोठामा जन्मिए । बेलाबेलामा श्रीमान् हराइरहन्थे । मनमायालाई भन्थे, ‘काममा गएँ ।’

एकदिन उहाँले सोध्दै ब्यारेक पुग्नुभयो । आफ्नो श्रीमानको नाम लिएर सोध्नुभयो । तर त्यो नामको मानिस त्यो ब्यारेकमा नभएको पुष्टि भयो । सबैतिर सोधपुछ गर्दा श्रीमान् आर्मीका जागिरे नभएको थाहा पाउनुभयो ।

‘जागिरे त हैन रहेछ, आफू पनि सुत्केरी अवस्थामै थिएँ, के गर्नु बरु गाउँ नै जाउँ भने, विराटनगर नै गइयो, १५, २० दिनपछि घरबाट हिँडेको मानिस, फर्किएर आएन,’ श्रीमानले छाडेर हिँड्दाको क्षण सम्झनुभयो मनमायाले । 

सोनाम छानो छँदै घर छाडेर हिँडेका श्रीमान कहाँ छन् भन्ने अहिलेसम्म थाहा छैन मनमायालाई । अहिलेजस्तो फोन पनि थिएन । कहाँ खोज्ने ? सजिलो थिएन ।

श्रीमानको पत्तो नलागेपछि आफू र काखको छोरोको जिन्दगी अघि बढाउने दायित्व उहाँकै थाप्लोमा आइलाग्यो । श्रीमान् बेपत्ता भएको दुई वर्षपछि मनमाया पनि सोनामलाई काखी च्यापेर काठमाण्डौ आउनुभयो । 

एक्लै छोरो हुर्काउँदाको सास्ती

शंखमुलमा गुठीको घरमा बास मिल्यो । गलैँचाको धागो डल्ला पार्ने काम पनि पाउनुभयो । दुई वर्ष यो काम गरेपछि उहाँलाई लगनखेलमा रहेको क्याम्पियन कलेजमा कार्यालय सहयोगीको काम मिल्यो । 

यो आजभन्दा २३ वर्षअघिको कुरा हो । जुनबेला सोनाम तोतेबोली बोल्थे । मनमायाको हात समाएर टुकुटुक हिँड्थे । पैसाको अभाव थियो । पैसा भन्दा पनि मनमायालाई त्यो बेला साथको खाँचो थियो । हौसलाको खडेरी थियो । तर साथी त उनै सोनाम मात्रै थिए । 

मनमायाको कोठामा मट्टीतेल किनेर जोहो गर्ने प्लास्टिकको ग्यालिन पनि थिएन । ‘खाने भाँडाकँुडा र निदाउने ओछ्यानको त के कुरा गर्नु ? ‘भुईँमा ननिदाउला भनेर मैले त्यो छोरालाई कयौं रात यही काखमा सुताएको छु,’ मनमाया भक्कानिनुहुन्छ । 

मनमायाले दिनभरी धागोको डल्ला बनाउँदा सोनामले माटोका थुप्रै घर बनाउँथे । आफ्नो शरीर पनि माटोले नै पोत्थे । मनमायाले कलेजमा काम पाएपछि अवस्था केही फेरियो । सोनामलाई स्कुल पठाउन थाल्नुभयो । 

दुईवटा स्कुल परिवर्तन गरिदिनुभयो । तर सोनामले राम्रो पढेनन् । ८ कक्षा पास गरेपछि स्कुल जाने मानेनन् । त्यसपछि तय भएको थियो मलेसियाको यात्रा । 

‘पढ्न मन देखाएन, विदेश जान्छु ममी भन्यो, पढेर नखाने भएपछि त कमाउँछ बरु छोराले भन्ने लाग्यो मलाई पनि, यस्तो होला भन्ने त के थाहा,’ मनमाया पछुतो मान्नुहुन्छ । 

पहिलो पटक मलेसिया गए । त्यहाँबाट फर्किएर कतार । अनि फेरि मलेसिया नै पुगेका सोनाम २०७५ असार ३ गते नेपालीकै हत्या गरेको अभियोगमा जेल परे । 

छोरो ठूलो भएर कमाउन परदेश लागेपछि मनमायालाई आफ्ना दुःख दिन सकियो भन्ने लागेको थियो । छोरासँग उहाँका ठूला सपना थिए । आफ्नै एउटा घर बनाउने । बुहारी भित्र्याउने । नानिनातिनासँग रमाउने । तर मनमायालाई के थाहा आफ्ना हरेक सपना हुरीले उडाउँछन् भन्ने । 

मनमाया छोरोको बिहे गर्ने सपनाले भान्छामा चाहिने भाँडा पनि ठूला किन्नुहुन्थ्यो । घरमा नयाँ सदस्य बढ्ने भएपछि हरेक चिज बढी चाहिन्छ भन्दै सामानहरु किन्न थाल्नुभएको थियो । घरमा सामान त थपिए, तर मान्छे थपिएनन् । मनमायाको सपना मनमै खुम्चिए ।

एक वर्ष भयो मनमायाको सपना थला परेको छ । ज्यानमा रोग बढेको छ । मनमा पीर । पहिले पनि मनमायालाई थाइराइडको समस्यो थियो । अहिले मुटुमा पनि समस्या देखिएको छ । कहिले देब्रे छाती दुखेर रातभरी निदाउन सक्नुहुन्न । खुट्टामा पनि नसाको समस्या भएको छ । फटाफट हिँड्न हुन्न । 

मर्नुअघि छोराको फोटो भए पनि हेर्न मन छ

बिहान अफिस जानुहुन्छ । केहीबेर काम गरेपछि उहाँ छोराकै खबर बुझ्न कन्सुलर सेवा विभागदेखि विभिन्न संघसंस्था धाउनुहुन्छ । कहिले मलेसियामा रहेका नेपाली दूतावासमा फोन गर्नुहुन्छ । सबैको जवाफ एउटै हुन्छ, – ‘हत्याको अभियोग लागेको छ, अनुसन्धान जारी छ, फैसला भएको छैन ।’

छोराले मारेको भनिएका नेपालीको घरमा पनि फोन गर्नुभयो मनममायाले । तर आमा बनेर हैन । ‘मैले त्यो मर्ने केटाको दाइलाई सोनामको आफन्त हुँ भन्दै फोन गरेको थिएँ, के कसो भनेर बुझेको त उसले पनि अदालतले जे फैसला गर्छ हाम्रो सहमति त्यसैमा छ भन्ने खालको कुरा गरे,’ मनमाया सुनाउनुहुन्छ । 

यो कुराले मनमायालाई झन निराश बनायो । हुन त मनमायाले फोनमा उसको आमा एक्लै छ, साहारा भन्नु नै त्यही छोरा मात्रै हो भनेर पनि सुनाउनुभयो । नेपाली सम्झेर माफी गरिदिन्छन् कि भन्ने आशले फोन गर्नुभएको थियो मनमायाले । 

‘कहिलेकाहीँ त सम्झँदा सम्झँदा मुटु नै फुट्ला जस्तो हुन्छ, सपना जस्तो लाग्छ,’ मनमायाको गला अबरुद्ध भयो । ‘झन कमाउला भन्यो, यस्तो भयो, मेरो त कर्म पनि कस्तो लेखिएको रहेछ, जिन्दगी भरी रुन पर्ने ।’

कहिलेकाहीँ मनमायाको मन असाध्यै आत्तिन्छ, ‘छोरो साँच्चै फर्किएन भने आफूलाई कसले हेर्ला ?’

५१ वर्ष लागिसक्नुभएकी मनमाया कहिलेकाहीँ सोच्नुहुन्छ – ‘शरीरले काम गर्न नसकेपछि  वृद्ध आश्रममै बस्छु ।’

आमाको मनले सन्तानको माया मार्न किन दिन्थ्यो र ? भन्नुहुन्छ, ‘मेरो छोरासँग भेट्न मिल्छ भने म टुरिस्ट भिसामा भए पनि मलेसिया जान्छु, छोरालाई हेरेर फर्किन्छु ।

एकछिन एकोहोरिएपछि फेरि भन्नुभयो, ‘म जान मिल्दैन भने पनि सरकार, मेरो छोराको एउटा फोटो खिचेर ल्याइदेउ, मर्नुअघि छोराको फोटो भए पनि हेर्न मन छ।’

अन्तिम अपडेट: भदौ १७, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया