भारतीय लरीकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि नेपाल भारत सीमामा तनाव

दर्जनौँ मालवाहक गाडी तोडफोड, सडकमा टायर बालेर प्रदर्शन

 साउन ९, २०७६ बिहिबार २०:५:९ | सुमन तिमल्सिना
unn.prixa.net

फाइल तस्बिर

माेरङ - भारतबाट आद्योगिक कच्चा पदार्थ बोकेर आएको लरीको ठक्करबाट विराटनगर महानगरपालिका–१५ रानीमा बिहीबार साँझ मोटरसाइकल चालकको मृत्यु भएपछि नेपाल–भारत सीमा क्षेत्र तनावग्रस्त बनेको छ । 

सीमानामा नेपालतर्फको भू–भाग अशान्त बनेको हो । घटनाको विरोधमा प्रदर्शन र तोडफोड हुन थालेपछि रानी बसपार्क क्षेत्रको अवस्था असामान्य बनेको छ । घटनाको विरोधमा उत्रिएका स्थानीय बासिन्दाले दुर्घटना गराउने लरीसहित कम्तीमा १३ वटा मालवाह‍क गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । भन्सार कार्यालय नजिकैको सडकमा टायर बालेर अहिले प्रदर्शन भइरहेको छ । 

टायर बालेर गरिएको प्रदर्शनका कारण भन्सारको काममा समेत बाधा पुगेको छ । घटनाको विरोधमा सुरु भएको नाराबाजी र प्रदर्शनले उग्र रुप लिएसँगै सवारी साधन पनि सञ्चालन हुन सकेका छैनन् । मालसामान बोकेका कतिपय गाडीहरु भारतबाट नेपाल प्रवेश गर्न पाएका छैनन् । भन्सार यार्डमा रहेका गाडीहरुको जाँचपास पनि रोकिएको छ ।

एन एल ०१ डी ३६९० नम्बरको लरीले बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंँदा विराटनगर–१५ का २२ वर्षीय अमर सिंंहको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताउनुभयाे । दुवै सवारी साधन भारतबाट नेपालतर्फ आउँदै थिए । 

मोटरसाइकलले ओभेरटेक गर्ने क्रममा कर्कटपाता बनाउने कच्चा पदार्थ बोकेको लरीले ठक्कर दिँदा दुर्घटना भएको खिउजुले बताउनुभयाे ।मृतक सिंहकाे शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ । दुर्घटनापछि लरीका चालक भने फरार रहेकाे बताइएकाे छ ।

लरीले विराटनगर भन्सार कार्यालयमा सामानको जाँचपास गराएर विराटनगरतर्फ बढ्दै गर्दा दुर्घटना भएको हो । स्थानीय बासिन्दाले अहिले यात्रुवाहक तथा मालवाहक गाडी सञ्चालनमा अवरोध गरेका छन् । 

मृतकका बुवा श्रवण सिंहले तीव्र गतिमा रहेको लरीका कारण भएको दुर्घटनामा छोरा गुमाउनु परेको गुनासो गर्दै दोषीमाथि कारबाही हुनु पर्ने माग गर्नुभयाे । 

दुर्घटनापछि फरार रहेका लरी चालकलाई घटनास्थलमा उपस्थित गराउनु पर्ने, दोषीमाथि कारबाही हुनु पर्ने, लहरी लगायतका ठूला गाडीको ज्यादती बन्द हुनु पर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिइनु पर्ने स्थानीयको माग छ।

स्थानीय अक्षलाल साहले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै सामान बोकेर आएका ‘हेभी’ गाडी सधैं लापर्वाही तरिकाले चलाउने गरिएको र त्यसकै कारण बारम्बार दुर्घटना हुने गरेको बताउनुभयाे । 

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । यतिबेला घटनास्थलमा ठूलो संख्यामा सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया