नेपालगञ्ज गोल्डकपको पुरस्कारको राशी बढाइने

 असार २५, २०७५ सोमबार १८:१५:३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जमा सञ्चालन हुँदै आएको नेपालगञ्ज गोल्डकपको पुरस्कार राशी यस वर्षदेखि  बढाइने भएको छ ।

गोल्डकपको तेश्रो संस्करण पूरा गरिसकेको बाँके जिल्ला फुटबल सङ्घले सोमबार नेपालगञ्जमा पत्रकार भेटघाटमा दिएको जानकारी अनुसार, यस वर्षदेखि गोल्डकपको विजेतालाई सात लाख रुपैयाँ र उपविजेतालाई तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । 

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले गोल्डकप आगामी माघ–फागुनमा सञ्चालन गर्ने गरी तयारी सुरु गरिएको जानकारी दिनुभयो । गएको संस्करणका विजेताले पाँच लाख र र उपविजेताले दुई लाख ५१ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

नेपालगञ्ज गोल्डकपमा ए डिभिजनका क्लबहरुको सहभागिता हुने गरेको छ । वैशाख जेठमा अत्याधिक गर्मीमा गोल्डकप संचालन गरिँदा धेरै क्लबको सहभागिता नहुने देखेर यसपटक माघ–फागुनमै गोल्डकप गर्ने तयारी रहेको अध्यक्ष शाहीले बताउनुभयो ।

यसैबीच संघले नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोझीमा  १२ वर्ष मूनिका खेलाडीको प्रशिक्षणका लागि फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । धम्बोझीमा एकेडेमीका लागि वडा कार्यालयले एक बिघा जग्गाको व्यवस्थापन गरेको संघले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया