सगरमाथा सफाइ: साेचे अनुरुप काम भएन, वर्षाैँदेखिकाे फाेहर जस्ताकाे तस्तै

 साउन २४, २०७६ शुक्रबार ८:१०:४८ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

यो वर्ष सगरमाथाको दुईवटा विषय अन्तर्राष्ट्रिय चर्चामा रहे । एउटा ट्राफिक जाम, अर्को फोहोर । ट्राफिक जाम हुनुमा धेरै आरोहीलाई अनुमति दिनु र सम्पर्क अधिकृतको कमजोर भूमिका थियो । फोहोर भने वर्षौंदेखि नै थुप्रिँदै आएको छ । 

एक आरोही भन्छन्, ‘तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारी पहिलोपटक शिखरमा पुग्दादेखिको फोहोर सगरमाथामा बाँकी नै छ ।’ यो कुरामा सगरमाथाको पहिलो सफल आरोहण दलमा सहभागी कान्छा शेर्पा पनि सहमत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीले लगेका मट्टीतेलका जर्किन, स्टोभ, अक्सिजनका सिलिण्डर, टेन्ट लगायतका सामग्रीमाथिल्ला शिविरहरुमा छाडिएका थिए, ती फोहोरका रुपमा अझै पनि होलान् । ’

यसरी हेर्दा सगरमाथामा कम्तीमा पनि ६६ वर्षभन्दा पुराना फोहोर समेत रहेका छन् । पछिल्लो समय सगरमाथामा सरसफाइ अभियान पनि चलिरहेका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले आधार शिविरभन्दा तल बर्सेनि सफाइ गर्दै आएको छ भने सन् २०११ पनि संस्थागत रुपमा पनि विभिन्न रुपमा सगरमाथा सफाइ अभियान चलेका छन् । 

यो वर्ष भने सरकारकै अगुवाइमा सगरमाथा सफाइ अभियान सञ्चालन गरियो । सफाइ अभियानबाट चारवटा पुराना शवसहित ११ टन फोहोर संकलन गरेर व्यवस्थापन गरिएको पर्यटन विभागले दावी गरेको छ । तर आरोहीहरु भने सगरमाथा सफाइका लागि अझै धेरै पहल गर्नुपर्ने बताउँछन् । २४ पटक सगरमाथाको शिखर चुमेर कीर्तिमानी कायम गरेलगत्तै काठमाण्डौ आउने क्रममा आरोही कामीरिता शेर्पाले विमानस्थलमै सरसफाइ अभियान सन्तोषजनक नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

सफाइ अभियानको नाममा करोडौँ खर्च भए पनि उपलब्धि कम भएको शेर्पाको भनाइ थियो । उहाँजस्तै सगरमाथाको आरोहण गरेर फर्किएका अरु आरोहीहरुले पनि सगरमाथाको आधार शिविरभन्दा माथिको सफाइ सन्तोषजनक नरहेको बताएका छन् । 

अहिले हरेक आरोही फर्कँदा आधार शिविरभन्दा माथिबाट कम्तिमा आठ किलो फोहोर फिर्ता ल्याउनुपर्ने प्रावधान भए पनि यसकाे कार्यान्वयन पक्ष कमजोर छ । सफाइ अभियान पनि आरोहणको मुख्य मौसममा सञ्चालन गर्दा प्रभावकारी नभएको हिमालमा काम गर्ने अनुभवीहरु बताउँछन् । 

हिमालमा निकै जोखिम हुन्छ । त्यहाँ फोहोर संकलन गर्नु र व्यवस्थापन गर्नु चुनौतीपूर्ण हुन्छ । त्यसैले त्यहाँ सरसफाइ अभियान सञ्चालन गर्दा समय र जनशक्तिलाई विशेष ख्याल गर्नुपर्छ । 

मार्च महिना उपयुक्त

सगरमाथामा अहिले फोहोरको बढी समस्या रहेको आधार शिविरभन्दा माथि हो । आधार शिविरभन्दा तल एसपीसीसीले नियमित सफाइ गरिरहेको छ भने अरु अभियानमा पनि त्यहाँको फोहोर संकलन र व्यवस्थापन तुलनात्मक रुपमा सहज छ । आधार शिविरभन्दा माथि धेरैजसो समय हिउँ रहने हुँदा हिउँले फोहोर छोपिएको हुन्छ । त्यसैले हिउँ कम भएको मौसममा जानुपर्छ ।

बितेको दुई दशकदेखि सगरमाथा क्षेत्रमा उद्धारको काम गर्दै आएका लाक्पा नोर्बु शेर्पा भन्नुहुन्छ ‘सबै हिसाबबाट मार्च महिनामा सगरमाथा सफाइ गर्नु उचित हुन्छ ।’

मार्च महिना सफाइका लागि उपयुक्त हुनुमा हिमाली उद्धारकर्मी शेर्पाले दिनुभएका आधारहरु यसप्रकार छन् ः–

हिउँ कम हुनु

सगरमाथाको आधार शिविरभन्दा माथि धेरै फोहोर छ । अझ धेरै फोहोर चौथो शिविरमा छ । आधार शिविरभन्दा माथि धेरैजसो समय बाक्लो हिउँ हुन्छ । हिउँले फोहोर छोपेको हुन्छ भने त्यहाँ जान पनि सकिंदैन । मार्च महिनामा हिउँ कम हुने, बाटो खुलाउन सकिने भएकोले मार्च महिना उपयुक्त हुन्छ ।

टेन्ट टाँगिनु

अप्रिल महिनाको शुरुवातदेखि नै आधार शिविरमा टेन्ट टाँग्ने काम शुरु हुन्छ । आरोही तथा सहयोगीहरुले टेन्ट टाँग्दा फोहोर छोपिन्छ । टेन्ट निकाल्ने बेलामा सफाइको काम गर्न सक्ने मौसम नै सकिएको हुन्छ । त्यसैले आरोहणकार्यका लागि टेन्ट टाँग्नुभन्दा अगाडि नै सफाइको काम सकाउँदा पुरानो फोहोर संकलन गर्न सकिन्छ । यसको लागि मार्च उपयुक्त महिना हो ।  

जनशक्तिको उपलब्धता

यस वर्षको सफाइ अभियान वैशाख १ गतेदेखि शुरु भयो । त्यत्तिबेला सबैजसो शेर्पाहरु हिमाल आरोहण टोलीलाई लिएर सगरमाथा लगायत विभिन्न हिमालमा गईसकेका थिए । चैतको मध्यबाट नै आरोहीहरु आधार शिविरतर्फ जाने हुँदा उनीहरुलाई लिएर शेर्पाहरु पनि आधार शिविरतर्फ लागिसक्छन् । त्यसैले यसपटकको सफाइ अभियानमा दक्ष जनशक्ति पाउन सकिएन । 

उदारकर्मी लाक्पा नोर्बु शेर्पा भन्नुहुन्छ, ‘हिमालका काम गर्ने भन्दा बाहेकको मानिस आधार शिवरमा पुगेर फोहोर संकलन गर्नै सक्दैन भने आधार शिविरभन्दा माथि उक्लने कुरै भएन, आरोहण समयमा बलिया, आरोहणको सीप र क्षमता भएका शेर्पाहरु सबै आरोहीहरुसँग हुन्छन्, त्यसैले आरोहण कार्यमा काम गर्न नसक्नेलाई सफाइ अभियानमा लगाएपछि आधार शिविरभन्दा माथिको फोहोर संकलन हुने कुरै भएन, त्यसैले आधार शिविरभन्दा माथिका शिविरमा थुप्रै हिउँ छ ।’

निजी क्षेत्रलाई जिम्मा दिनुपर्ने

यस पटक सञ्चालन भएको सफाइ अभियानमा धेरै राजनीतिक प्रभाव परेको सगरमाथा क्षेत्रमा काम गर्नेहरुले गुनासो गरेका छन् । अभियानका नाममा समारोह गर्दा, अनुगमनका नाममा विभिन्न नेता तथा कर्मचारीहरुको आधार शिविर भ्रमण गर्दा धेरै खर्च भएको उनीहरुले बताएका छन् । यस्तै आधार शिविरमा बस्ने कर्मचारीहरुको आकर्षक भत्ताका कारण त्यहाँका लागि कर्मचारी तोकिँदा पनि प्रभाव परेको छ ।

यस्ता धेरै कारणले गर्दा उपलब्धी कम भएको भन्दै जानकारहरुले निजी संस्था वा कम्पनीलाई निश्चित रकम तोकेर तोकिएको फोहोर संकलन गरिसक्नुपर्ने सम्झौतासहित जिम्मेवारी दिँदा उपयुक्त हुने शेर्पाको सुझाव छ । 

एक जना आरोहीले भने, ‘सफाइ अभियानका नाममा नेता र हाकिमहरु हेलिकप्टर चढेर हिमाल घुम्ने तथा आधार शिविर ओर्लेर फोटो खिच्ने क्रम धेरै बाक्लियो, आधार शिविरमा सफाइ गर्ने शेर्पा भन्दा हेर्ने कर्मचारी धेरै भए । यिनै कारणले गर्दा सगरमाथामा चर्चा भएको जस्तो सफाइ भएको छैन’, यी विभिन्न कारणले गर्दा तोकिएको सफाइका लागि तोकिएको खर्चमा काम सम्पन्न गर्नेगरी सम्झौता भए उपलब्धि बढी हुने जानकारहरु बताउँछन् । 

आधार शिविरभन्दा माथि केन्द्रित हुनुपर्ने  

आधार शिविरभन्दा तल एसपीसीसीले जसरी काम गरिरहेको छ त्यो नै अहिलेका लागि पर्याप्त छ । आधार शिविरमा नगण्य मात्रामा मात्रै फोहोर रहेको उदारकर्मी शेर्पा पनि बताउनुहुन्छ । समस्या त्यसभन्दा माथि हो । पुराना शवदेखि लिएर अरु फोहोर तेस्रो चौथो शिविरमा बढी थुप्रिएका छन् ।

हिउँ बाक्लिँदा पुरिने फोहोर हिउँ पग्लिएसँगै सतहमा देखिन्छ । आरोहण मौसममा पनि टेन्ट बनाउँदा थिचिएको हुन्छ । त्यसैले उपयुक्त समय र दक्ष जनशक्तिलाई प्रयोग गरेर सगरमाथाको फोहोर हटाउन आराहण कार्यमा संलग्नहरु बताउँछन् । 

केही आरोही बिरामी पर्छन् । आरोहण गरेर फर्कँदा शरीरमा शक्ति सकिएको हुन्छ । यस्ता कारण मापदण्ड अनुसार आरोहीले फर्कँदा आठ किलो फोहोर फिर्ता गर्नुपर्ने बाध्यता पनि कार्यान्वयन भएको छैन । त्यसैले यो व्यवस्थाको प्रभावकारी अनुगमन गरेर फोहोर फिर्ता नगर्नेको फोहोर वापतको धरौटी फिर्ता नगरेर त्यही हिमाल सफाइका लागि प्रयोग गरेमा पनि सहज हुने व्यवसायीहरु बताउँछन् । 

विश्वको सानको रुपमा रहेको सगरमाथामा फोहोर बढ्दा अन्तर्राष्ट्रिय स्तरमा नराम्रो सन्देश गएको छ भने फोहोरका कारण हिउँ पग्लिने लगायतका समस्या देखिने वातावारणको क्षेत्रमा काम गर्ने जानकारहरु बताउँछन् । त्यसैले हिउँ र इज्जत दुबै बचाउन सगरमाथा लगायतका हिमालहरु सफा गर्नु जरुरी छ । 
 

अन्तिम अपडेट: कात्तिक १७, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया