पोल्याण्ड पठाउने भन्दै घानाको भिसा, फेरि पनि निराशा

 भदौ २२, २०७६ आइतबार १६:३६:३१ | बेदानन्द जाेशी

काठमाण्डौ – ११ बजेको फ्लाइट छ भनेर बिहानै एयरपोर्ट पुगेका नुवाकोटका राजन भट्टराई एयरपोर्टमा दिनभरी कुर्नुभयो । तर फ्लाइट छ भनिएको जहाज आइपुगेन । कतारको कमाइले चित्त नबुझेपछि युरोपमा डलर फलाउने आशा बोकेर त्रिभुवन विमानस्थल पुगेका उहाँ अन्त्यमा निराश भएर घर फर्किनुपर्यो ।

भनिन्छ मान्छे असन्तुष्ट प्राणी हो । मान्छेका आवश्यकता जति पूरा भए, त्यति थपिंदै जान्छन् । कुनैबेला धेरै लाग्ने कमाइ केहीपछि थोरै लाग्न थाल्छ । अनि मान्छे नयाँ कामको खोजीमा हिँड्छ । 

राजनलाई पनि यही असन्तुष्टिले पछ्याइरह्यो । कतारमा जान पाए त आर्थिक अवस्था केही सुध्रिन्छ कि भनेर त्यता जानुभयो । कतारमा चार वर्ष काम पनि गर्नुभयो । तर कतारको कमाइमा उहाँको चित्त बुझेन । युरोप गए त धेरै कमाइ हुन्थ्यो भन्ने लाग्यो । त्यसपछि उहाँको दिमागमा युरोप जाने सोच पलायो । 

असन्तुष्टिले मान्छेलाई चलायमान त बनाउँछ, तर कहिलेकाहीँ ठूलो घाटा पनि व्यहोर्नुपर्ने हुन सक्छ । युरोप जाने आशामा राजनको पनि त्यस्तै भयो । 

कमाउने आशमा कतार 

१२ कक्षासम्मको पढेका राजनलाई अब कमाउनुपर्यो भन्ने लाग्यो । नुवाकोटबाट काठमाण्डौ झर्नुभयो । दिउँसोको टन्टलापुर घाममा तालु तात्ने गरी कामको खोजी गर्नुभयो । तर चित्तबुझ्दो काम मिलेन । ८÷१० हजार रुपैयाँ तलबको लागि महिना दिन पसिना बगाउन राजनको मनले मान्दै मानेन । अनि विदेश जाने निर्णयमा पुग्नुभयो ।

‘काम खोज्दा खोज्दा थाकिसकेको थिएँ, महिनाभरीको कमाइले आधा महिना पनि गुजरा नचल्ने भएपछि काठमाण्डौमा बसेर काम छैन भन्ने लाग्यो’, उहाँले विदेश जानुको कारण सुनाउनुभयो ।

विदेश जाने सोच बनाइसकेपछि कहाँ जाने भन्ने अन्यौल थियो । यत्तिकैमा उहाँका एकजना साथीले कतार राम्रो छ भनेपछि कतारको भिसा लगाउनुभयो र सन् २०१२ मा कतार उड्नुभयो । त्यतिबेला राजन २० वर्षको हुनुहुन्थ्यो ।

कतारमा सबै ठिकै थियो । उतैको कमाइले राजनले बिहे पनि गर्नुभयो । थोरै भए पनि घरको आर्थिक समस्याको पार लाग्यो । तर त्यत्ति कमाइमा राजनको चित्त बुझेन । त्यतिबेला उहाँले धेरै कमाएर काठमाण्डौमै व्यवसाय गर्ने सोच बनाइसक्नुभएको थियो । त्यसको लागि कतारको कमाइले सम्भव थिएन । त्यसपछि फेरि उहाँलाई युरोपको सपनाले पछ्याउन थाल्यो । ४ वर्षको कतार बसाइपछि राजन युरोपेली देश जाने निर्णयमा पुग्नुभयो ।

‘३०/३५ हजार रुपैयाँको लागि खाडीमै कहिलेसम्म पसिना बगाउने भन्ने लाग्यो’, उहाँले भन्नुभयो,  ‘त्यसपछि युरोपेली देश जाने सोच बनाएँ ।’

एजेन्टको ठगी

चार वर्ष कतारमा काम गरेर सन् २०१६ मा राजन घर फर्किनुभयो । फर्केर बिहे गर्नुभयो । दुई वर्ष घरमा यताउती गर्दै बिते । त्यसपछि उहाँ म्यानपावरको खोजीमा गएको जेठमा काठमाण्डौ आउनुभयो । युरोपेली देश जाने योजनाअनुसार नै राजन त्यतैका देश पठाउने म्यानपावरको खोजीमा लाग्नुभयो । 

म्यानपावरको खोजीकै क्रममा उहाँको भेट मणिकुमार राई नाम गरेका एकजना एजेण्टसँग भयो । ‘उसले पोल्याण्ड पठाउँछ भन्ने फेसबुकबाट थाहा भयो, त्यसपछि हामीहरु उसकै पछि लाग्यौँ’ उहाँले भन्नुभयो ।

राजनसँगै पोल्याण्ड जान खोज्ने अरु चार, पाँचजना पनि थिए । एजेण्टको ठगीबारे खासै जानकारी नभएका राजनलाई मणिकुमारप्रति विश्वास लाग्यो । तर एजेण्टप्रतिको विश्वास अन्त्यमा विश्वासघात हुन पुग्यो । 

‘उसको कुरामा शंका गर्ने कुनै ठाउँ नै थिएन’, राजन सम्झिनुहुन्छ, ‘यति सोझो र भलाद्मी मान्छेले कसरी ठग्ला भन्ने लाग्थ्यो ।’

पोल्याण्ड, माल्टा हुँदै घाना

आठ लाखमा पोल्याण्ड पठाइदिने भनेर मणिकुमारले शुरुमै राजनबाट दुई लाख रुपैयाँ लिए । भिसा लगाउने समय भइसक्यो भनेर पैसा मागेपछि नदिने कुरा पनि भएन । युरोप जान पाउने आशमा खुशी हुँदै राजनले ऋण गरेर असारको अन्तिममा मणिकुमारको हातमा दुई लाख रुपैयाँ थमाउनुभयो ।

हातमा दुई लाख रुपैयाँ परेको दुई दिनमै मणिकुमारले कुरा फेरे । पोल्याण्डको लागि अहिले काम नभएको भन्दै माल्टा पठाइदिने भने । माल्टा पनि युरोपेली देश नै त हो भनेर राजनलाई कुनै आपत्ति भएन ।

तर माल्टा पठाइदिने कुरा पनि दुई दिनमै असफल भयो । माल्टामा अहिले नहुने भयो भन्दै फेरि घाना पठाउने कुरा गरे मणिकुमारले । अब घाना जाने चाहिँ पक्का भयो भन्दै मोबाइलमा भिसा लागेको फोटो पनि देखाए । 

वैदेशिक रोजगारीमा घाना जान नेपाल सरकारले संस्थागत रुपमा खुल्ला गरेको छैन भन्ने कुरा राजनलाई थाहा थिएन । जसोजसो एजेण्टले भन्दै गए, राजनले त्यही मान्नुभयो । शुरुमा आफ्नो दुई लाख रुपैयाँ फसिसकेकोले जान्न भन्न सक्नुभएन । त्यसैमाथि मणिकुमारमार्फत त्यही देशमा जान लागेका अरु पाँचजना पनि थिए ।

मणिकुमारले पोल्याण्ड पठाउने बहानामा सबैबाट दुई, दुई लाख रुपैयाँ उठाएर आफ्नो जालोमा पारिसकेका थिए । त्यसैमाथि भिसा आइसकेको फोटो देखाएपछि बाँकी रकम उठाउन पनि उनलाई सजिलो भयो । 

भिसा आइसक्यो अब फ्लाइटको लागि पैसा चाहियो भन्दै मणिकुमारले सबैबाट रकम संकलन गर्न थाले । त्यसपछि सबैले पैसा दिन सुरु गरे । साउन १२ गतेसम्म सबैले रकम बुझाइसकेका थिए ।

‘मैले दुई लाख रुपैयाँ पहिले नै दिएको थिएँ, पछि आईएमई गरेर ६ लाख रुपैयाँ दिएँ’, राजनले भन्नुभयो, ‘कसैकसैबाट त १० लाख रुपैयाँ पनि मागेको रहेछ ।’ सबैबाट यति धेरै रकम संकलन गरिसकेपछि भदौ ८ गते बिहान ११ बजेको फ्लाइट छ भनेर मणिकुमारले सबैलाई तयार हुन भने । भदौ ८ गते सबैजना तयार भएर बिहानै एयरपोर्ट पुगे ।

तर भिसा र टिकट लिएर बिहानै एयरपोर्ट आइपुग्छु भनेका मणिकुमार ११ बजिसक्दा पनि पुगेनन् । न उनी आए, न त उनले आउँछ भनेको जहाज नै आयो । त्यसपछि नक्कली भिसा देखाएर मणिकुमारले आफूलाई ठगेको भन्ने थाहा भयो राजनलाई ।

‘उसको सबै कुरा झुटो रहेछ’, पछुताउँदै राजनले भन्नुभयो ‘डुप्लिकेट भिसा देखाएको रहेछ, बल्ल थाहा भयो ।’ उसको सबै कुरा झुटो रहेछ’, पछुताउँदै राजनले भन्नुभयो ‘डुप्लिकेट भिसा देखाएको रहेछ, बल्ल थाहा भयो ।'

दिनभरी झोक्राएर बसेका राजनको मोबाइलमा साँझपख फोन आयो । मणिकुमारले गरेका थिए, फोन । ‘आज फ्लाइट क्यान्सिल भयो भाइ, अब अर्को दिन’ भन्दै फोन काटियो । फेरि मोबाइल अफ भयो । 

त्यसपछि राजनले पटकपटक सम्पर्क गर्न खोज्दा मणिकुमारसँग सम्पर्क हुन सकेन । अहिले राजन ठगिएको पैसा फिर्ता र एजेण्टलाई कारवाही गरिपाउँ भन्दै सम्बन्धित कार्यालय धाइरहनुभएको छ । तर आवश्यक प्रमाणको अपुग हुँदा न्याय पाउनमा उहाँलाई समस्या भइरहेको छ ।

‘पैसा लिँदा वैदेशिक रोजगारीमा पठाइदिने भनेर कागज पनि बनाइदिएन’, राजन भन्नुहुन्छ, ‘अहिले यता उजुरी गर्दा प्रमाण चाहियो भन्छन्, म के देखाउँ ?’

अन्तिम अपडेट: भदौ ३०, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया