कर्मको सांगीतिक कर्म : कश्मीर बोर्डरदेखि ‘किंग्स वे’सम्म !

 भदौ २८, २०७६ शनिबार १५:३:२२ | दिलिप कुमार ज्याेति
unn.prixa.net

‘बर्मा गए नि कर्मसँगै’ नेपालीमाझ यो उखान निकै आत्मीय छ । कसैले यसलाई प्रारब्धसँग जोड्छन्, कसैले भावीको लेखासँग ।

आफ्ना दुखः सुखमा सदैव दैवको हात मान्ने हामी सोझा जाति संसारको जुनसुकै ठाउँमा रहे पनि उखान संस्कारलाई छोड्न पनि त सक्दैनौँ नि । यही उखानलाई चरितार्थ गर्ने आफ्नो कर्मको खोट र भाग्य केलाउँदै गायक एवं संगीतकार कर्म ग्याल्चेन बाल्यकालतिर आफ्नो स्मृति कुदाउँदै तीनलाई पुनर्ताजगी गर्छन् । ‘बाल्यकाल त मेरो पुरै अँध्यारो थियो । सम्झिन पनि चाहन्नँ । दश वर्षकै उमेरमा दैवले चुँडेर लगिहाल्यो त आमालाई । म आमाको अँगालोमा बेरिएर सुत्थेँ त्यो बेलासम्म पनि ।’ आज आफै दुई छोराका बाउ भैसक्दा पनि टुहुरो भावमा भक्कानिन्छन् कर्म ।

आमाको मृत्युपछि उनका बुवा भावविह्वल भएर रातभर आमाको समाधिमा घण्टौँ बिताउँथे । यो विछोडको पीडा दिदी र कर्म घण्टाैँ नियाल्थे । यस्तो दैनिकीले गर्दा कर्ममा एकप्रकारको नैराश्यता र एकांकीपन छाएको थियो । ‘आप्पा हारमोनियम बजाएर गीत गाउनुहुन्थ्यो । दाइ पनि कङ्गो बजाउनुहुन्थ्यो । म स्कुलमा गीत नगाए पनि घरमा भने गाउँथेँ । घरको बातावरण राम्रै थियो, तर आमा नहँुदा सबै बिरानो लाग्थ्यो । एक प्रकारको डिप्रेशन र साथीभाइसँगको संगतले म कुलतमा फसेँ । संगीत नहुँदो हो त म लागुऔषधले मर्थेँ सायद त्यो बेला ।’ किंग्स वेको जुजूबामा लेटनाइट सम्म गीक(गीत गाउने) गर्ने कर्म, आफ्ना डिल सुन्निएका राता आँखा झिम्काउँदै गीत सुनाउँछन् ।
  
परिवार र उनका लागि पनि कुलत असह्य थियो । भाइ कुलतमा फसेको थाहा पाएपछि दाइ (संगीतकार उत्तममणि बम्जन)ले ‘यो घरमै बसिरह्यो भने झन बिग्रिन्छ’ भनेर बाहिरी संसार देखाउनका लागि एकपटक आफ्नो पल्टन घुमाउन लगेका थिए । त्यही क्रममा पहिलो पटक आर्मीको ब्याण्डसँग कर्मको साक्षात्कार भएको थियो । 

‘आर्मीमा दुई प्रकारको ब्याण्ड हुन्छ । एउटा आफ्नै ‘इन्टरटेनमेन्ट’का लागि र अर्को आर्मीको ‘प्रोफेशनल ब्याण्ड ।’ आर्मीकै रवाफमा कर्म भन्दै थिए..... ‘त्यो आफ्नै ‘ब्याण्ड’ले चाहिँ बाहिरको एउटा प्रतियोगितामा भाग लिएको रहेछ । तर ‘भोकलिस्ट’को आमाको निधन भएर उहाँ घर जानु भएको रहेछ, ‘अब गीत कस्ले गाउने त !’ भन्ने अवस्था आएको रहेछ । दाइले मेरो भाइले गाउँछ भनेर भनिदिहाल्नुभयो । मैले पनि आनाकानी गरिनँ । केही समय ‘प्राक्टिस’ गरेर मैले त्यो प्रतियोगितामा गाएँ र प्रथम भएँ । त्यसपछि त त्यहाँ ठूलै तहल्का मच्चियो ।‘ ‘ब्याण्डको भोकलिस्ट’ त आमा बितेर गाउँ गएको छ, कस्ले गायो ? अर्को को ‘भोकलिस्ट’ आएछ ? ’ सबैको प्रश्न यही थियो ।’ संगीतका विषय कुरा उठ्नेबित्तिकै फुरुङ्ग भएर कर्म मन्द मुस्काउँदै आफ्नो पुराना दिन सम्झन्छन् । 

‘दार्जीलिङबाट एउटा सानो फुच्चे आएको छ । उसैले गाएको हो ।’ पल्टनभरि हल्ला फैलिन्छ । ‘अफिसर’ले उनलाई आफ्नो कोठामा बोलाउँछन् । सानो, दुब्लो जीउडालका कर्मले गीत गाएको हो भनेर पत्याउन गाह्रै भो उनलाई ।

१० दिनपछि मेसमा एउटा पार्टी राखिन्छ । सन् ९० को दशक थियो त्यो । गायक कुमार सानुको आवाज सबैतिर गुञ्जिन्थे । कर्म कुमार सानुको कपी गर्न माहिर थिए । १० दिनपछि कर्मले त्यो पार्टीमा, जब कुमार सानुको गीत गाए, सबै तिनछक परे । 

‘अफिसरले त मलाई सिधै ‘भर्ती गर्दे यसलाई’ पो भन्नुभयो । स्कुल भर्खर सकेर बसेको थिएँ म । उमेर बढाएर फिजिकलदेखि सबै कुराको चेकिङमा कन्सेसन पाएर बक्सिसमै पाएँ त जागिर मैले’, आफूलाई दैवले ठगेको ठान्ने कर्म संगीत कर्मले जागिरे बनाएको कथा सुनाउँदै गए ।

आर्मी ब्याण्डको मुख्य भोकलिस्ट भएर कर्मले पूर्व राष्ट्रपति ज्ञानी जैल सिंहको पर्सनल प्रेसिडेन्ट पार्टी, भुटानका राजाको बहिनीको जन्मोत्सवलगायत अधिकांश भीआईपी पार्टीमा  ‘पर्फरमेन्स’ गरेका छन् । पर्फमर भएकै कारण एक हप्ताको लागि दिइएको ‘फायरिङ्ग’ एक घण्टामै सिध्याएर प्रोग्राममा सहभागी भएका अनेकन रमाइला किस्सा छन् कर्मको आर्मी जीवनका ।

इन्डियन आर्मीमा भर्ती भएका सबैले एकपटक कश्मीर खटिनै पर्छ । त्यसमाथि दार्जीलिङका गोर्खाहरु त सबैभन्दा योग्य ठहरिन्छन् । प्राकृतिक रुपमा स्वर्ग जस्तो कश्मीर आम मानिसले सोचेभन्दा बिल्कुलै फरक छ । बेलाबेलामा भैरहने आतंकवादी हमला र बोर्डरमा गोलीबारीले नर्कतुल्य र कष्टकर जीवन छ त्यहाँ । महिनौँ हिउँले ढाकिने कश्मीरमा कर्मले नौ महिना हिउँ सोरेर र अनिदो बिताएका छन् ।

कश्मीर ड्यूटीको अवधि सक्काएर फर्किने क्रममा एउटा कच्ची पुल तर्नुपर्ने थियो । पल्टनसहितको गाडी पुल तर्न सम्भव थिएन । त्यसैले सबै जवान बसबाट ओर्लिएर गाडी खाली हुँदै थियो । त्यही समयमा नजिकै रहेको ठेलगाडा पछाडिबाट  एकजना आतंकवादी एके–४७ ले ‘ब्लाइण्ड फायर’ गर्दै जवानहरुतर्फ लम्क्यो ।

‘म बीचमा थिएँ मलाई केही भएन तर मसँगै हुने लमजुङको एउटा भाइ र एक जना अफिसर शहीद हुनुभयो । त्यो भाइ मभन्दा पछाडि थियो । गोली मलाई नलागेर उसको टाउकोमा लाग्यो । उ आफ्नो पाँच महिनाको छोराको मुख हेर्न हर्षित मुद्रामा पल्टनबाट फर्किएको थियो । एल.ओ.सी मा केही नभएको मान्छे, फर्केर आउँदा त्यस्तो शान्तिपूर्ण ठाउँमा मारिनुपर्दा एकदमै दुःख लाग्यो । मान्छेको चोला कुन बेला के हुन्छ भन्न सकिन्न ।’ कलिलै उमेरमा टुहुरो भएका कर्मले आफ्नै आँखा अगाडि मृत्युवरण गरेका साथी र उनको पाँच महिने छोराको कर्म पनि देखेझैँ गरी बताए ।

मृत्युलाई नजिकैबाट साक्षात्कार गरिसकेपछि कर्ममा एउटा ठूलो परिवर्तन आयो । ‘मरेपछि त केही पनि रहेनछ । अलिअलि गीत त गाउँछु, यदि मरिहालेँ भने पनि सम्झना त रहन्छ नि । कम से कम नाम त हुन्छ ।’ यस्तै तर्क वितर्क लिएर ६३ सालमा उनी आर्मीमै छँदा काठमाण्डौ आए । ताल कम्पनीबाट आफ्नै शब्द र संगीतमा ‘गायक’ नामक गीति संग्रह निकाले र पुनः दार्जीलिङ फर्किए । यो गीति संग्रहको ‘चिनाजान भएपछि’ बोलको पप गीत निकै चर्चित भयो त्यसबेला । चारवटा अवार्ड पाएको थियो यो गीति संग्रहले । तर यो कुराको पत्तो पाउन सकेनन् कर्मले । न अवार्ड नै हात लाग्यो उनको । आफ्नो आवाज बाँचिरहोस् भन्ने चाहनाले गीत रेकर्ड गराएर उनी पर्केका थिए । काठमाण्डौमा आफ्नो कुनै ठेगाना पनि छोडेका थिएनन् उनले । जसले गर्दा कम्पनीले पनि सम्पर्क गर्न सकेन उनलाई ।

काठमाण्डौमा भएका साथीभाइमार्फत आफू पुरस्कृत भएको थाहा पाएपछि, कर्म संगीतमै केही गर्छु भन्ने अठोटका साथ अफिसबाट लुक्दै छिप्दै संगीतको औपचारिक शिक्षा लिएको बताउँछन् । ‘म गड गिफ्टेड सिंगर हुँ । घर र आर्मीमा बाहेक बाहिर संगीत सिक्ने मौका मिलेकै थिएन । मेरो पहिलो गुरु नै मेरो आफ्नै दाइ (संगीतकार उत्तममणि बम्जन) हुन् । पछि ड्यूटीबाट भागीभागी सिलोङ मेघालयमा आदरणीय गुरुहरु विश्वास चक्रवर्ती र मीना सुवेदीसँग शास्त्रीय संगीतको औपचारिक शिक्षा पूरा गरँ ।’

आर्मीमा पेन्सनपट्टा गरेर संगीतमै अब केही गर्छु भन्ने उद्देश्यका साथ सन् २०१० को अप्रिलमा आफ्नो पहिलो एल्बम ‘गायक’ निकालेको चार वर्षपछि कर्म पुनः काठमाण्डौ झरे ।

आफ्नो एल्बमले अवार्ड नै जिते पनि उनले पुनः संघर्ष गर्नुपर्ने अवस्था थियो । राम्रो स्टेज पर्फमर भएका कारण काठमाण्डौ आएको तीन दिनमै रेस्टुरेन्टमा ‘सस्ब्टिच्यूड सिंगर’को काम पाए उनले  । महिनामा एक लाख रुपैयाँसम्म टिप्स खस्ने गरेको नाइट गीकको कुरा गर्दै उनी भन्छन् ‘त्यसबेला काठमाण्डौका रेष्टुरेन्टमा सुफी प्याटर्न चलेको थियो । रातभर हाई ‘अक्टेभ’मा गीत गाउँदा र दिनभर स्टुडियोमा काम गर्दा बिहान उठ्दा त मेरो स्वर नै आउँदैनथ्यो । खालि श्वास मात्र आउने त्यसैले मैले २—३ वर्ष जति त्यो काम छोडेर स्टुडियोको काम मात्र गरे । पछि फेरि सञ्चालकले बारम्बार बोलाएपछि गाउन थालेँ ।’

दार्जीलिङ, मिरिक ओके टीका कर्म नेपाली संगीत क्षेत्रका शिखर पुरुष गोपाल योञ्जनको गाउँका हुन् । ‘ओके टी भन्नेबित्तिकै मान्छेहरु मसँग प्रश्न गर्छन् । गोपाल योञ्जन त रंग्दुका हुन् तिमी कसरी गोपालको छिमेकी ?’ उनी रंग्दु र ओके टी एउटै ठाउँको नाम हो भन्दै भन्छन् ।

‘एक जना विदेशी आएर यो चिया बगानको चिया चाख्दा स्वाद निकै मन परेर ओके टी भनेछ, बिस्तारै सबैले यो ‘जक्सन’लाई ओके टी भन्न थाले । पछि यो ठाउँको नाम नै ओके टी हुनगयो । गोपाल योञ्जनको पालासम्म पनि यो ठाउँको नाम रंग्दु नै थियो । उहाँले आफ्नो जन्मस्थान रंग्दु नै भन्ने गर्नुहुन्थ्यो । तर मेरो पालामा ओके टी भन्न थालियो ।’

गोपाल योञ्जनसँग सहकार्य गर्न नपाए पनि चलचित्र ‘मेघा’मा उनकै संगीतको गीत गाउन पाउँदा खुसी छन् कर्म । अदृश्य रुपमा गोपालको छत्रछायाँ र आशीर्वाद पाएको र गोपाल योञ्जन मेरो अदृश्य गुरु हुन् भन्छन् कर्म ।

‘कसले देख्यो र अप्सरालाई’, ‘लुकी लुकी हेर मलाई’, ‘चिनाजान’, ‘मसँग मन छ’, ‘सताउ या मताउ’ जस्ता दर्जनौँ लोकप्रिय गीतका गायक कर्म, स्टेज र स्टुडियो दुवैमा निकै माझिएका थोरै कलाकारमध्ये पर्छन् ।

अहिले अधिकांश कलाकारहरु स्टेजमा बसेर गाउनै सक्दैनन् तर कर्म घण्टौँसम्म दर्शक, श्रोताको फर्माइस पूरा गर्छन् । हिट्स एफएम अवार्ड ६३—६४ र इमेज अवार्ड ७४—७५ प्राप्त गरिसकेका कर्मले ४०० भन्दा बढी गीतहरुमा स्वर र संगीत भरिसकेका छन् ।

‘बिन्दास–३’, ‘चन्द्रावती’, ‘किन मायामा’, ‘मेघा’, ‘जब जब माया बस्छ’ लगायत ३३—३४ चलचित्रमा आफ्नो आवाज पस्केका कर्म कर्मले नै आफूलाई संगीत गरेर खा भनेपछि संगीत र आफू एकअर्काको परिपुरक भएको बताउँछन् ।

‘कुलतबाट बचाउने संगीत, फाैजी बनाउने संगीत, कश्मीर बोर्डरदेखि किंग्स-वे सम्म मलाई डोराउने पनि संगीत । मेरो कर्म नै संगीत गरेर खा भन्नेछ । थाहा छैन अझै कति खोट र भाग्य कुँदिएको छ यो कर्ममा ।’ 

अन्तिम अपडेट: असोज १४, २०७६

दिलिप कुमार ज्याेति

ज्याेति कला मनाेरञ्जनमा कलम चलाउनुहुन्छ ।  

 

तपाईको प्रतिक्रिया