इन्द्रेणी जस्तै झिलीमिली नेपाली संस्कृति बचाउने कसले ?

 असार ३०, २०७५ शनिबार १२:४४:७ | बैरागी काइँला
unn.prixa.net

म भाषाहरुको ज्ञाता त होइन, संस्कृतिको विज्ञ पनि होइन । तर एउटा कुनै भाषा बुझ्छु, कुनै एउटा संस्कृतिको अनुशरण गर्छु । हाम्रो मुलुक परिवर्तनको एउटा दौडमा अगाडि बढ्दैछ । यस्तो अवस्थामा परिवर्तनको हाम्रो आकांक्षा, विकासप्रतिको हाम्रो चाहना र प्रतिवद्धता, मुलुकलाई मात्रै होइन विश्वलाई शान्तिपूर्ण बनाउन हामीले धेरै काम गर्नुपर्छ । 

उचित संरक्षण र वक्ताको अभावमा हामीले जान्दाजान्दै यो १५–२० वर्षमा झण्डै ६–७ वटा राईको भाषा लोप भैसक्योे । ती भाषा लोप हुँदा त्यसले बहन गरेर ल्याएको सांस्कृतिक भावना र सम्पदाहरु लोप हुँदै गए ।

त्यसको थालनी हामी आफैले गर्ने हो, त्यो पनि आफ्नै ठाउँबाट । मैले देखेको एउटै समस्या छ । म सधैँ एउटै कुरा गर्छु । त्यसैले तैँले सधैँ एउटै कुरा बोलिस् पनि भन्नुहुुन्छ धेरैले । नेपाली समाजको सन्दर्भमा एउटा समस्या छ ।  हामीले एकले अर्कालाई राम्ररी चिन्न नसक्नु नै ठूलो समस्याका रुपमा रहेको छ । भौगोलिक एकीकरण भयो । भानुभक्तले रामायण जनताले बुझ्ने र लोकको भाषामा लेखेर नेपाली भाषालाई लोकप्रियता प्रदान गर्दै विविधतापूर्ण यो देशमा एउटा सम्पर्क भाषाको रुपमा विकास गरेर ठूलो योगदान दिनुभएको छ । तर पनि हाम्रो मुलुक भौगोलिक हिसाबले हिमाल, पहाड भित्री तराई र तराई गरी विविधता भएसँगै सांस्कृतिक हिसाबमा पनि त्यति नै विविधतापूर्ण छ हाम्रो देश ।

हामी भन्छौँ – एक हुनुपर्यो, एक हुनुपर्यो, एक हुनुपर्यो । एक हुने विभिन्न तरिका र परिपाटी छन् । त्यसमध्ये एउटै मेल्टिङ पटमा हालेर एक हुने कि ? विविधतापूर्ण चिजलाई अंगिकार गरेर एक हुने ?

भौगोलिक विविधताले वातावरणदेखि लिएर जीवजन्तु, वनस्पतिमा ल्याएको जुन विविधता छ त्यसको असर यो भूगोलभित्र बस्ने विभिन्न जाति, तिनले बोल्ने भाषा र संस्कृतिमा पनि पर्दछ । हामी एउटा कुरामा बढी जोड दिन्छौँ । हामी भन्छौँ – एक हुनुपर्यो, एक हुनुपर्यो, एक हुनुपर्यो । एक हुने विभिन्न तरिका र परिपाटी छन् । त्यसमध्ये एउटै मेल्टिङ पटमा हालेर एक हुने कि ? विविधतापूर्ण चिजलाई अंगिकार गरेर एक हुने ? यो एउटा समस्या हो । जसरी हाम्रो मुलुक भौगोलिक विविधता भएको देश हो । त्यसरी नै भाषिक र सांस्कृतिक रुपमा पनि हाम्रो देशमा विविधता छ । 

जसरी हामी हाम्रो बायो–डाइभर्सिटीमा गर्व गर्छौँ, त्यसरी नै भाषिक, सांस्कृतिक तथा जातीय विविधतामा गर्व गर्दै यसलाई अझ बढी शक्तिको श्रोत बनाउनुपर्छ । यसको लागि हिमालदेखि दक्षिण विशेषगरी महालंगुर क्षेत्रमा विद्यमान संस्कृतिहरु, संस्कृति अनुशरण गर्नेहरु, तिनले समाजमा पारेका प्रभाव र नेपाली समाजको संरचनामा तिनको उचित स्थान हामीले खोज्नुपर्छ । 

अब त जनसंख्या पनि बढ्यो, तराईका वनजंगल पनि सिद्धिए, पहाडका वनजंगल पनि सिद्धिए । हामी गाउँघरका मान्छेले चटक्क मुटु नै खाने गरी बिमार हुँदा वनकोले भेट्यो भन्थ्यौँ । त्यो वनको देउतालाई मन्साउनका लागि हाम्रा धामी झाँक्री, फेदाम्बा, साम्बाहरुले मन्त्रहरु पढ्थे । र उनीहरुलाई चित्त बुझाएर पठाउथेँ । हामी कतिपय जाती पनि हुन्थ्यौँ । अब जंगल छैन, वनमा देउता छैन । ठिकै छ एउटा कुखुरा बच्यो । दुइटा मान्द्रा बच्यो ।

हामीले सरसर्ती हेर्दा पश्चिम पहाडमा अत्याधिक भाषिक विविधता देख्छौँ । पूर्वी तराई हेर्यो भने पनि भाषिक विविधता उत्तिकै देखिन्छ । यसरी नै देशैभर जातीय विविधता पनि उत्तिकै रहेको छ । त्यसो त पूर्वी पहाडमा पनि भाषिक विविधता रहेको छ । तर हामीले किराँती भाषामध्ये राईलाई एउटा भाषा मानेर हिँड्दाखेरी अलि थोरै बनेको हो । नत्र उचित संरक्षण र वक्ताको अभावमा हामीले जान्दाजान्दै यो १५–२० वर्षमा झण्डै ६–७ वटा राईको भाषा लोप भैसक्योे । ती भाषा लोप हुँदा त्यसले बहन गरेर ल्याएको सांस्कृतिक भावना र सम्पदाहरु लोप हुँदै गए । यसको उचित संरक्षणका लागि वक्ताहरुको समूहले देखाउनु पर्ने जागरुकता त छँदैछ, त्यसमा राज्यले दिनुपर्ने संरक्षण अहम कुरा हो । 

यसमा राज्यले जति दिएको छ पर्याप्त भएको छैन । एक पटक एक ठाउँमा मैले एउटा सानो गफ सुनाएँ । अब त जनसंख्या पनि बढ्यो, तराईका वनजंगल पनि सिद्धिए, पहाडका वनजंगल पनि सिद्धिए । हामी गाउँघरका मान्छेले चटक्क मुटु नै खाने गरी बिमार हुँदा वनकोले भेट्यो भन्थ्यौँ । त्यो वनको देउतालाई मन्साउनका लागि हाम्रा धामी झाँक्री, फेदाम्बा, साम्बाहरुले मन्त्रहरु पढ्थे । र उनीहरुलाई चित्त बुझाएर पठाउथेँ । हामी कतिपय जाती पनि हुन्थ्यौँ । अब जंगल छैन, वनमा देउता छैन । ठिकै छ एउटा कुखुरा बच्यो । दुइटा मान्द्रा बच्यो ।  तर फलाकेको कुरामा जुन साहित्य थियो, सांस्कृतिक सम्पदा थियो, त्यो पनि त लोप भयो । 

म जान्दिनँ उनीहरुको भनाईको तान्त्रिक अर्थ के हो ? एउटालाई रुघा लाग्यो देखाएँ, फलाक्यो फलाक्यो अनि भन्यो– तँ बाँदरले यसलाई समातेछस् खोक्तैछ, तँ जा ।  मलाई हिर्काउँदै, बाँदर देख्दैछ, तँलाई पैयुँको लट्ठीले हिर्काउँछु । के सम्बन्ध छ रुघाखोकी र पैँयुको काठको ? हाम्रो यो इन्डिजिनियस नलेज सिस्टमको कुरालाई हामीले हाम्रा भाषाहरुको लोपसँगै यीनलाई पनि दिनप्रतिदिन गुमाउँदैछौँ । 

लिम्बूको श्रुति परम्परामा गाउने मुन्धुममा प्रसंग आउँछ, दाजुभाइको झगडा हुँदा दाजुलाई मार्नलाई काँडामा बिख हाल्नुपर्यो भने बिख माग्नलाई डाँफे चराकोमा पुग्छ । किन ? एउटा झार हुन्छ, त्यो अत्यन्तै विषालु हुन्छ । त्यो डाँफेले खानेरैछ । हाम्रो जुन जातीय ज्ञानको पद्धति र प्रणालीहरु छन्, सम्पदाको रुपमा रहेका छन् । नेपालका भाषाहरु दिनप्रतिदिन लोपोन्मुख मात्रै होइन, मृत्योन्मुख मात्रै होइन, भाषाशास्त्रीहरुको कुरा पत्याउँदा एउटाले २०५० सालतिर नै एउटा किताब निकालेको हो । हरेक हप्ता एउटा र आधा भाषा मर्दैथ्यो भन्थ्यो ।

विश्वका सात हजार सात सय भाषामध्ये प्रतिहप्ता डेढ वटा भाषा मर्यो भने अहिलेसम्म कति भाषा लोप भए होलान् । नेपाल एकेडेमीले एउटा राई भाषाको लागि एउटा योजना बनाएर पठायो । अन्वेषकहरु पुगे फिल्डमा  । फर्केर आएर सबै खातापत्र बुझाउँदै भने – एउटा वक्ता थियो त्यो पनि रोजगारीका लागि अरबतिर पसेछ । राजामाने एउटा वक्ता थियो उ पनि अरब पस्यो ।  यसरी हाम्रो भाषा, त्यो भाषाले बोकेको सांस्कृतिक सम्पदा प्रतिदिन लोप हुँदैछ । 

युनेस्कोले आफ्नो घोषणापत्रमा संसारका विविध जातिको संस्कृति र परम्परामा भएको महत्वपूर्ण कुराहरुलाई मास्टर पिसेज अफ् वर्ल्ड हेरिटेज भनेर संरक्षण प्रदान गर्छ जसरी हाम्रो हनुमान ढोका, पशुपतिनाथ, पाटन दरबार स्वायरलाई सहयोग गरिरहेको छ । 
 

सांस्कृतिक हिसाबले अत्यन्तै झिलिमिली छ हाम्रो यो देश । यो झिलिमिलीलाई बचाउनु पर्यो । मैले अघि नै पनि भने एउटै मेल्टिङ पटमा राखेर सबै धातुलाई एउटै बनाउने कि ? एउटा चाहिँ हामीले औँठी लाएझैँ रोग, क्रोध र नक्षत्र पन्छाउन भन्दै पाँच वटा धातु राखेर सबैले त्यो फलाम रहेछ, त्यो पित्तल रहेछ त्यो सुन रहेछ, त्यो तामा रहेछ, त्यो चाँदी रहेछ भनेर सबैले चिन्ने औँठी बनाउने हो कि ? हाम्रो मुलुकको संस्कृतिलाई हामी इन्द्रेणी संस्कृति भन्छौँ । सबै संस्कृतिको संरक्षण र सम्बद्र्धनमा हरेक नेपालीले दायित्व निर्वाह गर्नुपर्छ । 

–वरिष्ठ कवि बैरागी काइँलाले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले भानुजयन्तीका अवसरमा आयोजना गरेको हिमवत् खण्ड कला साहित्य सम्मिलनमा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

बैरागी काइँला

 वैरागी काइँला आयामेली आन्दोलन (२०२०) मार्फत साहित्य क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने साहित्यकारको रूपमा चिरपरिचित नाम हाे । 

तपाईको प्रतिक्रिया