साझा पार्टी सरकारमा आए सबै कर्मचारी युनियन खारेज गर्छ : रवीन्द्र मिश्र

 असोज ३, २०७६ शुक्रबार १९:८:२५ | किरण लोहनी
unn.prixa.net

गोरखा – साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले प्रशासन यन्त्रलाई कामै गर्न नदिने कर्मचारी युनियन खारेज गर्नुपर्ने बताउनु भएको छ ।

साझा पार्टीको गोरखा संयोजक घोषणा सभामा बोल्दै नेता मिश्रले कर्मचारी युनियन, शिक्षक युनियन, प्राध्यापक युनियनहरु सबैलाई खारेज गर्नुपर्ने बताउनुभयो । आफ्नो पार्टी सरकारमा आएमा सबै कर्मचारी युनियनलाई खारेज गर्ने उहाँको भनाइ छ ।

कर्मचारी युनियनले आफू र नेताको काम मात्र गर्ने, राष्ट्रको काम नगर्ने गरेको मिश्रको आरोप छ । सर्वसाधारण नेपालीले तिरेको राजस्वबाट तलब खाएका एकजना नासु, एकजना खरदारले कर्मचारी युनियनको बलमा सचिवको टेबुल ठटाएर, सचिवलाई कालोमोसो लगाएर अनैतिक काम गर्न दबाब दिने गरेका उहाँको भनाइ छ ।

राजनीतिक दलका शुभेच्छुक संगठन, भातृ संगठनका रुपमा रहेका सबै कर्मचारी युनियन, सबै शिक्षक युनियन, प्राध्यापक युनियन खारेज गरेमा मात्रै देशमा बल्ल सुशासन सुरु हुने संयोजक मिश्रको दाबी छ ।

कर्मचारीतन्त्रभित्र आफ्नो मान्छे भए मात्र काम हुने गरेको, नेता, बिचौलिया र बोलवाला भएकाहरुको काम हुने गरेको तर सर्वसाधारणको काम गर्न अत्यन्तै कठिन हुने गरेको उहाँले तर्क गर्नुभयोे । कार्यक्रममा बोल्दै नेता मिश्रले २०४६ सालदेखि यताका नेपालका सबै नेता, उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा सीमित नेता, बिचौलिया, उच्चपदस्थ कर्मचारीको स्तर निरन्तर उकासिइरहेको भन्दै उहाँले नेपाललाई साँच्चिकै बदल्ने हो भने भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

साझा पार्टी सरकारमा आएमा २०४६ साल यता राजनीतिक, प्रशासनिक र अन्य उच्च नेतृत्वमा रहेका सबैको सम्पत्ति छानबिन गर्ने पनि मिश्रको दाबी छ ।

नेपाली राजनीति सुध्रिने बाटोमा नरहेको नेता मिश्रको तर्क छ । खराब नेताहरु सिंहदरबारमा बसेर शासन चलाउने, असल नागरिकहरु छेउमा बसेर हेरिदिने परम्परा रहुञ्जेल यो देश नबदलिने मिश्रको भनाइ छ ।  नागरिकहरु अहिले देश चलाइरहेका राजनीतिक पार्टीको मायाजालमा फसेकाले देश नबनेको पनि मिश्रको तर्क छ ।

साझा पार्टीले गाेरखाकाे संयाेजकमा व्यवसायी तथा समाजसेवी किशाेर रेग्मीलाई चयन गरेकाे छ ।

अन्तिम अपडेट: चैत २, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया