बन्दुक बोक्दैमा कम्युनिष्ट बनिन्न: नेमकिपा अध्यक्ष बिजुक्छे

 असोज ३, २०७६ शुक्रबार २०:६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सरकारको कार्यशैली समाजवाद उन्मुख नदेखिएको भन्दै सरकारले आफुलाई सुधार्नु आवश्यक रहेको औँल्याउनुभएकाे छ । 

शुक्रबार नेपाल मजदुर किसान पार्टीको सातौँ महाविधेशनकाे उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। उहाँले अहिलेको नेकपाबाट समाजवाद आउने कुरा असम्भव रहेको दावी गर्दै वर्तमान सरकारमा सामन्तवादी चरित्र देखा परेको आरोप लगाउनुभयो ।

बेरोजगारीको समस्याका कारण विदेशिनेको संख्या दिन प्रतिदिन बढिरहेको भन्दै उहाँले यसलाई रोक्न नसक्नु सरकारको कमजोरी रहेको भन्दै उहाँले नेपाल भारतको चंगुलमा फस्दै गएको र देश तथा जनताको पक्षमा सरकारले काम गर्न नसकेको उल्लेख गर्नुभयो ।

नेमकिपा राजनीतिक चिन्तन बोकेको आफ्नै नीतिमा चल्ने र रचनात्मक आलोचना गर्ने पार्टी भएको बताउँदै अध्यक्ष बिजुक्छेले नेमकिपाले विदेशी हस्तक्षेपको खुलेर विरोध गर्दै आएको बताउनुभयाे । 

बन्दुक बोक्दैमा कम्युनिष्ट बन्न नसक्ने टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले भन्नुभयो, क्रान्तिकारी र कम्युनिष्ट बन्ने कसी बन्दुक बोक्ने कार्य हुन सक्दैन, नीति, व्यवहार र चरित्रले कम्युनिष्ट बनेर देखाउन नेकपालाई चुनौती दिन्छु ।

कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले सिन्दुरसँग नागरिकता साट्ने गरी नागरिकता विधेयक पारित गर्न नहुने बताउनुभयो । उहाँले नेकपा कम्युनिष्ट नभएको आरोप लगाउँदै नेकपालाई भाइ काग्रेसको संज्ञा दिनुभयो ।

नेपाल मजदुर किसान पार्टीले देशको सार्वभौमिकता रक्षा र प्रजातन्त्रको लागि स्थापनाकालदेखि नै साम्राज्यवाद र विस्तारवादविरुद्ध सङ्घर्ष गर्दै आएको बताउँदै सचिव सुवालले नेपालको किसान आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलनमा पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापति, प्रदेश नम्बर-३ का सांसद एवं केन्द्रीय सदस्यहरु सुरेन्द्रराज गोसाई, सृजना सायजु, पूर्व सांसद अनुराधा थापामगर, पूर्व सांसदहरु, विभिन्न भातृसंगठनका अध्यक्षहरुले देशको सार्वभौमिकताको रक्षाका लागि नेमकिपा सधैँ अगाडि उभिएको बताउनुभयो ।

शुक्रबार भक्तपुरको च्याम्हसिंंह, मध्यपुर-थिमिको बोडे र काठमाण्डौको कोटेश्वरबाट बाजागाजाका सुरु भएको विशाल र्याली सल्लाघारीमा उद्घाटन सत्रमा गएर समापन भएको थियो । 

आउँदाे ५ गतेसम्म सञ्चालन हुने नेमकिपाको सातौँ महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्तावेजहरु पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ । विधान संशोधन मार्फत हाल रहेको २५ सदस्यीय केन्द्रीय समितिलाई परिमार्जन गरी संख्या बढाउने र पार्टीमा महासचिवको व्यवस्था गर्नेबारे छलफल गरिने पार्टी श्रोतले जानकारी दिएको छ । 

यसअघि नेमकिपाको २०७० साल चैत २१ गते काठमाण्डौ खुल्ला मञ्चमा छैठौँ महाधिवेशन सम्पन्न भएको थियो भने पार्टी स्थापनाकालदेखि हालसम्म नारायणमान बिजुक्छे नै पार्टीमा अध्यक्ष चयन हुँदै आउनुभएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया