कहाँ राजदूत बन्ने ? यहाँ चरा हेरेर कति रमाइलो भैरा’छ : सञ्जीव उप्रेती

 असोज ११, २०७६ शनिबार १३:५२:२७ | लक्ष्मण कार्की
unn.prixa.net

पूरापूर २५ वर्ष, सिंगो शताब्दीको एक चौथाइ समय । चक, डस्टर, किताब, सिद्धान्त, विचार, विद्यार्थी, विमर्शमै बित्यो । काम गर्न पाउने समय त बाँकी नै थियो । तर, मन मानेन । मतलब ‘अब पुग्यो’ भन्न थाल्यो । मनमौजी मान्छेलाई रिटायर्ड पनि बुढ्यौलीको पट्यारलाग्दो कुरा होइन नयाँ अवसर बनिदिन्छ ।

‘मास्टरी दुनियाँ’बाट बाहिर निस्कनु सञ्जीव उप्रेतीका लाग पनि यस्तै अवसर बन्यो । चरा हेर्ने अवसर । सुन्दा सानो जस्तो लाग्ने (कसै-कसैलाई हाँसो उठ्न पनि सक्ला)
मान्छेहरुले सोधे– किन राजीनामा दिएको ? अब के गर्ने ? ऐजन ऐजन । केही त अनुमानमै प्रश्न सोध्थे, ‘अब कतै कन्सल्याण्ट बन्ने होला है ?’ 

‘होइन, होइन त्यस्तो खास केही छैन’, उनी जवाफ दिन्थे । साथमा बोनस हुन्थ्यो सञ्जीव सरको आफ्नै पाराको हाँसो । तर किन पत्याउँथे र मान्छेले । बरु थप शंका गर्थे, ‘राजदूत बन्ने होला नि’, अनि कोही व्यङ्ग्य कस्थे, ‘राजनीतितिर पो आउने हो कि ?’ वा अब त साहित्य दर्शन र जीवनका घघडान किताब लेख्ने होला ? कोही कुरा फुत्काउने यत्न गर्थे ।

त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा २५ वर्ष पढाएर राजीखुशीले राजीनामा दिएर निस्केको तीन वर्ष पछि सञ्जीव सर, ती पहिलेका प्रश्नको जवाफ अहिले दिन्छन् ‘कहाँ राजदूत बन्नु ? यहाँ चरा हेरेरै पुगेको छैन ।’

चरा हेर्नु उनको सबैभन्दा मुख्य काम जस्तै भएको छ अहिले । झोलामा दूरबिन हालेर मोटरसाइकल टुररररररररर पार्दै कहिले टौदह त कहिले शिवपुरी अनि कहिले रानीबारी त कहिले गोदावरी पुग्नु उनको दिनचर्या जस्तैजस्तै हो ।

चराहरु हेरेर आल्हादित भएका बेला बेलाबेला उनी सम्झन्छन् आफ्नो जीवनलाई र सोध्छन् आफ्नै मनलाई बेलैमा राजीनामा नदिएको भए ? वा पीएचडी गर्न गएका बेला अमेरिकामै बस्ने अफर स्वीकार गरेको भए ? के म जीवनको यो स्वाद लिन पाउँथे त ? अहँ कहाँ पाउनु नि । जवाफ दिन्छ उनकै मनले  ।  त्यसैले उनी दंग छन् जीवनसँग । 

खुशीको खोजी

उपदेश दिन सजिलो छ, मन लागेको कुरा गरे भै गो नि । तर गर्न कहाँ हुन्छ सजिलो ? दबाबै दबाबका बीच बाँच्नुपर्ने जीवनमा मन लागेका कुरा गर्न पाउने भाग्यमानी एकदमै कम मात्र हुन्छन् । नामको दबाब, कामको दबाब, केही न केही गर्नुपर्ने दबाब, घरपरिवार नातागोता इष्टमित्र सवैले के गर्दैछस् भनेर दिने दबाब कसरी बाँच्ने भन्ने दबाब, मतलव दबाबै दबाब । ‘मानव समाजमा त दबाबै दबाब हुन्छ नि, दबाबबारे सञ्जीव सर भन्छन्, ‘तर चराहरुको संसारमा चाहिँ हुँदैन है फेरि यस्तो केही दबाब ।’ यस्तो दबाबै दबाबका बीच बाँचिरहँदा मन मार्नुपर्छ । चाहेको कुरा गर्न सकिँदैन, पाइँदैन, मिल्दैन ।

‘म एकदमै गरिब भएको भए, म दलित भएको भए, वा नारी भएको भए, अपाङ्गता भएको व्यक्ति भएको भए कुनै पनि हालतमा अहिलेको अवस्थामा हुने थिइनँ ।’

किन होला त ? यसको कारण पनि सञ्जीवले पर्गेलेका छन्– आधुनिकतासँगै बजार व्यवस्था र उपभोक्ता संस्कृति हावी भयोे । कि नाम, कि दाम, कि बस्तु, कि सेवा केही न केही उत्पादन त गरिरहनुपर्ने भयो । त्यो पनि यस्तो उत्पादन जुन सबैले देख्न सकून्, नाप्न सकून् । ‘अब यस्तो बेलामा आफ्नै लागि खुशी उत्पादन गर्न मैले जागिर छोडेको वा झोलामा दूरबिन हालेर चरा हेर्न हिँडेको, दिनभरि चराका भावभङ्गी हेरेर दङ्ग परेको कुरालाई कसरी जोड्ने उत्पादनसँग ? सञ्जीव दुःख पोख्छन्, यो न नाप्न सकिन्छ न  देख्न नै ।’ ‘तर प्रयास गरिरहेको छु’, उनको ब्राण्डेड जस्तो लाग्ने मुस्कान फुत्किन्छ ।

परिवारले, समाजले ‘यो गर वा त्यो गर’ भनेर रातदिन दबाब दिइरहन्छ । अरुका जीवनका धर्काहरुसँग तुलना गर्ने बानी नै पारिएको जो छ । अर्काको भन्दा धर्को छोटो भए दुःखी र लामो भए दंग पर्न सिकाएको छ समाजले । तर आफ्नो मौलिकतालाई सहज रुपमा स्वीकार गर्ने कुरा सिकाउँदैन । दबाब यसरी पनि बढ्ने उनको ठम्याइ छ ।

चरा हेर्दा शान्ति महसुस हुन्छ । चराहरुको मनोविज्ञानबारे सोच्न र चराहरुको चिर्बिराहटसँगै यो जगतबारे विचार्न पाउँदा मख्ख नपर्नुपर्ने कनै कारण छैन, हुँदैन । चराको जीवनशैली देखेर कहिलेकाहीँ त आरिस लाग्छ उनलाई । सोच्छन्, कति निष्फिक्री यी चराहरु ? कति दबाबमुक्त यी चराहरु ? न घरपरिवाको न समाजको न नातागोताको न कुलकुटुम्बको न त कसैको ।

'मकैकाे खेती' नाटककाे एक दृश्य

चराहरुमा कुनै दबाब छैन । मन लागेको ठाउँमा मनमौजी पारामा पुग्छन् । समाजले कुनै बाध्यता पनि थोपरिदिएको छैन । उनीहरुलाई राष्ट्रवाद चर्काउनु पनि छैन । एक ठाउँबाट अर्को ठाउँमा जान न त प्रवेशाज्ञा चाहिन्छ । न त कुनै परीक्षा पास गर्नुपर्छ वा त्यहाँको भाषा नै जान्नुपर्छ । मन लागेका ठाउँमा बेग हानेर जान्छन् । मन लागुन्जेल बस्छन् फेरि कतै बतासिन्छन् । कस्तो लोभलाग्दो जीवन चराहरुको ?

उत्तर आधुनिकताका यी गुरु सीमाहीन सम्बन्ध, यो जगत  र यहाँका प्राणीहरुको सम्बन्ध बारे सोचमग्न बन्छन् फेरि झल्यास्स आफ्नै जीवन सम्झन् र दंग हुन्छन् । मनमनै गम्छन् त्यत्रो समयको जागिर बाँकी हुँदै रिटायर्ड भएर जंगल घुम्न हिँड्ने र यो मज्जा लिन पाउने कति नै होलान् र ? के यो चानचुने खुशी हो ? होइन, हुँदै होइन, जवाफ फेरि उनकै मनले दिन्छ ।

चराप्रति संवेदनशील हुन थाले त्यसले सहअस्तित्वलाई अंगिकार गर्ने तहमा पुर्‍याउने सञ्जीवको ठम्याइ छ । भन्छन् ‘यसले संवेदनाको अर्को तहमा पुर्याउँछ नि हामीलाई ।’ पानी पर्दा हामी घरभित्र छिर्छाैँ । चराहरु भिजेर बसेका हुन्छन् । गुँड भिज्ला, उनीहरुका बच्चा होलान्, बच्चा गुँडबाट तल झर्लान्, कुकुरले खाइदेला, कसरी जोगाउने उसले ? हामीले यसरि पनि सोच्नुपर्दैन ?’

पढाइलेखाइको सम्मोहन

जग्गावाल बाजेका नाती सञ्जीवका बा सरकारी चिकित्सक हुन् । आफ्नो पालाका नाम चलेका डाक्टर शंकर उप्रेती । बाआमाका एकमात्र सन्तान बालखकालमा ब आमासँगै धेरै ठाउँ गए ।

विद्यालय जान थाल्नुपर्ने बेला उनी भोजपुरमा थिए । तर विद्यालय टाढा थियो । ‘पिलन्धरे पारा’का सञ्जीव बिरामी भइरहन्थे । जसका कारण एक दुई घण्टा जति टाढाको विद्यालय जान सम्भव भएन । आमाले नै पढाउन थाल्नुभयो । केही समय शिक्षक पनि राखियो तर धेरै आमाले नै पढाउनुुहुन्थ्यो । खेल्ने साथीहरु खासै थिएनन् । दाजुभाइ दिदीबहिनी पनि नभएकाले उनी एक्लो जस्तो भए । छोरो एक्लो नहोस् भनेर बाले थरिथरिका पुस्तक ल्याइदिएका हुन्थे । उनी ती सबै पढ्थे । अहिले सम्झन्छन् ‘पढ्ने लत त्यहीँबाट लाग्यो ।’

बुवा श‌ंकर उप्रेतीसँग सञ्जीव उप्रेती

झापामा एकैचोटी ४ कक्षाबाट विद्यालय जान थालेका सञ्जीव पनि आफूजस्तै डाक्टर बनुन भन्ने बालाई लागेको थियो । त्यही भएर उनी एसएलसीपछि अस्कल क्याम्पसमा भर्ना भए । आइएस्सी पढ्न थाले । तर उनी प्रयोगात्मक कक्षामा मात्र क्याम्पस जान थाले ।

सिद्धान्तका कुरा किताब पढ्दा भइहाल्थ्यो किन सरको कक्षामा गइरहनु भनेजस्तो लाग्न थाल्यो । बरु लैनचौरमा रहेको ब्रिटिस पुस्तकालयमा नियमित पुग्न थाले । जहाँ किसिमकिसिमका किताब पढ्न पाइन्थ्यो । तिनै किताब पढ्दापढ्दै लागेको किताबको मोहनी उनले फुकाउनै सकेनन् । अनि सम्बन्ध विच्छेद हुन थाल्यो क्याम्पसका कक्षाहरुसँग । दुई वर्ष सकिँदा उनले क्याम्पस मात्र होइन संकाय नै त्यागे । बालाई मनाए र लागे दार्जीलिङतिर । नर्थ प्वाइण्ट कलेजमा भर्ना भए । जहाँ संकाय विज्ञान होइन मानविकी थियो अनि ऐच्छिक विषय थियो-अंग्रेजी साहित्य ।

बीए सकिएपछि झापाको शनिश्चरेतिरै मास्टरी गर्ने मन थियो तर फेरि दबाब आयो डिग्री पढ्नलाई । भर्ना भए अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरमा । एमए सकियो । नम्बर राम्रो आयो । विभागका प्राध्यापकहरु श्रीधर लोहनी, अभि सुवेदी, तथा विभागीय प्रमुख डीपी भण्डारीले विभागमै पढाउन आग्रह गरे । थेसिस सकिएको भोलिपल्टैदेखि उनी पनि त्यही विभागका सर बने ।

सबै कुरा ठिकठाक चलिरहेकै थियो । २०६२/६३ को जनान्दोलन चलिरहेका बेला उनी पक्राउ परे । प्रहरीको कुटाइ खाए । त्यसपछि उनको दिमागमा उम्रियो घनचक्कर । जसले धेरैका दिमाग रन्थनायो । त्यसपछि उनले लेखे नाटक मकैको अर्कै खेती र आफै खेले पनि । उपन्यासकार, नाटककार हुँदै उनी कलाकार पनि बने । 

टौदह हंस र क्वाँक्वाँ

हंस भन्नासाथ मानिसको हंसको सम्झना हुन्छ । अझ सञ्जीव उप्रेतीले लेखेको भनेपछि यो त जीवन दर्शन साहित्यको कुरा हो भन्ने लागिहाल्छ । तर, हंस भनेको हाँस मतलब एउटा चरा प्रजाति पनि हो । चरा हेर्ने बानी कै कारण उनी हाँसको प्रेममा लठ्ठ भए । डेटिङस्थल बन्यो कीर्तिपुरको टौदह । मानिस, चरा, प्रेम, जीवन, सम्बन्ध, चराका दृष्टिमा यो जगतलगायतका विषयलाई जोडे र जन्मियो हंस ।

चराको दृष्टिबाट यो संसार कस्तो देखिएला ? हामीले सोचेनौँ । सधैँ मानव केन्द्रित अर्थात ह्युमन सेन्ट्रिक एप्रोचमा काम गर्‍याैँ । हंसमा यस्ता कुरा पनि समेटिएका छन् । तर हंसको विषयबस्तु यो मात्र होइन ।

विवाहेत्तर सम्बन्ध राष्ट्रको सीमा, राष्ट्रवाद, बसाइँसराइँसम्मका कुरा अटाएका छन् हंसमा । अरु के के छन् नि, हंसमा ? ‘सवै कुरा त भन्दिन है’ उनी आफ्नै पारामा हाँसे । हुन पनि सप्पै कुरा भनियो भने बाँकी के नै रहन्छ ? अनि बाँकी नै केही नरहे कुनै कुरालाई पर्खिनुको के मज्जा ? हंसलाई पाठकले पर्खिरहेका जो छन् ।

संरचनात्मक लाभांश

समाजमा केही विशेष भएकाले पाउने लाभांश संरचनात्मक लाभांश हो । उच्च ‘कुल’को हुनु, धनी हुनु, साङ्ग हुनु, पुरुष हुनु जस्ता संरचनात्मक लाभांशले धेरैले फाइदा लिइरहेका छन् भन्ने ठम्याएपछि आफू यसबारे गम्भीर बन्न थालेको बताउँछन् ।

धेरै मानिस संरचनाकै कारण पिँधमा छन धकेलिएका छन्, सिमान्तकृत छन् । अत्यन्तै थोरै अर्थात, एकाध बाहेक संरचनात्मक लाभांशले पिँधमा पछारेका व्यक्ति माथि उठ्न कठिन छ । संरचनात्मक लाभांश खाइरहेको व्यक्तिलाई यसले संरचनात्मक अन्धता पनि बढाउँछ भन्ने उनको निर्क्यौल छ । 

अहिले पनि धेरै मानिसहरु मानिस हुनका लागि नै संघर्ष गरिरहेका छन् । उनको भनाइ छ, यो समस्याबारे संरचनात्मक लाभांश लिने वर्गका मानिस बोल्न पर्छ । ‘उनीहरु नै बोल्छन् वा समयले परिवर्तन गरिहाल्छ नि भनेर कर्मकाण्डी उत्तर दिएर हुँदैन । यसो भन्ने हो भने हाम्रो दायित्व के हो त ?’ सञ्जीव साहित्यको कुनै वाद वा सिद्धान्त वा चरा हेरेर आनन्द हुने होइन सामाजिक न्यायको प्रश्न सोधिरहेका छन् ।

परिवर्तन कसरी त  ?

तपाईँ एकैछिन आफ्नो सफलतालाई सम्झिनुस् । अनि एकैछिन घोत्लिनुस् । तपाईँलाई उट्पट्याङ पनि लाग्न सक्ने तरिकाले सोच्नुहोस् । तपाईँको सफलतामा कति काम तपाईँको क्षमताले गरेको छ वा यसका पछि कति वैशिष्ट्य कारणहरु छन् ? जसका लागि तपाईँले कुनै दुःख गर्नुपरेन । गर्दै गर्नुपरेन । जन्मनासाथ थपथप पाउनुभयो । अझ थप सोच्नुहोस् तपाईँजस्ता अरु कति मानिसले यस्तो सुविधा पाएनन् ? र बडो निर्मम भएर सोच्नुहोस् उनीहरुले पनि तपाईँ बराबर त्यो सुविधा पाएका भए तपाईँ भएको ठाउँमा आज उनीहरु पो हुन्थे ? हुन सक्थे पक्कै पनि ।

आलोचनात्मक र आत्मालोचनात्मक चेत हुनुपर्‍यो । म अहिलेको अवस्थामा पुग्न मेरो क्षमताले कति र के कस्ता संरचनात्मक लाभांशले के कति सहयोग गरेको  छ भन्नेबारे आत्मालोचनात्मक हिसाबले परख गर्नुपर्छ भन्ने उनको भनाइ छ । ‘म एकदमै गरिब भएको भए, म दलित भएको भए, वा नारी भएको भए, अपाङ्गता भएको व्यक्ति भएको भए कुनै पनि हालतमा अहिलेको अवस्थामा हुने थिइनँ’, उनी ठोकुवा नै गर्छन् । हो त्यही हो संरचनात्मक लाभांश । 

तर आफूलाई यस्तो चेत आउन वर्षौँ लागेको उनी स्वीकार्छन् । ‘म उठ्दै ओछ्यानमा चिया आउँथ्यो । तर मैले कहिले पनि त्यसमा कसैको श्रम परेको होला भनेर सोचिनँ’, उनी भन्छन्, ‘यो मलाई घाम लागेजस्तो वा घाम अस्ताएजस्तो नियमित लाग्यो । तर जब दिमागमा लागेको ढक्कन खुल्दै गयो । म यो अवस्थामा पुगेको मेरै बर्गतले मात्र हो कि मलाई केही विशेष अवस्थाले सहयोग गरेको छ भन्ने निष्कर्षमा पुगेँ त्यसपछि लोकतन्त्र, आलोचनात्मक चेतसँगै संरचनात्मक लाभांशबारे बोल्न थालेको हुँ ।’

यो आत्मलोचनाका लागि कुनै ठूलो दर्शन वा सिद्धान्त पढ्न पर्दैन । केवल आत्मानुभूति गरे पुग्छ । आलोचनात्मक चेत बाहिरको हो भने आत्मालोचनात्मक चेतलाई हेर्नुपर्छ जुन आफैभित्र हुन्छ । संरचनात्मक लाभले अन्धता पनि निम्त्याउँछ । तर त्यसमा आत्मालोचनात्मक हिसाबले हेर्नुपर्‍यो । संरचनाको टुप्पोमा बसेर संसार आफूजस्तै छ भनेर सोचेर भएन नि ।

एउटा सहानुभूतिको कुरा छ, अर्को सह–अनुभूतिको कुरा छ । सहानुभूति होइन सह–अनुभूति हुनुपर्छ । यसले मात्र परिवर्तन हुन जरुरी छ । आत्मबोध गर्नुपर्‍यो । आफैलाई हेर्ने हो भने यो गाह्रो कुरा होइन । तर नहेरुन्जेल त आउँदैन । यो नै यसको कडी हो । यति कुरा बुझे धेरै कुरा मिलिहाल्छ ।

‘संरचनाको टुप्पोमा बसेर संसार आफू जत्तिकै अग्लो छ भनेर सोच्नु भएन नि’, सञ्जीवको निष्कर्ष छ ।

आखिर लोकतन्त्र भन्या त विभेदरहित व्यवस्था न हो ।

सबै तस्बिर - सञ्जीव उप्रेतीकाे फेसबुक पेजबाट

अन्तिम अपडेट: कात्तिक २, २०७६

लक्ष्मण कार्की

उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।  

1 Comments

  • सन्दीप थापा क्षेत्री

    Sept. 28, 2019, 3:42 p.m.

    आफ्नो बाहेक अरु प्राणीको अस्तित्व नस्विकार्ने मानविय आडम्बरप्रती उहाँ खरो उत्रिन सक्नुहोस्, शूभकामना

  •  0 Reply

तपाईको प्रतिक्रिया