कास्की २ मा चुनावको रन्को : उम्मेदवार टुंगो लगाउन सत्तारुढ र प्रतिपक्षीलाई सकस

साझाले मंगलवार उम्मेद्वार घोषणा गर्ने

 कात्तिक ४, २०७६ सोमबार १२:४२:१८ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ – मंसिर १४ गतेका लागि तोकिएको उपचुनावको मिति नजिकिँदै जाँदा दलहरु उम्मेदवार तय गर्ने चटारोमा छन् । एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ३ प्रदेशसभा निर्वाचन क्षेत्रसहित विभिन्न ५२ रिक्त पदपूर्तिका लागि उपचुनाव हुन लागेको हो ।

विभिन्न ५२ रिक्त पदमध्ये कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा भने देशकै ध्यान तानिएको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा  निधन भएसँगै यो क्षेत्र रिक्त छ । अधिकारीले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबाट साझा उम्मेदवार बन्दै चुनाव जित्नुभएको थियो । संसद संख्या यथावत राख्न यो निर्वाचन क्षेत्रमा नेकपालाई फेरि पनि चुनाव जित्नै पर्ने दबाब छ ।  

संघीय संसदका लागि चुनाव हुन लागेको भएर पनि यो क्षेत्रमा सबै दलको ध्यान तानिएको छ । कसलाई चुनावमा उठाउँदा जित हासिल होला भनेर दलहरुले आन्तरिक तयारी गरिरहेका छन् । यो निर्वाचन क्षेत्रमा विशेष गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, साझा पार्टी र समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

क्षेत्र नम्बर २ लाई केन्द्रित गर्दै साझा पार्टीले मंगलबार उम्मेदवार सार्वजनिक गर्दैछ । उम्मेदवार चयनकै लागि साझा पार्टीको केन्द्रीय पदाधिकारी अहिले पोखरामा छन् । केन्द्रीय समितिको बैठक पोखरामै बसेर पत्रकार सम्मेलनमार्फत उम्मेदवार सार्वजनिक गर्ने तयारीमा साझा पार्टी लागेको हो । 

यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि बलियो उम्मेदवार छान्न आन्तरिक तयारीमा जुटेका छन् । सकेसम्म सर्वसम्मत र त्यो हुन नसके बढीमा तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाउन दुवै दलले जिल्लामा पत्राचार गरिसकेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीले यही १० गतेभित्र उम्मेदवारका आकांक्षीको नामावली केन्द्रमा पठाउने गरी विभिन्न छलफल अघि बढाएको छ । यस्तै कांग्रेस पनि आन्तरिक तयारीमा जुटेको छ । 

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न पार्टीका १६ जनाले आकाँक्षा देखिएको कास्की कांग्रेस सभापति कृष्ण केसीले बताउनुभयो । जति जनाले आकांक्षा देखाए पनि चुनावमा एक जना मात्रै उठ्नु पर्ने भएकाले सकेसम्म संवादबाटै एक जनाको नाम टुंगो लगाउने गरी छलफल भइरहेको पनि उहाँले बताउनुभयो ।

आइतबार बसेको क्षेत्रीय समितिको बैठकले भने बहुमतका आधारमा गएको चुनावमा रवीन्द्र अधिकारीसँगै पराजित भएका देवराज चालिसेलाई अगाडि सार्ने निर्णय गरेको छ ।

कांग्रेसको तयारी

प्रमुख प्रतिपक्षी कांग्रेसलाई यो उपचुनाव जित्नै पर्ने दबाब छ । सरकार अधिनायकवाद लाद्न उद्दत रहेको, दण्डहीनता बढेको, महंगी बढेको भन्दै विरोध गर्दै आएको कांग्रेसले यो चुनाव जितेर सरकार देशैभर अलोकप्रिय छ भन्ने देखाउन चुनौती छ । त्यसैले उसले यो निर्वाचन क्षेत्रमा बढी लोकप्रिय रहेका नेतालाई उम्मेदवार बनाएर चुनाव आफ्नो पक्षमा पार्न चाहन्छ । 

उम्मेदवार चयन गर्न नै पाँच पटक भन्दा बढी क्षेत्रीय समितिको बैठक बसिसकेको छ । आइतबार बसेको बैठकमा भने अधिकांशले गएको चुनावमा उम्मेदवार बनेका चालिसेलाई नै फेरि उम्मेदवार बनाउनु पर्ने बताएपछि बहुमतबाट नाम सिफारिस गर्ने निर्णय भएको छ । 

क्षेत्रीय समितिमा रहेका ३९ सदस्यमध्ये ३१ भन्दा बढी चालिसेको पक्षमा रहेकाले उहाँको नाम केन्द्रमा पठाउन बहुमतका आधारमा निर्णय भएको क्षेत्र नम्बर २ (क) का सभापति विजयराज आचार्यले जानकारी दिनुभयो । 

उम्मेदवारका अन्य आकांक्षीहरुले भने सबैको नाम केन्द्रमा पठाउनु पर्ने माग राखेका छन् । तर केन्द्रले बढीमा तीन जनाको मात्रै नाम सिफारिस गर्न भनेकाले बहुमतबाट एकल नाम पठाउने निर्णय भएको आचार्यले बताउनुभयो । उम्मेदवार बन्न १६ जनाले आकांक्षा देखाएको र त्यसमध्ये ५ जनाभने निर्वाचन क्षेत्रभन्दा बाहिरका छन् ।  

क्षेत्र नम्बबर २ का क्षेत्रीय सभापति माधव बास्तोलाले सर्वसम्मत एउटैको नाम पठाए यो क्षेत्रका लागि राम्रो हुने भएकाले बहुमतबाट निर्णय भएको भए पनि दुवै पक्षको निवेदन सहितको सिफारिस जिल्ला कार्यसमितिमा पठाउने निर्णय भएको बताउनुभयो । बहुमत, अल्पमत भन्दा पनि अधिकांशको विचार चालिसेलाई नै उम्मेदवार बनाउनुपर्छ भन्ने रहेको उहाँले बताउनुभयो ।  तर बैठकमा केही साथीहरुले सबै नामावली सिफारिस गर्नु पर्छ भनेर आवाज उठाएकाले दुवै कुरालाई निर्णय गरेर माथिल्लो निकायमा पठाउने उहाँले बताउनुभयो । 

चालिसे गएको चुनावमा स्व.अधिकारीसँग ८ हजार ५ सयभन्दा बढी मतान्तरले पराजित हुनुभएको थियो । अहिले हुन लागेको उपचुनावमा चालिसेसँगै पुराना नेताहरु खेमराज पौडल, महादेव गुरुङ, सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्यले पनि आकांक्षा देखाएका छन् ।

यसबाहेक क्षेत्र नम्बर २ का सभापति माधवप्रसाद बास्तोला, महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्की, वीरेन्द्रनारायण विजुक्छे, क्षेत्र नम्बर २ (क) का सभापति विजय आचार्य, गुरु बराल, केशर निर्दोषी, काँग्रेस कास्की कोषाध्यक्ष लक्ष्मी पाण्डे, महिला नेतृ खेमकुमारी बराल, रंगीला आचार्य, विमला भण्डारी पनि आकांक्षी हुन् । 

पार्टीले उम्मेदवारको नाम टुंगो लगाउनेबारे क्षेत्रलाई नै जिम्मेवारी दिएकाले त्यसमा आफूहरुले सल्लाहमात्रै दिन सक्ने कास्की कांग्रेस सभापति कृष्ण केसीले बताउनुभयो । क्षेत्रले सिफारिस गरेर पठाएको नाम केन्द्रमा पठाइदिने मात्रै आफूहरुको काम रहेकाले त्यहाँबाट सकेसम्म सर्वसम्मत नाम तय हुने आफूले विश्वास लिएको उहाँ बताउनुहुन्छ । क्षेत्रले उम्मेदवारको टुंगो लगाउन नसके उम्मेदवार तोक्ने अधिकार केन्द्रकै रहने केसी बताउनुहुन्छ ।  

क्षेत्रबाट आएको नाम ६/७ गतेभित्र नै केन्द्रमा सिफारिस गर्ने र केन्द्रले त्यही अनुसार उम्मेदवार तय गरेर चुनावमा होमिन निर्देशन दिने उहाँले विश्वास लिनुभयो । सकेसम्म तिहार अघि नै नभए पनि १४/१५ गतेभित्र उम्मेदवारक‍ो नाम तय भइसक्ने केसीले बताउनुभयो । उम्मेदवारको टुंगो नलागे पनि पार्टीले विभिन्न वडा तथा टोलमा गएर प्रशिक्षण गर्ने, संगठन निर्माण गर्ने, भेला तथा सभाको कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो ।

सरकारप्रति नागरिकमा बढेको वितृष्णालाई क्यास गर्न सक्ने गरी आफूहरुले तयारी गरिरहेको र उम्मेदवार चयन हुनासाथ टोलटोलमा पुगेर आफ्ना उम्मेदवारको पक्षमा भोट माग्न सबै परिचालन हुने पनि उहाँले बताउनुभयो । पहिले जस्तो घात अन्तर्घात भन्दा पनि अब जसरी पनि आफ्नो उम्मेदवारलाई विजयी गराउने गरी कांग्रेस अघि बढ्ने समेत केसीले बताउनुभयो ।  

नेकपाले तिहारपछि मात्रै उम्मेदवारकाे टुंगाे लगाउने

सत्तारुढ नेकपालाई अघिल्लो चुनावको साख जोगाउन र सरकार लोकप्रिय छ भन्ने सन्देश दिन ठूलो चुनौती छ । पछिल्लो समय दुई तिहाइको सरकारप्रति नागरिकमा देखिएको वितृष्णालाई कसरी सम्बोधन गर्दै चुनाव जित्ने भन्ने रणनीतिमा अहिले कास्की नेकपा लागेको छ । 

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा आफ्नै पार्टीको दुई तिहाईको सरकार रहेका बेला हुन लागेको उपचुनाव पनि निकै चुनौतीपूर्ण रहेको देख्नुहुन्छ । विकास निर्माणदेखि नागरिकका समस्यामा रहेर पार्टीले काम गरिरहेको भए पनि नागरिकमा सरकारप्रति नकारात्मक भ्रम रहँदा केही चुनौती रहेको उहाँ देख्नुहुन्छ ।  

उपचुनावमा वामदेव गौतम उम्मेदवार बन्ने चर्चा भएको भए पनि उहाँ आफैँले उम्मेदवार नबन्ने भनेर घोषणा गरिसकेकाले अन्य विकल्पमा छलफल भइरहेको उहाँले बताउनुभयो । चुनावमा रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई उम्मेदवार बन्न चाहनुभयो भने सर्वसम्मत निर्णय हुने थापाले बताउनुभयो । 

तर अहिलेसम्म चुनाव लड्ने वा नलड्ने भन्नेबारेमा भट्टराईले कुनै निर्णय गरिसक्नु भएको छैन । पार्टीले उम्मेदवार बनाए पछि नहट्ने प्रतिकृया भने यसअघि नै दिनुभएको थियो । ‘अहिले जसरी पनि नेकपाले नै चुनाव जित्नुपर्छ’, थापाले भन्नुभयो, त्यसैले यहाँ कसले जित्ने सम्भावना छ भनेर लेखाजोखा भइरहेको र जो कार्यकर्तामाझ बलियो देखिन्छ उसैले टिकट पाउँछ ।’  

उपचुनावको उम्मेदवारमा नेकपाभित्र सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ, धनराज आचार्य, राजकाजी गुरुङ ९करण०, श्रीनाथ बराल, शारदा सुवेदी, भीम कार्कीलगायतको चर्चा छ । सबैले रवीन्द्रपत्नी भट्टराईले के गर्छिन् भनेर कुरेर बसेका छन् । रवीन्द्रपत्नी भट्टराई उम्मेदवार भए सर्वसम्मत र उहाँ उम्मेदवार नबने छनौट गर्न सकस हुने अवस्था छ ।  

यही १० गतेभित्र क्षेत्रले नाम सिफारिस गरेर पठाइएका उम्मेदवारको नामावली जिल्लाले केन्द्रमा सिफारिस गरिसक्ने अध्यक्ष थापाले जानकारी दिनुभयो । केन्द्रले बढीमा तीन जनाको मात्रै नाम पठाउन भनेकाले आफूहरुले त्यही अनुसार गृहकार्य गरिरहेको पनि उहाँले बताउनुभयो । आफूहरुले १० गतेभित्र नाम पठाउने र केन्द्रले तिहार पछिसम्ममा उम्मेदवारको टुंगो लगाउने उहाँले विश्वास लिनुभयो । 

उम्मेद्वार छान्न साझा अगाडि

कास्की क्षेत्र नम्वर २ को उपचुनावका लागि साझा पार्टीले सबैभन्दा पहिले उम्मेदवारको टुंगो लगाउने भएको छ । साझाले मंगलबार पत्रकार सम्मेलनमार्फत उम्मेदवार सार्वजनिक गर्ने पार्टीका साझाका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले जानकारी दिनुभयो । 

उम्मेदवार चयनकै लागि साझा पार्टीको केन्द्रीय समिति बैठक पोखरामै बस्दै छ । सोमबार र मंगलबार चल्ने केन्द्रीय समिति बैठकले साझा उम्मेदवार चयन गर्ने र मंगलबार घोषणा गर्ने तयारी भएको भण्डारीले बताउनुभयो । उम्मेदवार चयनकै लागि साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्य तथा सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरु केही दिनदेखि पोखरामै छ ।  

साझा पार्टीबाट यो क्षेत्रमा रजनी केसी सम्भावित उम्मेदवार हुनुहुन्छ । उहाँले आन्तरिक रुपमा शुभेच्छुकसँग भोट माग्नसमेत थालिसक्नु भएको छ । नेपाली कांग्रेस छाडेर साझामा प्रवेस गरेसँगै केसीको यस क्षेत्रमा उम्मेदवार बन्ने चर्चा चल्दै आएको छ । गण्डकी प्रदेश संयोजक भण्डारी, सुशीला केसी लगायतको नाम पनि चर्चामा छ । साझाले यो चुनावलाई मिनी जनमत संग्रहका रुपमा लिएकाले बैठकबाट साझा उम्मेदवार तय गर्दै चुनावमा होमिने भण्डारीले बताउनुभयो ।  

यसअघि पार्टी संयोजक रवीन्दै मिश्र चुनाव उठ्ने चर्चा चलेको भए पनि मिश्रले सम्बन्धित ठाउँकै व्यक्ति उम्मेदवार बन्ने बताइसक्नु भएको छ । साझा पार्टीले प्रचार प्रसार तथा संगठन विस्तार र भेलाहरु अहिले विभिन्न वडाहरुमा चलाइरहेको छ । 

छलफल र भेलाहरुमा धेरै नै सहयोग पाइरहेकाले अहिलेको चुनावमा आफूहरुको जित हुने गण्डकी प्रदेश संयोजक भण्डारी बताउनुहुन्छ । अहिले चुनावी क्याम्पेनहरु नभए पनि समूहगत र व्यक्तिगत भेटघाट भने भइरहेको उहाँले बताउनुभयो । ‘सरकारले राम्रो काम गर्न नसक्दा नागरिक निराश देखिएका छन् भने प्रतिपक्षी दलले पनि पहरेदार गर्न नसक्दा नागरिक निराशमै छन्,’ उहाँले भन्नुभयो, ‘दोहोरो निराशमा रहेका नागरिकलाई उत्साहित बनाउन पनि आफूहरुको जित आवश्यक छ ।’  

अन्य पार्टीले काठमाण्डौमा बसेर यहाँको उम्मेदवार चयन गर्छ तर आफ्नो पार्टी सम्बन्धित ठाउँमै आएर उम्मेदवार चयन गर्ने हुँदा अन्य पार्टीभन्दा फरक रहेको पनि भण्डारी बताउनुहुन्छ । ‘केन्द्रीय समिति नै चयन गर्न सम्बन्धित ठाउँमा पुगेको यो पहिलो घटना हो’, उहाँले भन्नुभयो ।  

समाजवादी पनि उम्मेदवार छनौटको तयारीमा 

डा.बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले पनि यो निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदै छ । उसले पनि सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसभन्दा पहिले नै उम्मेदवार घोषणा गर्ने गरी छलफल अघि बढाएको छ । समाजवादीबाट किरण थापा उम्मेदवार बन्ने सम्भावना देखिएको छ ।

पार्टीभित्र आन्तरिक छलफल चलिरहेको र अबको केही दिनमा नै उम्मेद्वार घोषणा गरिने समाजवादी पार्टी कास्कीले जनाएको छ । थापा यसअघि यही क्षेत्रको प्रदेशसभा (क) मा उम्मेदवार बन्नुभएको र यस क्षेत्रमा उहाँ लोकप्रिय रहेकाले उहाँ नै उम्मेद्वार बन्न सक्ने अवस्था रहेको समाजवादी पार्टी कास्कीका नेताहरु बताउँछन् । उपचुनावका लागि धर्म गुरुङ र रामबहादुर नेपालीको नाम पनि चर्चामा छ । 

क्षेत्र नम्वर २ मा पोखरा लेखनाथ महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडा पर्छन् । यो क्षेत्रमा अघिल्लो चुनावमा १३ जना उम्मेद्वार सहभागी थिए । उपचुनावमा ७१ हजार ८ सय ७१ जनाले मतदान गर्दैछन् । जसमध्ये ३३ हजार १ सय ६ जना पुरुष र १८ हजार ७ सय ६४ जना महिला मतदाता छन् । उपचुनावका लागि यो क्षेत्रमा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया