महिलालाई हुत्याउने डोजर चालक पक्राउ

 कात्तिक ५, २०७६ मंगलबार १२:१९:६ | जयराज अवस्थी
unn.prixa.net

तस्बिर साैजन्य : एभिन्यूज खबर

बैतडी – दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकमा कच्ची सडक निर्माण गर्दा डोजरले महिलालाई हुत्याउने चालक पक्राउ परेका छन् । कच्ची सडक निर्माणका विषयमा गाउँलेहरुबीच विवाद हुँदा निर्माण कार्यमा रहेको डोजरले एक स्थानीय महिलालाई हुत्याएर फालेको थियो ।

सोमबार डोजर चालकले स्थानीय महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले दशरथचन्द नगरपालिका–२ देहीमाण्डौका किशोर बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । अहिले बोहरामाथि अनुसन्धान भइरहेको प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

वडाको सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झडपका क्रममा डोजर चालकले स्थानीय गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक भएको थियो । घाइते जोशीको अहिले धनगढीमा उपचार भइरहेको उहाँका आफन्तले जानकारी दिएका छन् ।

यस्तै, सडक रोक्ने र सडक लैजाने पक्षबीच झडप हुँदा ८ जना घाइते भएका थिए । रोक्ने पक्षका गौरी जोशी र सुरेन्द्र प्रसाद जोशीको धनगढीमा उपचार भइरहेको छ भने सडक निर्माण गर्नुपर्छ भन्ने पक्षका नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका थिए । उनीहरु जिल्ला अस्पातलमा समान्य उपचारपछि घर फर्किएका छन् ।

आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबरजस्ती आफूहरुको जमिनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिनुभयो । यो सडक निर्माण हुने ठाउँमा गुठीको जमिन पर्ने भएकोले यो विषयमा सबै गाउँलेसँग सहमति गरेर मात्र अघि बढ्ने भने पनि निर्माण पक्षले जबरजस्ती गरेको उहाँले बताउनुभयो । उता निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले डोजरमा एक्कासी ढुंगामुढा गरेकोले झडपको स्थिति सिर्जना भएको आरोप लगाउनुभएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • दिप

    Oct. 22, 2019, 1:14 p.m.

    जयराम अवस्थि जीले यो कुरालाई प्रमुखताको साथ उठाउनु पर्यो। गल्ती डोजर चालकको मात्र होइन, डोजर चलान आदेश दिनेहरुको पनि छ। मात्र चालकलाई बलिको बोका बनाउने काम नहोस्, श्रमजीवि चालकको भन्दा बढी गल्ती डोजर ल्यानेको हुन्छ। हर विषयको समाधान संवाद बाट हुनु जरुरी छ, जबर्जस्ती गरेर होइन। रिसमा कसैले बेद पढ्दै जनताले ढुु्ङ्गाामुडा गर्नु स्वभाविक छ। त्यो स्वस्फूर्त निस्किएको जनकदम हो। सम्बन्धि सम्पूर्ण सरोकारवालालाई प्रहरी हिरासतमा लिई अनुसन्धान होस्। जयराम जीहरुले न्यायको पक्षमा बोल्न नडमगाउनुहोस्।

  •  0 Reply

तपाईको प्रतिक्रिया