दुवईमा एक नेपालीले भेट्टाएको झण्डै डेढ करोड रुपैयाँ फिर्ता गरे

 जेठ ९, २०७५ बुधबार १४:२६:१५ | उमाकान्त पाण्डे
unn.prixa.net

उमाकान्त पाण्डे/उज्यालो । 

जेठ ९ – युएईको दुवईमा कार्यरत एक नेपालीले आफूले भेटेको झण्डै डेढ करोड रुपैयाँ फिर्ता गरेका छन् । झापाका मिरन कार्कीले आफूले काम गर्ने ठाउँमा भेटेको एक लाख १८ हजार अमेरिकी डलर अथवा १ करोड २८ लाख रुपैयाँ फिर्ता गर्नुभएको हो । 

युएईको अलसाया कम्पनी अन्तर्गत इमिरेट्स मल अलबर्षा रहेको स्टारबक्स कफी पसलमा कार्यरत कार्कीले आँफैले काम गर्ने ठाउँमा पैसा भेट्टाएर फिर्ता गर्नुभएको हो । 

कार्कीले नगद रकम सहित पर्यटकीय भिसामा आएका प्यालेस्टाइन नागरिकहरुको राहदानी पनि रहेको झोला स्थानीय प्रहरी मार्फत सम्बन्धित व्यक्तिलाई बुझाउनु भएको हो । 

‘काम गर्ने पसलमा सामान भेटेपछि कम्पनीको छुट्टै प्रक्रिया छ । नगद पैसा भएको झोला लिएर मलको सेक्युरिटीमा जाँदा पनि लिन नमानेपछि स्थानीय प्रहरीलाई फोन गरेर आफैंले पैसा र पासपोर्ट बुझाएको हुँ’ कार्कीले उज्यालोसँग भन्नुभयो । 

भेटेको नगद र पासपोर्ट प्रहरीलाई बुझाएका मिरनलाई स्थानीय प्रहरीले मंगलबार सम्मान गरेको छ । स्थानीय प्रहरीलाई सहयोग गरेको भन्दै युएईले  आफ्नो देश आएको पर्यटकको हराएको सामान र पास्पोर्ट भेटाउन मद्दत गरेकोमा इमान्दार नेपाली नागरिकको प्रमाणपत्र पनि दिएको छ । यो सम्मान युएईको राष्ट्रिय पुरस्कार सरहको रहेको स्थानीय प्रहरीले उल्लेख गरेको छ ।  

दुवई पुलिसको अनुसन्धान गर्ने शाखाका सहायक निर्देशक कर्नल मोहम्मद अकिल अहली सहितको टोली कार्कीले का मगर्ने कम्पनीमै पुगेर उहाँलाई सम्मान गरेको हो । 

‘कार्कीले जुन इमान्दारिता देखाउनु भयो यो एउटा इमानी नागरिकको नमुना हो, नेपाली नागरिक बहादुर मात्रै होइन इमानी पनि हुन्छन भनेर देखाउनुभयो भनेर सहायक निर्देशक कर्नल अहलीले भनेको कुरा सम्झिँदा साह्रै खुशी लाग्छ । 

कम्पनीको केन्द्रीय कार्यालय दुवईबाट उहाँलाई धन्यवाद सहित फोन आएको र केन्द्रीय कार्यालय कुवेतबाट सीइओले समेत बधाई दिएको कार्कीले बताउनुभयो । युएई प्रहरीले सम्मान गरेको भिडियो अहिले यहाँ भाइरल भईरहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया