विषय : लभ गर्न पाउँ भन्ने बारे ।

 मंसिर २३, २०७६ सोमबार १४:२६:३५ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

मंसिर, पुसको जाडो । परालको कुन्यूमाथि बसेर निवेदन लेख्ने तरिका घोक्दै थिएँ । विद्यालय जान नपाउँदा अघिल्लो दिन तिरेको एक रुपैयाँले बिदा माग्दा लेखिने निवेदन घोक्नैपर्ने दबाब ममाथि आएको थियो ।

एक रुपैयाँ ठूलो थियो । चकलेट चारवटा आउँथ्यो । डटपेनमा फेर्ने एउटा ‘रिफिल’ किन्न सकिन्थ्यो । त्योभन्दा पनि एक रुपैयाँ पाउन सजिलो थिएन । त्योबेला पैसा कहाँ सजिलै पाइन्थ्यो र ?

घाम डुब्न नपाउँदै मैले निवेदन कण्ठ गरेँ । मैले चराउन लगेका खसीबाख्रा पनि आफ्नासँगै मिसाएर फर्काउँदै गरेका छिमेकीलाई आफूले घोकेको निवेदन सुनाएँ ।

म तीन कक्षामा पढ्थें, छिमेकी दाइ ६ कक्षामा । उहाँलाई पनि निवेदन लेख्न नआउँदो रहेछ । उहाँले केही दिनपछि पारिपट्टिका एक जना दाइको विवाहमा जन्ती जाने दिनको लागि भोलि नै लेखिदिन भने । म दङ्ग परेँ । हिजो एक रुपैयाँ जरिबाना तिर्ने मान्छे आज अरुको  लेखिदिने भएँ । हुन्छ भनेँ ।

बाख्रा धपाउँदै गर्दा दाइले लजाउँदै भने – भाइ एउटा लभलेटर पनि लेखिदेउ न । अब आपत प¥यो । लाजले अनुहार रातो पारेका दाइ अपेक्षाका साथ मेरो अनुहारमा हेरिरहेका थिए । म अक्क न बक्क ।

त्योबेला लभ लेटर लेख्ने चलन विद्यालयमा पसिसकेको रहेछ । माथिल्ला कक्षाका दाजुदिदीको लभका कुरा उनै दाइले सुनाउँथे । म प्राविसम्मको पढाइ हुने विद्यालयमा पढ्थें, त्यहाँ लभको चर्चा हुँदैन थियो । लभलेटर झोलामा राखिदिने, चित्रीको झाङमा लुकेर लभलेटर पढ्ने जस्ता कुरा सुनाउने ती दाइ पनि कसैलाई लभ लेटर लेख्ने दाउमा रहेछन् । नजानेर रोकिएको मनको कुरा मलाई सुनाए ।

अघि गर्वका साथ कक्षा शिक्षकलाई  लेख्ने तरिका सुनाएको मलाई लभलेटर लेख्न जान्दिनँ भन्न मन लागेन । हुन्छ भनिदिएँ । घर पुग्दा अघि  घोकेको खुशीभन्दा लभ लेटर लेख्ने चिन्ताले सताउन थाल्यो । राती अबेरसम्म सोचेँ, तर आइडिया फुरेन ।

मेरै दाइ पनि ६ कक्षामा पढ्थे । दाइसँग सिकाइ माग्न खोजेँ । तर किन भनेर सोध्छन् र घरकाले थाहा पाउँछन् भन्ने चिन्ता थियो । फेरि मेरो दाइ पनि लभलेटर लेख्न खप्पिस होलान् जस्तो लागेन । दाइले कहिल्यै ‘लभसब’को कुरा सुनाएका थिएनन् ।

भोलि चाँडै भयो । छिमेकी दाइ लालीगुराँस कपि र स्टारलाइन डट्पेन बोकेर आइपुगे । जसरी पनि लेख्नुथियो । घट्टेखोलाको किनारमा रहेको चिप्लेटी ढुङ्गामा बसेर जिन्दगीकै पहिलो लभलेटर लेख्न थालेँ । लेख्न त के भनौं, लेखिदिन थालेँ । 


                                     मिति :

श्रीमान् .....ज्यू
चौलाखर्क–३, तादिङ

विषय : लभ गर्न पाउँ भन्ने बारे ।

 

महोदय,
    उपरोक्त सम्बन्धमा मलाई तिमी धेरै मन परेको छ । अस्तिदेखि भन्न मन लागेर पनि भन्न सकेको थिइनँ । तिमी धेरै राम्री छौ । तिमीसँग लभ गर्न मन लागेकोले लभ गर्न पाउँ भनी यो निवेदन  पेश गरेको छु । तिम्रो जो आज्ञा । 


..................
निवेदक

 

लभलेटर तयार भयो । छिमेकी दाइले हस्ताक्षर गरे । कापीको अर्को पाना च्यातेर खाम बनाइयो । खाम बनाउन पनि विद्यालयमै सिकेको । बिदा पाउँ भन्ने पनि खाममै राखेर पठाउनुपथ्र्यो । लभ लेटर खाममा बन्द गरेपछि दाइ दङ्ग । लेख्न जानेकोमा म मख्ख ।

अब कसले लगेर दिने अर्को तनाव । दाइले मलाई लगिदेउ भने । मसँग त्यत्रो हिम्मत कहाँ थियो र ? मभन्दा उमेरले केही सानो छिमेकी भाइलाई पठाउने कुरा भयो । एक रुपैयाँका चारवटा अरेन्जबल चकलेट दिएर दाइले ती भाइलाई लभलेटर केटीको हातमा पुर्‍याउने जिम्मेवारी सुम्पिए ।

भाइले जिम्मेवारी पूरा गरेर आयो । अब जवाफ आउने आशा थियो । उताबाट लभलेटर आएपछि भोलि घट्टेखोलाको चिप्लेढुङ्गामै बसेर पढ्ने भन्दै विद्यालय गइयो । 

विद्यालयबाट फर्कंदा त माहोल अर्कै भएछ । लभलेटर पढेपछि रिसाएकी ती छिमेकी दिदीले लभ लेटर पठाउने दाइलाई थर्काइछन् । ती दाइले मैले लेखिदिएको भनेछन् । मैले पनि दह्रो गाली भेटेँ । मैले लभलेटर लेखिदिएको धेरैलाई थाहा भयो । त्योबेला लभलेटर लेख्नु ठूलै गल्ती गर्नु रहेछ भन्ने थाहा भयो ।

त्यसपछि मेरो हातले लभ लेटर लेख्ने आँट कहिल्यै गरेनन् । कक्षा ९ र १० मा गरेर मेरो नाममा दुईवटा लभ लेटर आएका थिए । पढ्दै च्यातेर फ्याँकिदिएँ । जवाफ फर्काउन त आँट हुनुपर्‍यो नि । आठ वर्षकै उमेरमा लभलेटर लेखेर गाली खाएको म त्यसपछि लभ लेटर भन्ने सुन्नसाथ डराउने भएको थिएँ ।

रेडियोमा काम गर्न थालेपछि एक जनाले लभ लेटर पठाइछन् । तर मलाई नदेखाइकनै घरबेटीकी छोरी र अर्की एक बहिनीले जवाफ लेखेर पठाइदिएछन् । मैले नलेखेको मेरो नामको एउटा लभलेटर दर्ज भयो । कुरा हाँसोमै हरायो ।

लभ लेटरदेखि डराउने रोग लागेको मलाई रेडियोमा पुराना चिठी पढ्ने कार्यक्रम चलाउने भूत चढ्यो । सामुदायिक रेडियो सोलु एफ.एम.मा पुराना चिठी नाम गरेको रेडियो कार्यक्रम सुरु गरेँ । लाहुरेका चिठीदेखि मायापिरतीका धेरै चिठी पढ्दा कार्यक्रम रोचक बन्यो ।

सोलुखुम्बुका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ (गत वर्ष देशभरको सीडीओमध्ये उत्कृष्ट बनेका) र उहाँकी श्रीमतीबीच मायाप्रेम चल्दै गर्दा लेखिएका केही थान लभ लेटर पनि कार्यक्रममा समेटेँ ।

उहाँहरुको लभलेटर पढेपछि चाहिँ मलाई पनि लभलेटर लेखुँ, लेखुँ लागेकै हो । तर ढिला भैसकेको थियो । हुन त त्योबेला मेरो मायाप्रेम पनि झाँगिदै थियो । तर लभ लेटरको ठाउँ फोन र इन्टरनेटले लिइसकेकोले लभ लेटर लेख्ने अवसर जुरेन ।

लभ लेटर लेख्ने धेरै जना प्रेमिलहरुसँग भलाकुसारीचाहिँ रेडियोमा काम गर्दा भयो । साँच्चै रमाइला सन्दर्भहरु थाहा पाएँ । लभलेटर लेख्दा मनमा उत्पन्न हुने भाव, पत्रको पर्खाइ, पत्र आएपछि दोहोर्‍याउँदै पढ्नुको मज्जा, जवाफ फर्काउनुको आनन्द, लुकाएर राख्नुको मज्जा यी सबै लभ लेटरकै कालमा विद्यालय/क्याम्पस बिताएको भए पनि मैले अनुभव गरिनँ । तर कक्षा शिक्षकलाई  लेखेको ढाँचामा मैले लेखिदिएको लभ लेटरले भने धेरै ठाउँमा रमाइलो गराएको छ । 

अन्तिम अपडेट: माघ ११, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • हेरम्बराज बास्ताेला

    Dec. 10, 2019, 2:39 p.m.

    लभ लेटर आज सङ्कटापन्न सम्पत्ति झैँ भा छ , शृङ्गारिक भावात्मक साैन्दर्यकाे त छदै छ यसकाे सिर्जनात्मक क्षमता विकासकाे पाटाे झन महत्त्वपूर्ण छ । कल्पनाशीलता, शव्दभण्डार , अक्षर शुद्धीकरण जस्तो प्रयाेजनका लागि प्रेम पत्रकाे भूमिका निकै ठूलाे हुनसक्ने थियाे ।

  •  0 Reply

तपाईको प्रतिक्रिया