काठमाण्डाैकाे तापक्रम १ डिग्री सेल्सियस मापन

 पुस १०, २०७६ बिहिबार ६:५७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे तापक्रम बिहीबार यो वर्षकै कम भएको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाण्डाैकाे तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ ।

बुधबार २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डाैकाे तापक्रम बिहीबार बिहान झण्डै २ डिग्री कम मापन गरिएको हो ।

बिहीबार बिहान जुम्लाको तापक्रम माइनस ७ डिग्रीमा झरेको छ । गएको १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बिहान डडेलधुराको तापक्रम २ डिग्री, वीरेन्द्रनगरको २ दशमलव ७ डिग्री, ओखलढुङ्गाको तापक्रम ४ डिग्री र ताप्लेजुङको ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शीतलहरको समयमा चिसोको कारण ज्यानै जानसक्ने भएकाले समयमै न्यानो कपडाको जोहो गर्न, शीतलहरको समयमा खुला समयमा धेरै नबस्न, घरबाहिर निस्कनै परे वा धेरै समय बस्नु परे न्यानो कपडा लगाउन, राति सिरक, कम्बल ओढ्न र सुत्दा छाती र टाउको अनिवार्य छोप्न आग्रह गरेको छ ।

यसैगरी शीतलहर चलिरहेका बेला आगो ताप्न र तातो झोलिलो खानेकुरा खान पनि मन्त्रालयले सुझाव दिएको छ । मौसमविद्का अनुसार सामान्यतया २४ घण्टासम्म बाक्लो हुस्सु कुहिरो लागे शीतलहर चलेको मानिन्छ ।

तराईका विभिन्न ठाउँमा बिहान लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटिरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँले तराईमा अझै पनि राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रम अझै घट्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन सबैसँग आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया