मानिसहरु हिंसा गर्छन् भने प्रहरीले त गाेली चलाउँछ नै : भारतीय गृह मन्त्री शाह

 पुस १८, २०७६ शुक्रबार ६:५९:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ– भारतीय गृह मन्त्री अमित शाहले नागरिकता संशोधन कानुनलाई लिएर भएको विरोध प्रदर्शनमा प्रहरीले गरेको कारबाहीको समर्थन गरेका छन् । 

एक टिभी च्यानल एबीपी न्युजसँगको विशेष अन्तर्वार्तामा अमित शाहले भने, ‘जसले प्रश्न गरिरहेका छन्, उनीहरु एक दिन प्रहरीको बर्दी लगाएर उभिउन् । बस किन जलाइयो ? मानिसलाई बाहिर निकालेर गाडीमा किन आगो लगाइयो ? यो कसैले पनि सोध्दैनन् । मानिसहरु हिंसा गर्छन् भने प्रहरीले गोली चलाउँछ नै ।’

प्रहरीले आफ्नो पनि ज्यान जोगाउनु र मानिसको पनि ज्यान जोगाउनु आवश्यक हुने अमित शाहले बताए । ‘कोही बस किन जल्यो भनेर सोधिरहेका छन् ? बस न चलेको भए लाठी प्रहार हुने थिएन ।’

कैयौँ राज्यमा भएको हिंसामा पिपुल्स फ्रन्ट अफ् इण्डिया (पीएफआई) माथि लागेको आरोप सम्बन्धमा उनले भने, ‘कोही राजनेताले यो सबै गरिरहेका छैनन्, यो राज्य प्रहरीको प्रतिवेदन हो ।’

पीएफआईमाथि प्रतिबन्ध लगाएको सम्बन्धमा उनले भने, ‘गृह मन्त्री भएको नाताले कसैमाथि प्रतिबन्ध लगाउनुअघि म केही पनि भन्दिन ।’

भारतीय जनता पार्टी (बीजेपी) शासित राज्यमा नै किन धेरै हिंसा भइरहेको छ ? भन्ने प्रश्नमा अमितले भने, ‘कांग्रेस शासित राज्यमा किन हिंसा भइरहेको छैन ?

मलाई यसबारेमा बताउनुस् । यो प्रश्न पनि त सोध्नुपर्छ । जनतालाई थाहा छ, हिंसा कसले गरिरहेको छ । जहाँ कांग्रेसको सरकार छ, त्यहाँ किन हिंसा भएन ? नागरिकता संशोधन कानुनले गर्दा अल्पसङ्ख्यकले नागरिकता गुमाउँछन् भनेर गलत सूचना प्रवाह गरिएको छ । नागरिकता संशोधन कानुनमा अल्पसङ्ख्यकले नागरिकता गुमाउँछन् भनेर कहाँ भनिएको छ ? यसको उत्तर विपक्षीले दिनुपर्छ ।’

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया