जेएनयू आक्रमण : छात्र सङ्घकी अध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा दर्ता

 पुस २२, २०७६ मंगलबार १२:५९:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा गएको आइतबार साँझ भएको प्रदर्शनले हिंसाको रुप लिएको विषयमा प्रहरीले जेएनयू छात्र सङ्घकी अध्यक्ष आईशी घोषसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । 

गएको जनवरी ४ तारिखका दिन जेएनयूको सर्भर कक्षमा ताडफोड र सुरक्षा गार्डमाथि आक्रमण गरेको आरोपमा घोषसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

जेएनयू प्रशासनको गुनासोलाई लिएर छात्र सङ्घकी अध्यक्ष आईशी घोष र अन्य छात्रविरुद्ध दिल्ली प्रहरीले मुद्दा दर्ता गरेको हो । यी सबै छात्रमाथि गएको जनवरी ४ तारिखका दिन सर्भर कक्षमा तोडफोड गरेको त्यहाँ रहेका सुरक्षा गार्डमाथि कुटपिट गरेको आरोप छ । 

जेएनयू प्रशासनले गएको जनवरी ५ तारिखमा गुनासो व्यक्त गरेको थियो र त्यसपछि मुद्दा दर्ता भएको हो । 

जेएनयूमा गएको आइतबार साँझ भएको आक्रमणमा गम्भीर घाइते भएकी छात्र सङ्घकी अध्यक्षलाई १६ वटा टाँका लगाइएको थियो । घटनामा ३६ जना घाइते भएका थिए । 

छात्र सङ्घकी अध्यक्षले आइतबार साँझ भएको आक्रमण सुनियोजित र आरएसएससँग जोडिएका केही प्राध्यापकले हिंसालाई बढावा दिएको बताएकी छिन् । 

छात्र सङ्घका उपाध्यक्ष साकेत मूनले प्रहरीमाथि आरोप लगाउँदै आक्रमण हुनुभन्दा दुई घण्टाअघि नै सूचित गरिएको भए पनि कुनै सहयोग प्राप्त नगरेको बताए । साथै उनले आरएसएससँग जोडिएका केही प्राध्यापकले हिंसा भड्काएको आरोप लगाए । 

आईशी घोषले जेएनयूका कुलपति एम. जगदीश कुमारलाई हिंसाको जिम्मेवार ठहराउँदै पदबाट राजीनामा दिन माग गरेकी छिन् । 

आइतबार तोडफोड र हिंसा भएपछि साबरमती होस्टेलका वार्डनले राजीनामा दिएका थिए । 

गएको आइतबार साँझ नकाब लगाएका आक्रमणकारीको आक्रमणबाट ३० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए । घाइते हुनेहरुमा छात्र र शिक्षक पनि थिए । हातमा फलामे रड, हक्की र ढुङ्गा लिएर पुगेका आक्रमणकारीहरुले छात्रहरुलाई निकै निर्मम तरिकाले पिटेका थिए । 

जेएनयू छात्र सङ्घले यो आक्रमण अखिल भारतीय विद्यार्थी परिषद् (एबीवीपी) का व्यक्तिहरुले गरेको आरोप लगाएको छ । गएको शनिबार पनि जेएनयू परिसरमा ढुङ्गा प्रहार भएको खबर सार्वजनिक भएको थियो । 

यसअघि जेएनयूमा आइतबार साँझ भएको हिंसापछि दिल्ली प्रहरीले नचिनेका व्यक्तिविरुद्ध आक्रमण गर्ने र सम्पत्ति नष्ट गर्ने धाराका अनुसार मुद्दा दर्ता गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया