सभामुखका लागि उप–सभामुखले दावी गर्नु स्वाभाविक हाे : नेकपा प्रवक्ता श्रेष्ठ

 पुस २९, २०७६ मंगलबार १९:२०:३४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले रिक्त सभामुख पद पार्टीको पक्षमा राख्न उप–सभामुखलाई राजीनामा दिन अनुरोध गरिएको बताउनुभएको छ ।

प्रेस संगठन नेपाल, लमजुङ शाखाले मंगलबार बेसीशहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

‘हाम्रो पार्टी देशको, संसदको सबैभन्दा ठूलो पार्टी हो । पार्टीले रिक्त सभामुख पदमा आफ्नो दावी गर्नु र त्यो सभामुख पद हासिल गर्नु स्वाभाविक हो,’ उहाँले भन्नुभयो, ‘संविधानको मर्मअनुसार सभामुख पद हाम्रो पार्टीको पक्षमा राख्नका लागि उप–सभामुखलाई राजीनामा दिन अनुरोध गरिएको हो ।’

यसैगरी, प्रवक्ता श्रेष्ठले सभामुख पदका लागि उप–सभामुखले पनि दावी गर्नु स्वाभाविक रहेको बताउनुभयो ।

‘हाम्रो पार्टीका प्रतिनिधि सभाका कुनै पनि सदस्यले सभामुख पदमा दावी गर्न सक्छन् । अहिलेको उप–सभामुखले पनि दावी गर्ने हक राख्नुहुन्छ र स्वाभाविक पनि हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर उप–सभामुखले राजीनामा नदिँदासम्म सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाकै अन्त्य हुन्छ । सभामुख उहाँ नै बन्ने हो भने पनि त्यो सभामुख हाम्रो पार्टीले पाउन सक्ने बाटो त पहिला तयार हुनुपर्यो । त्यसको मार्गप्रशस्त हुनुपर्यो नि !’

अर्को प्रसंगमा, उहाँले एमसीसीको विषयमा सचिवालको बैठकमा छलफल गरेर राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर, वस्तुवादी भएर आवश्यक निर्णय लिइने उल्लेख गर्नुभयो ।

‘एमसीसीको बारेमा पार्टीको स्थायी कमिटी सचिवालयले यसबारेमा छलफल गरेर आवश्यक निर्णय गर्नेछ भन्ने निर्देशन दिएको छ । त्यसैअनुसार हामी सचिवालयको बैठकमा छलफल गरेर राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राख्दै, वस्तुवादी हुँदै आवश्यक निर्णय लिनेछौँ ।’

प्रेस संगठन नेपाल, लमजुङ शाखाका अध्यक्ष रुद्रहरि ढकालको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका प्रमुख सचेतक एवं गण्डकी प्रदेश सभा सदस्य मायानाथ अधिकारी, नेकपा लमजुङकी अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य मधुमाया अधिकारी, राष्ट्रिय सभाका सदस्य उम्मेदवार भगवती न्यौपानेलगायतको उपस्थिति रहेकाे थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया