लमजुङको गाइखुरे झरनामा पुग्दा...

 साउन ७, २०७५ सोमबार ११:१२:४९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – उचाइबाट झरेको चिसो पानी, आडैमा मध्यमर्स्याङ्दीको बाँधस्थल, मनै भुलाउने मनोरम अनि शान्त वातावरण । लमजुङको गाइखुरे झरनामा पुग्दा एकैसाथ यी विशेषता हेर्न र रम्न पाइन्छ ।

डुम्रे–बेसीशहर सडकखण्डको छेउमै पर्ने बेसीशहर नगरपालिकाको उदिपुरमा रहेको गाइखुरे झरनामा रम्नेको अहिले भिड देख्न सकिन्छ । पौडी खेल्न र नुहाउन मात्र होइन साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ, गाइखुरे झरना । 

चिसो बताससंगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्ने रहर यहाँ पुग्ने सबैलाई हुन्छ । बेलाबेलामा यो झरनामा ‘क्यानोनिङ’ समेत सञ्चालन हुने गरेको छ ।

पहाडको खोँचबाट झरेको झरनाको चिसो पानीमा खेल्न पाउँदा निकै खुशी भएको भोटेओडारका सुजित खनालले बताउनुभयो । फेरिपनि झरना हेर्न र रमाउन आउने उहाँको भनाई छ । सडक छेउमै भएकाले गाडी वा मोटरसाइकल रोकेर पनि झरनामा एकैछिन भएपनि रमाउनेहरु धेरै हुने गरेका छन् ।

प्रेम जोडीका लागि विशेष  

गाइखुरे झरना प्रेमीप्रेमिकाका लागि आकर्षक गन्तब्य बनेको त्यहाँ पुग्ने जोकोहीले देख्न सक्छ । आफ्ना मायालुको हात समातेर झरना हेर्न अनि झरनासहितको तस्बिर खिच्न प्रेमील जोडीहरु व्यस्त भइरहेका भेटिन्छन् । 

प्रेमी जोडीसंगै झरनामा विवाहित जोडी पनि धेरै पुग्ने गरेका छन् । श्रीमती र छोरालाई लिएर भरना हेर्न पुगेका खत्रीठाँटीका राजकुमार श्रेष्ठले परिवारसँगै घुम्दा धेरै नै आनन्द आएको बताउनुभयो । शनिबार र बिदाको दिन झरना हेर्नेको भिड बढी लाग्ने गर्छ ।  

बर्खामा टनाटन, हिउँदमा सुनसान 

वर्षायाममा झरना हेर्न र रमाउन पुग्नेहरुको भिड लाग्छ । तर, हिउँदमा भने झरना सुनसान जस्तै हुन्छ । किनभने हिउँदमा झरनामा पानी हुँदैन । तर, नजिकै बगेको मस्र्याङ्दिको पानीलाई मोटरले तानेर झरनाबाट झार्न सके बाह्रै महिना पर्यटकलाई झरनासम्म तान्न सकिने झरनामा पुग्नेहरु बताउँछन् । 

लमजुङ उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष राजेश थापा मस्र्याङ्दीको पानीलाई मोटरमार्फत तानेर झरनामा झारेर यो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन सकिने बताउनुहुन्छ । यस्तै, झरना भएको ठाउँमा खाजा खाने र सुस्ताउने ठाउँ समेत छैन । जसले गर्दा त्यहाँ पुग्नेहरुलाई समस्या छ ।

आम्दानीको सम्भावना 

यसो गर्न सके बाह्रै महिना झरनासम्म आउनेहरुको संख्या बढाउन सकिन्छ ।  लमजुङ उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष थापा निश्चित मापदण्ड बनाएर शुल्क लिनेगरी झरनाको व्यवस्थापनको जिम्मा नीजि क्षेत्रलाई दिनसके करोडौँ आम्दानी गर्न सकिने बताउनुहुन्छ ।

लमजुङमा गाइखुरे झरनामा मात्र नभएर बाह्रै महिना ‘क्यानोनिङ’ गर्न सकिने झरनाहरु पनि छन् । लमजुङको उत्तरी क्षेत्रमा पर्ने राइदु, घोप्टे, च्याम्चे, छहरे, र तातोपानी खोलामा क्यानोनिङको सम्भावना छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया