‘अलङ्कारबाट सुरु भएको संगीत अहङ्कारमा पुगेर समाप्त हुन्छ’

 माघ २५, २०७६ शनिबार १३:४६:१७ | दिलिप कुमार ज्याेति
unn.prixa.net

काठमाण्डौ – ‘नेपाली संगीत अन्तर्राष्ट्रिय स्तरमा नपुग्नुको प्रमुख कारण नेपाली अर्केष्ट्राको विकास नभएर हो । हाम्रो लोक संगीतलगायत समग्र संगीतलाई अर्केष्ट्रा फर्ममा ढालेर त्यसलाई उपयुक्त ढंगले प्रस्तुत गर्न सक्यौं भने त्यसको बेग्लै महत्व हुनेछ ।

हामी हामीमा मात्र सीमित भयौं । हाम्रो संगीतको कुनै दस्तावेज नै भएन । तिमीहरुलाई यो कुरा सिकाउन मलाई एकदमै इच्छा छ । तिमीहरुले जानेको गायन आफ्नो ठाउँमा छँदैछ । तर तिमीहरुले त्योसँगै कुनै एउटा बाजा बजाउन चाहिँ सिक्नुपर्छ है ।

त्यसले तिमीहरुको गायनलाई निखार्नुको साथै नेपाली संगीतलाई ठूलो योगदान पुग्नेछ,’ नेपाली संगीतका नक्षत्र, राष्ट्र गानका संगीत सर्जक र प्रत्यक्ष/अप्रत्यक्ष रुपमा अनगिन्ती संगीतकर्मीका आदरणीय गुरु अम्बर गुरुङको गुरुमन्त्र हो, उहाँका चेलाहरुलाई । 

गुरुको आज्ञालाई शिरोपर गरेर निरन्तर संगीत साधनामा व्यस्त थोरै शिष्यमध्ये सुरजकुमार थापा अग्रपंक्तिमा पर्नुहुन्छ । ५० को दशकमा संगीतको आधारभूत सिद्घान्त सिके पनि यसको गहिराइलाई अझै नाप्न गायक शिशिर योगीको सल्लाहमा सुरज र शिशिरले अमर गुरुङको शिष्यत्व रोज्नुभयो । 

संगीतमा शोख हुँदैमा जोकोहीलाई अम्बरले शिष्यको रुपमा ग्रहण गर्नुहुन्न थियो । लामो प्रतीक्षा, धैर्य र संगीत साधनाप्रतिको गहिरो लगाव र संगीत संस्कारमा खरो उत्रिएपछि मात्र अम्बरले शिष्यको रुपमा स्वीकार गर्नुहुन्थ्यो । 

२०÷२५ जना गरेर दुई समूह थियो संगीत सिक्ने । एउटा समूहमा सुरज हुनुहुन्थ्यो, अर्को समूहमा शिशिर । सिकाइ कर्म चलिरहेको थियो । वर्ष दिन नबित्दै दुुवै समूहमा संगीत सिक्नेको संख्या घट्दै गयो । 

एक वर्ष बित्दा दुवै समूहमा केवल दुईजना शिष्य बाँकी रहे – सुरज र शिशिर । थोरै बोल्ने तर चोटिलो बोल्ने अम्बरले पनि एक दिन भनिदिनुभयो, ‘अब तिमीहरु पनि अर्कै गुरु खोज ।’ एक अर्काको मुख हेर्दै गुरुआज्ञा शिरोपर गर्नुबाहेक अरु केही विकल्प थिएन दुईजनासँग । 

सृष्टिमा सबैभन्दा सरल रुपमा भाव प्रवाह गर्ने यदि कुनै साधन छ भने त्यो संगीत हो । विज्ञानले पनि पुष्टि गरिसक्यो हृदयको भाषा शब्दमाभन्दा संगीतमा प्रकट गर्न धेरै सजिलो हुन्छ । बाहिरी स्वभाव कठोर देखिने अम्बर आखिर संगीतका पुजारी न पर्नुभयो । 

सुक्ष्म रुपमा त उहाँ साक्षात् सरस्वतीका बरदपुत्र न पर्नुभयो । आफूले लिएको परीक्षामा यी दुई शिष्य खरो उत्रिएपछि उहाँ पग्लिनुभयो र भन्नुभयो, ‘ल, भोलिदेखि तिमीहरु दुईजनाको मात्र ग्रुप भयो । म कहाँ सिक्न आउनू ।’ 

अम्बर भौतिक रुपमा हामीमाझ हुनुहुन्न । तर आफ्ना शिष्यहरुमाझ उहाँले छोडेर जानुभएका यस्ता कैयौं किस्सा र सयौं गीतसंगीतका मूर्छनाहरुले नेपाली संगीतमा नित्य नवीनता प्रदान गरिरहेका छन् अहिले । 

सुरजका मुखारबिन्दबाट अम्बरको अमरगाथा सुन्दा लाग्छ, अम्बरका प्रत्येक शिष्य बहुआयामिक छन् । उनीहरुले सिकेका छन्, टिकेका छन् र बिकेका पनि छन् । उनीहरुबाटै एकदिन अवश्य अर्को अम्बर जन्मिने छन् ।

गुरुको इच्छा अनुरुप नै सुरज अम्बरकै अग्रज चेला राजकुमार श्रेष्ठ (नारायण गोपाल संगीत कोषका प्रशिक्षकसँग ‘‘वेस्टर्न म्युजिकमा भायोलिन” सिक्न पुग्नुभयो र ‘सेलेक्टेड स्टुडेण्ट्स’मा पर्न सफल हुनुभयो । 

‘एकपटक पलेटी श्रृङ्खलाका सञ्चालक तथा श्रद्घेय गायक आभाष फूयाँल दाइले आफ्नो पहिलो प्रोजेक्ट ‘पलापला’ म्युजिक नेपालमा ‘लाइभ रेकर्ड’ गर्ने क्रममा म पनि ‘भायोलेनिस्ट’को रुपमा त्यो प्रोजेक्टमा थिएँ । त्यो रेकर्ड नेपथ्यका आदरणीय दाइ अमृत गुरुङले पनि हेरिराख्नुभएको थियो ।

 त्यतिखेर नेपथ्यका धेरै पुराना साथीहरु विदेश पलायन भएर केही साथीहरुमात्र रहेको हुनाले नयाँ तर राम्रा साथीहरुको खोजीमा दाई हुनुहुँदोरहेछ । त्यो क्रममा दाइले मलाई देख्नुभयो र प्रस्ताव राख्नुभयो’ नेपथ्यमा आफू जोडिएको प्रसंग सुनाउँदै सुरजले भन्नुभयो ।

कुनै एउटा बाजा राम्रोसँग बजाउन जान्यो भने अन्य बाजा बजाउन धेरै सहज हुन्छ । नेपालमा त्यस्ता थोरै संगीकर्मी छन् जो व्यवसायिक रुपमा २/३ वटा बाजा बजाउन सक्छन् । 

जसमा सुुरज पनि पर्नुहुन्छ । अग्रज कलाकारहरुको विभिन्न कार्यक्रममा सुरज ‘किबोर्ड’ पनि बजाउनुहुन्थ्यो । राजकुमार श्रेष्ठ र आभाषमार्फत् सुरजले ‘किबोर्ड’ पनि बजानुहुन्छ भन्ने भन्ने थाहा पाएपछि अन्ततः अमृतले सुुरजलाई ‘किबोर्डिस्ट’ रुपमा नेपथ्यमा भित्र्याउनुभयो । 

सुरजको संगीत यात्रा गायनबाट सुरु भएको थियो र आज पनि उहाँ गायक नै हुनुहुन्छ । गायक सधैं अग्रभागमा रहेर आफ्नो प्रस्तुति दिन्छन् तर नेपथ्यका कन्सर्टहरुमा उहाँ ‘किबोर्ड’को साथमा अग्रभागमा देखिनुहुन्न । अग्रभागमा अमृत रहनुहुन्छ । 

गायन नै सर्वश्रेष्ठ ठान्ने र अरु विधालाई सामान्य मान्ने अहिलेको पुुस्ताका लागि सुरज एक दरिला उदाहरण हुनुहुन्छ जो आफू गायक हुँदाहुँदै पनि बाद्यवादकको रुपमा आफूलाई  सहजै रुपान्तरण गर्न सक्नुभएको छ ।

गायन, बादन र संगीत संगीतको त्रिवेणी भए पनि संगीतको सैद्घान्तिक र व्यवहारिक दुवै पक्षबाट गायनलाई विशेष प्राथमिकतामा राखिएको छ । सुरज ती थोरै बहुआयामिक सांगीतिक व्यक्तित्वमा पर्नुहुन्छ जो यो त्रिवेणीलाई सहज रुपमा आफूमा समाहित गरेर प्रवाहित हुन सक्छन् ।

‘बाल्यकालमा गायक बन्ने इच्छा थियो । गायनबाटै मेरो संगीत यात्रा सुरु भयो । तथापि सिक्ने क्रममा संगीतका अरु विधाहरुमा पनि समावेश हुँदै गइयो । तर पनि म आफूलाई गायन र संगीत सिक्दै गरेको एक विद्यार्थी भन्न रुचाउँछु’ शालीन मुद्रामा सुरज विद्यार्थीझैं संगीतप्रतिको आफ्नो लगाव र प्रेम झल्काउनुहुन्छ।

तोतेबोली बोल्दादेखि नै गीत गाउन थाल्नुभएको सुरज लजालु स्वभावका कारण आफ्नो घरभित्र गीत गाउन अप्ठ्यारो मान्नुहुन्थ्यो । उहाँको बुबालाई नृत्य मन पथ्र्यो । उहाँ र उहाँको दिदीलाई बुबाले सँगै नाच्न लगाउनुहुन्थ्यो र नाच्न प्रेरित पनि गर्नुहुन्थ्यो । 

सुरज अलि अलि नाच्नु पनि हुन्थ्यो । सात कक्षा पढ्दै गर्दा एकदिन अङ्ग्रेजी पढाउने शिक्षक दिनेश सुब्बा (गायक तथा संगीतकार) ले उहाँलाई उभ्याएर ‘तिमी त गायिकाको छोरा, स्वर पनि राम्रो होला । ल, एउटा गीत गाऊ त’ भनेपछि उहाँले गीत गाउनुभयो । 

‘ल, स्वर राम्रो रहेछ । तिमी त राम्रो गाउन सक्छौ,’ दिनेश सर र साथीभाइ सबैले भनेपछि त्यही वर्ष सुरजले अन्तरमाध्यामिक विद्यालय गायन प्रतियोगितामा नारायण गोपालको ‘वीरताको चिनो वीरको सन्तान’ गाएर प्रथम हुनुभयो । यो सफलताले सुरजलाई गायनमा विशेष रुचि जगायो  । 

२०४६ सालमा कक्षा आठमा पढ्दै गर्दा मामा तथा उहाँको संगीतको पहिलो गुरु रत्न बेहोशीको संगीतमा बेहोशीको छोरा र सुरजको युगल स्वरमा ‘भाग र गुणा, जोड र घटाउ’ बोलको पहिलो बालगीत रेडियो नेपालमा रेकर्ड भयो । 

कक्षा दशको पढाइ पूरा गरेपछि अर्जुन सापकोटाको शब्द र मानसिंह थुलुङ्गको संगीतमा ‘म त डुबिसकेको छु’ बोलको गीतमा सुरजले स्वर परीक्षा पास गर्नुभयो । सुरजले भैरवनाथ रिमालका शब्द र भूपेन्द्र रायमाझीको संगीतमा ‘बाटो हेर्छु आस बोकी’ बोलको गीत पहिलो पटक रेकर्ड गरेसँगै रत्न बहादुर खड्गी र कुमारलाल श्रेष्ठ हँुदै २०५० सालदेखि अम्बर गुरुङसँग औपचारिक रुपमा संगीत शिक्षा लिन थाल्नुभयो ।

सुरजको पारिवारिक पृष्ठभूमि पनि संगीत नै हो । आमा तीर्थकुमारी थापा स्वयं गायन क्षेत्रकै हुँदा र उहाँले पाउनुभएको प्रसिद्घि एवं नेपाली संगीतलाई दिनुभएको योगदानलाई हेर्दा त्यो किसिमको उपलब्धी आफूले हासिल गर्न सक्छु कि सक्दिनँ भन्ने प्रश्न आफ्नो मनमा उठ्ने गरेको सुरजले बताउनुहुन्छ । 

‘मेरो कुरा उठ्नेबित्तिकै आमाको प्रसंग पनि जोडिने हुनाले केही चुनौती त थपिन्छ नै । तर आमाको विधा लोक र मेरो विधा सुगम भएकोले केही हदसम्म राहत नै ठान्छु । फेरि हाम्रो नेपथ्य सांगीतिक समूहले लोक–रक संगीतलाई नै विशेष प्राथमिकता दिने हुँदा लोकसंगीतलाई नजिकबाट बुझ्न र आमाको यात्रालाई केही हदसम्म न्याय गरेको छु जस्तो लाग्छ ।’ 

संगीतलाई विरासतकै रुपमा लिएका सुरजले आफ्नो जन्मको किस्सा सुनाउँदै भन्नुहुन्छ, ‘आमाले भन्नु भएअनुसार म जन्मिएको अघिल्लो दिन उहाँ अस्पतालमा भर्ना हुँदाहुँदै पनि एउटा कार्यक्रममा गएर गीत गाउनु भएको थियो रे । कार्यक्रम सकेरे आएकै रात म जन्मिएँ । गर्भबाटै संगीत सुन्ने शौभाग्य चाहिँ पाएँ भन्ने ठान्छु  म ।’

बाल्यकालमा छुट्टीको समयमा आमाले आफूसँगै रेडियो नेपाल लैजानुहुन्थ्यो । ‘लाइभ रेकर्डिङ’को समय थियो त्यो । गीत रेकर्ड गर्दा सुरज पनि त्यही रहनुहुन्थ्यो । कुनै वाद्यवादकले गल्ती गरे फेरि सबैले गाउने बजाउने गर्नुपथ्र्यो । 

गीत दोहोरिरहँदा सुरजलाई त्यो गीत कण्ठस्थ भैसक्थ्यो । ‘कहिलेकाहीँ त एउटै गीत कति दोहोराइरहेको भनेर झर्को  लाग्थ्यो मलाई’ विगत सम्झिँदै सुरज भन्नुहुन्छ । 
सुरज आफूलाई भाग्यमानी कलाकारको रुपमा व्याख्या गर्नुहुन्छ । पलेटी श्रृङ्खलाको अभिन्न अङ्गको रुपमा सुरजले लामो समय बिताउनु भएको छ ।

 अम्बर गुरुङ, प्रेमध्वज प्रधान ,फत्तेमान राजभण्डारी, शान्ति ठटाललगायतका अग्रज स्रष्टासँग महिनौंसम्म सँगै बसेर पलेटीमा उहाँहरुले गाउने गीतको स्वरलिपी लेखेको समयलाई आफ्नो संगीतिक जीवनको स्वर्ण युग मान्नुहुन्छ उहाँले । 

गायन, वादन र संगीतमा समानान्तर रुपमा अघि बढिरहनुभएको सुरजलाई कुन विधा सहज लाग्छ भनेर सोध्दा उहाँ भन्नुहुन्छ, ‘सहज त कुनै पनि विधा हुँदैन तर कला भन्ने क्षेत्रमा जोकोही पनि आफ्नो स्वेच्छाले आउने हो । कलामा जबरजस्ती चल्दैन ।  रुचि र इच्छाएको विधामा साधना गर्दा आनन्द आउँछ । भित्री मनदेखि नै संगीतमा गहिरो लगाव छ भने कुनै पनि विधा गाह्रो हुँदैन । 

अहिले संगीत व्यक्तिवादी भएको छ । गायनलाई सर्वस्व ठान्ने परिपाटीले प्रविधि प्रयोग गरेर भए पनि सबैलाई गायक बन्ने भूूत चढेको छ । प्रविधि र पैसाको बलले र आर्थिक लोलुपताका कारण बेसुराहरुको जमात नै बन्न लागेको छ अहिलेको संगीत बजार । 

‘अलङ्कारबाट सुरु भएको संगीत अहङ्कारमा पुगेर समाप्त हुन्छ’ सुरजको यो भनाइसँग नेपाली संगीत बजारको अवस्था मिल्दोजुल्दो छ । तर सुरज त्यस्तो कलाकार हुुनुहुन्छ जो एउटा गीत रेकर्डिङ गर्दा त्यसको बिटमा छिकछिक बजाउने वाद्यवादकलाई पनि उत्तिकै सम्मान र श्रद्घाले हेर्नुहुन्छ जति त्यो गीतको गायकलाई । 

अहिलेको संगीत उद्योगलाई संकेत गर्दै सुरज भन्नुहुन्छ, ‘गीतको मिक्सिङदेखि रियालिटी शोसम्म  अटो ट्युन (सुर मिलाउने सफ्टवयर) को प्रयोग बढ्दो छ । संगीत बुझेका मान्छेभन्दा गीतसंगीतलाई व्यवसायको रुपमा प्रयोग गर्नेहरुको दबदबा बढेको छ तर यो प्रवृत्ति धेरै समयसम्म टिक्दैन ।’


 

अन्तिम अपडेट: फागुन ११, २०७६

दिलिप कुमार ज्याेति

ज्याेति कला मनाेरञ्जनमा कलम चलाउनुहुन्छ ।  

 

तपाईको प्रतिक्रिया