चीनबाट ल्याइएका १ सय ७५ नेपालीकाे रगत र खकारकाे नमुना सङ्कलन हुँदै

 फागुन ४, २०७६ आइतबार १२:२७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चीनबाट ल्याइएका एक सय ७५ जना नेपालीको रगत र खकारको नमुना सङ्कलन भइरहेको छ ।

कोरोनाको सङ्क्रमण भए नभएको जाँच गर्नको लागि अहिले नमुना सङ्कलन भइरहेको हो । सङ्कलन गरिएको नमुना टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने सरकारको तयारी छ । क्वारेन्टाइनमा राखिएकाहरुको नमुना नियमित परीक्षण गर्ने जनाइएको छ ।

चीनबाट विशेष विमानमा आइतबार बिहान ३ बजेर ३५ मिनेटमा त्रिभुवन विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्य सामान्य पाइएपछि खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको हो ।

क्वारेन्टाइन लैजानुअघि त्रिभुवन विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । नेपाल फर्कन आवेदन दिएका एक सय ८५ जनामध्ये ६ जनालाई ज्वरो आएको पाइएको र चार जनाले नेपाल फर्कन अस्वीकार गरेका कारण उनीहरु १० जनाबाहेक अन्यलाई नेपाल ल्याइएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

एक सय ७० जना विद्यार्थीसहित दुई जना बालबालिका, दुई जना पर्यटक र एक जना कामदार नेपाल ल्याइएको हो । उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुई पटक स्वास्थ्य परीक्षण गरिएको थियो । नेपाल ल्याइएका एक सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित चालक दलका सदस्य चिकित्सकलगायतलाई १४ दिन डाक्टरको निगरानीमा राखिनेछ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भए वा नभएको टुङ्गो लगाउन १४ दिन डाक्टरको निगरानीमा राख्नैपर्ने नियम बनाएको छ । चालक दलका सदस्य र चिकित्सक गरी १७ जनालाई नगरकोटको खानेपानी कार्यालयमा बनाइएको अर्को क्वारेण्टाइनमा राखिएको छ ।

चीनबाट ल्याइएका नागरिक कोरोना प्रभावित नभएको र उनीहरुलाई निगरानीमा राख्नुपर्ने नियमअनुसार क्वारेण्टाइन बनाएर राखिएको र कुनै समस्या देखिए तत्काल उपचारका लागि अस्पताल लगिने भएकाले खरिपाटी र नगरकोट तथा त्यस आसपासका नगारिक आत्तिन नपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया