घरेलु हिंसा र समाजको व्यवहारले विदेसिन बाध्य महिला

 साउन १०, २०७५ बिहिबार १३:५०:३३

सुमित्रा चौधरी । 

विदेश जानेको आलोचना गर्नेहरु भन्छन् उनीहरु भइरहेको भन्दा राम्रो अवसर खोजेर विदेश गएका हुन् । यहाँ सम्भावना खोज्न नसकेर विदेसिन्छन भन्नेहरुका बिचमा बाध्यताले विदेसिनेहरु पनि धेरै छन् । त्यस्तै मध्येकी एक हुनुहुन्छ नवलपरासीकी कान्ता अर्याल । 

कान्ताले माइला छोरा जन्माएको ५ महिना नहुँदै श्रीमानले सौता ल्याए । कान्छी ल्याएपछि श्रीमान माया बाँडियो । माया मात्रै बाँडिएको भए सायद सहन्थिन होला कान्ताले तर माया गर्न छोडेका श्रीमानले उहाँमाथि कुटपिट गर्न थाले । कुटाइ र यातना खप्न नसकेकी कान्ता दुई छोरालाई लिएर केही समय त गोठमा पनि बस्नुभयो । 

श्रीमानले हेर्न छोडेपनि कान्ताले छोरालाई ११ र ९ वर्षको बनाउनुभयो । त्यसपछि भने छोराहरुको आवश्यकता पुरा गर्न र भविष्य नबिग्रियोस भन्ने सोचेर कुवेत जानुभयो । कुवेतमा उहाँका ९ वर्ष बिते । 

एकातिर श्रीमानले दिएको यातना, अर्कोतिर बालख छोराहरुलाई छोडेर हिँड्दाको बाध्यता एक वर्षसम्म यिनै कुराले मन आत्तिरह्यो । ‘त्यसैले पनि होला एक वर्षसम्म त म बिरामी पनि भइरहेँ’ कान्ता भन्नुहुन्छ । 

९ वर्षमा कान्ताले पैसा त कमाउनुभयो । तर छोराहरुको पिरले उति नै सताउँथ्यो । उता मायालाई पिर यता छोराहरुलाई आमाको न्यास्रो । त्यसैले कान्ताका जेठा छोरामा पनि मानसिक समस्या देखियो । 

श्रीमानले छोडेको अहिले २१ वर्ष भयो । तर त्यसपछि पाएका दुःख र गरेका संघर्षले उहाँलाई जीवन जिउन सिकाएको छ । निमा नेपाली वर्ष ४७ की हुनुभयो । निमाका विगत पल्टाउँदा कल्पना गरेर लेखिएको कथा जस्तै लाग्छ । निमाको नाम पछाडि नेपाली लेखिनुको पनि कथा छ । 

बाबुआमाले मारे पाप पाले पुण्य भनेर पठाएका श्रीमानले पुण्य कमाउन सकेनन् । उनले रक्सी खाएर दिनरात गरेको कुटपिटले जन्मिएका छोराछोरी बचाउन सक्नुभएन निमाले । ‘पेटमा बच्चा हुँदा खाएको कुटाइले गर्दा नै उनीहरु बाँचेनन्’ निमाका आँखा भरिए । हिंसा सहन नसकेर निमा माइत गएको केही समयमा उहाँका श्रीमानको मृत्यु भयो । 

न श्रीमान न छोराछोरी । एक्लो भएकी निमाले गाउँमा बुवा बितेका अनि आमाले छोडेर गएपछि बेसाहारा बनेका बालकलाई साहारा दिनुभयो । माइतमा बसेर त्यो बालकलाई उहाँले ७ वर्षको बनाउनुभयो । 

बेसाहाराको आमा बनेर सहारा दिएकी निमासँग आफ्नो परिचय चाहिँ थिएन । त्यतिञ्जेल उहाँको नागरिकता थिएन । त्यसका लागि उहाँले गाउँका रामबहादुर नेपालीलाई श्रीमान बनाएर नागरिकता बनाउनुभयो । 

‘उसँग बिहे गरेको होइन तर त्यही नागरिकताका लागि उसलाई मैले श्रीमान हो भनेर नागरिकता बनाएँ’ निमाले सुनाउनुभयो । त्यसले निमाको तत्कालको समस्या त समाधान भएको थियो । तर पछि समाजले त्यही कुरालाई लिएर निमालाई तनाव दियो । 

समाजको त्यही व्यवहारले निमालाई कुवेत पुर्‍यायो । ११ वर्ष विदेशमा बिताउँदा भोगेको पीडाको चाङ छ निमासँग । त्यो पीडा छिचोल्दै निमा घर फर्किनुभयो । ११ वर्षमा फर्किंदा गाउँ धेरै फेरिइसकेको थियो । तर सोच भने पुरानै । जसले निमालाई तनाव दिइरहन्थ्यो । 

उनीहरुका पीडा सुन्ने कोही थिएनन् । तर मनोसामाजिक परामर्शकर्ताहरु उनीहरु जस्तै समस्यामा परेका महिलाहरुका समस्या समाधान गर्न घरघरमै पुगेपछि उनीहरु आफ्नो घरमा मल्हम लगाए जस्तै भएको बताउँछन् । 

‘आफ्ना पीडा सुनाउन पाउँदा पनि आधा समस्या त सकिए जस्तै लाग्दो रैछ’ कान्ता भन्नुहुन्छ । यस्तै पीडा थियो तुलसा थापाको पनि । उहाँ कुवेत गएर फर्किनुभएको हो । उहाँलाई घरको परिस्थितीले विदेशको बाटो रोज्नुभयो । तुलसा बेहुली भएर घर आएपछि मात्रै श्रीमानको जेठी श्रीमती भएको थाहा पाउनुभयो । छोरी जन्मिइन् । 

आफू सौता भएको थाहा पाउँदा तुलसाको मन रोएको थियो तर केही समयमै श्रीमानले दिएको यातना उहाँको ज्यान सहन सकेन । त्यही पीडाले उहाँलाई विदेशको बाटो देखायो । उहाँ कुवेत जानुभयो । ‘कुवेतमा पाएको दुःख सम्झिँदा त अहिले पनि ज्यानका रौं ठाडा हुन्छ’ तुलसाले भन्नुभयो । विदेशबाट फर्किएपछि उहाँ छुट्टिएर बस्नुभयो । अहिले १५ वर्ष पुगेकी छोरीको भविष्यको चिन्ताले उहाँलाई सताउँथ्यो । 

मनोसामाजिक परामर्शकर्तासँग भेटेपछि भने उहाँमा आँट बढेको छ । तुलसाले अहिले चटपट र किराना पसल सुरु गर्नुभएको छ । ‘अब छोरीको भविष्यको त चिन्ता भएन नि’ तुलसाले भन्नुभयो ‘जीवन जिउन सकिन्छ भन्ने आँट आएको छ ।’ 

उनीहरुसँग वैदेशिक रोजगारको कारण महिला माथि हुने घरेलु हिसां र यसबाट बच्ने उपायबारे जानकारी गराइएको मनोसामाजिक परामर्शकताको भनाई छ । त्यस्तै विगतका कुरा बिर्सिएर सकारात्मक सोचका साथ काम गर्न दिएइएको सुझावले उनीहरुमा परिवर्तन आएको हो । 

अन्तिम अपडेट: असोज २८, २०७५

तपाईको प्रतिक्रिया