मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

 चैत १, २०७६ शनिबार ९:३९:४५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गर्नुभएको हो । भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेमा गरेको कामहरु मुख्यमन्त्री राईलाई जानकारी गराउनु भएको थियो । त्यस्तै राजदूत कोडीले संघीयता नेपालको लागि अवसर भएको बताउनु भयो । संघीयता लागू भएको देशहरुमा पनि यसको कार्यान्वयनमा समय लागेको उहाँको धारणा थियो ।

संघीयता कार्यान्वयन, कर्मचारी समायोजन लगायतका विषयमा राजदूत कोडीले जिज्ञासा राख्नुभएको थियो । उहाँले प्रदेश १ सरकारले गरेका कामहरुको प्रशंसा गर्नुका साथै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताउनुभयो ।

भेटवार्तामा मुख्यमन्त्री राईले नेपालले संघीयता पहिलो पटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताउनुभयो । नेपाल विविधताले भरिएको देश हो, हामीले अवलम्बन गरेको संघीयता मौलिकतामा आधारित छ, मुख्यमन्त्री राईले भन्नुभयो ।

प्रदेश संरचना नयाँ रहको बताउँदै मुख्यमन्त्री राईले शून्य संरचनाबाट सुरु भएर यो दुई वर्षमा महत्वपूर्ण आधारहरु तयार भएको जानकारी गराउनुभयो ।

‘हाम्रा लागि यो दुई वर्ष निकै महत्वपूर्ण वर्ष रहे, मुख्यमन्त्री राईले भन्नुभयो कानुन निर्माण र आवश्यक संरचनाहरु तयार भएका छन् ।’ प्रदेश तहमा जनशक्ति अभाव रहेको बताउँदै मुख्यमन्त्री राईले प्रदेश लोकसेवा आयोग गठन भएकोले समस्या समाधान हुने बताउनुभयो ।

जनताका असिमित चाहना र सीमित स्रोतकाबीच काम गरिरहेको मुख्यमन्त्री राईले बताउनुभयो । प्रदेश सरकारले पञ्चवर्षीय आवधिक योजना, १० बर्षे सडक गुरुयोजना सार्वजनिक गरिसकेको भेटवार्ताका क्रममा बताउनुभयो ।

मुख्यमन्त्री राईले साना सिँचाइ, सहरी विकास, पर्यटनको गुरुयोजना बनिरहेको बताउँदै चिफ मिनिस्टर ड्यास बोर्डको काम भइरहेको बताउनुभयो ।  रुपान्तरणकारी योजनाहरुको सूची बनाउँदै लगानी सम्मेलन गर्न प्रदेश सरकारले तयारी गरिरहेको मुख्यमन्त्री राईले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया