अब ६० वर्षमाथिका र गम्भीर अवस्थाका बिरामीको पनि कोरोना परीक्षण

 चैत ११, २०७६ मंगलबार २१:१७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले कोरोना भाइरस परीक्षणको दायरा बढाएको छ । सरकारले थप व्यक्तिको परीक्षणका लागि आवश्यक व्यवस्था समेत गरिएको बताएको छ । 

यसअघि विदेशबाट आएका तथा उनीहरुको सम्पर्कमा रहेकाहरुको मात्रै कोरोना परीक्षण गर्दै आएकोमा अब ६० वर्षमाथिका वृद्धवृद्धा तथा गम्भीर अवस्थाका अरु बिरामीको पनि कोरोना परीक्षण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । 

अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र परीक्षण गर्ने व्यवस्था रहे पनि अब तत्कालै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पनि उपकरण थप गरी कोरोनाको जाँच गर्ने तयारी गरिएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । 

यस्तै सरकारले अस्पतालहरुलाई नियमित जाँच र शल्यक्रिया दुई हप्तासम्म नगर्न निर्देशन दिएको छ । अस्पतालमा भिड कम गर्नको लागि र सम्भावित सङ्क्रमणलाई ध्यान दिएर तत्कालका लागि नियमित सेवा बन्द गर्न निर्देशन दिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । 

यस्तै सरकारले नेपालमा कोरोना सङ्क्रमण बढेमा नियन्त्रणमा लिन कठिन रहेको भन्दै अहिले नै रोक्नको लागि सबैको साथ आवश्यक रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले कोरोनाको सङ्क्रमण नियन्त्रण गर्न घरबाट बाहिर ननिस्कनु बुद्धिमानी रहेकाले सबैले यसलाई पालना गर्ने विश्वास सरकारले लिएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया