‘कामना गर्छु, मलाई केही नहोस्’

 चैत १६, २०७६ आइतबार २०:५५:४१ | मेरो कथा मेरो भोगाई

मीनराज विश्वकर्मा/अर्घाखाँची, हाल मलेसिया ।

विश्वभरि महामारीको रुप लिइरहेको कोरोना सङ्क्रमणको सम्भावित भयबाट बच्न पुरै विश्व एकजुट भएको छ ।

धेरैजसो देश लकडाउनमा छन् । मेरो देश र म बसेको देश पनि यही अवस्थामा छन् । न म मेरो देश फर्किन सक्छु, न त आफू रहेको देशमा नै खुलेर जिउन सकिरहेको छु । यो लेखिरहँदा मेरो देश नेपालमा ५ जनालाई कोरोना सङ्क्रमण भएको खबर छ । यता मलेसियामा पनि दुई हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने २७ जनाले यसै कारण ज्यान गुमाइसकेका छन् ।

म यहाँ आरामै छु । सम्भावित भयबाट बच्न बुद्धि विवेकले भ्याएसम्म उच्च सावधानी अपनाएकै छु, बाहिर हिँड्न पटक्कै पाइँदैन । अत्यावश्यक समानहरु किन्न त जान पाइन्छ, तर बाहिर जान मनै लाग्दैन । अथवा डर लाग्छ भनौँ । डर नलागोस् पनि कसरी ? दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या डढेलो जसरी फैलिरहेको छ । खाने कुराहरु अर्डर गरेपछि आउँछ, त्यसैले काम चलाइरहेको छु ।

परिवार र देशको महत्व विदेश हुँदा झन बढी बुझिन्छ । अझ आपतविपत पर्दा त सबैभन्दा बढी भरोसा लाग्ने र अभाव महसुस हुने भनेको परिवार र देशको नै हो ।
यहाँ त बाध्यताले आएको न हो, मन त सधैं उतै हुन्छ । देशमा केही नहोस भन्ने कामना सधैं गरिन्छ ।

मलेसियामा मार्च १८ देखि ३१ सम्म तोकेको लकडाउनको अवधि फेरि दुई हप्ता थपेर अप्रिल १४ सम्म बढाएको छ । मलेसियामा आफ्नै होस्टेल भएका केही कम्पनीहरु छिटफुट चलिरहेकै छन् । हाम्रो पनि अवस्था त्यस्तै छ । त्रास र भयकाबीच काम गरिहेका छौँ ।

सरकारको दबाबमा कम्पनीले काम खासै नगरे पनि एकदमै बन्द पनि गरेको छैन । मलेसियाका नागरिकलाई अथवा यो ठाउँका स्थानीयलाई काम गर्न पुरै बन्द गरिदिएको छ । तर हामी विदेशीहरुलाई भने कम्पनीले काम गर्न अनुरोध गरेको छ ।

अर्को कुरा लकडाउनको अवधिमा कम्पनीहरुले भनेअनुसार काम नगरे न्युनतम तलब नदिने हल्ला चलेसँगै काम गर्नु बाध्यता जस्तै भएको छ । तर मार्च ३१ सम्म काम चले पनि अप्रिल १ देखि चाहिँ कम्पनी ठप्प हुने देखिन्छ ।

यस अवधिमा कोठामै बस्ने र घरपरिवार, आफन्तसँग सक्दो सामिप्यता बढाउने, लेख–रचना पढ्ने, चलचित्र हेर्ने र आफूलाई सक्दो चलायमान बनाउने सोचिरहेको छु । मलाई केही नहोस् भनेर मनमनै कामना गरिरहेको छु ।
 

अन्तिम अपडेट: जेठ २०, २०७७

तपाईको प्रतिक्रिया