सुधारगृहका जाँगरिला महिला : बत्ती कातेर आम्दानी

 साउन १२, २०७५ शनिवार ७:३४:१८ | कुमार रञ्जित
unn.prixa.net

चारैतिर अग्ला–अग्ला भवनका बीचमा छ, काठमाडौंको सबैभन्दा पुरानो जेल । जेल, अर्थात् कारागार, बन्दीगृह, गोलघर आदि विभिन्न नामबाट चिनिने एउटा “कोलोनी” जस्तै छ भोटेबहाल र त्रिपुरेश्वरबीचको “जगन्नाथ देवल” पनि भन्ने गरिएको स्थान वरपरको वातावरण । राणाकालमा बनेको, पञ्चायती व्यवस्थाकालमा अधिकांश राजबन्दीहरुलाई थुनेको र लोकतन्त्र–गणतन्त्रले मर्मत पनि गर्न नसकेको नेपालभित्रको नेपाली थुन्ने छुट्टै संसार हो त्यो । 

जेल, बन्दीगृह वा कारागार भन्ने जमाना रहेन अब । यी सबै “तानाशाही युग” का शब्दावली हुन् भनेर बुझ्न थालिएको छ । अहिले त जताततै “सुधार गृह” को जमाना छ । मानिस जतिसुकै खराब काम गरेका अपराधी किन नठरिउन्, सुध्रिने मौका दिइनु पर्दछ भन्ने नै विश्व मानव अधिकारको व्याख्या भित्र परेको छ, र त्यही अभ्यास नेपालमा पनि  कार्यान्वयनमा छ । 

देशमा महिला अधिकारका पक्षमा भेल उर्लिरहेको छ । श्रमजीवि र महिलाका नयाँ–नयाँ कानूनी व्याख्या आइरहेका छन् । यस्तोमा एक महिलाको न्यूनतम पारिश्रमिक कति हुनुपर्दछ भनेर वहस चल्दै गर्दा “केन्द्रीय महिला सुधारगृह” का बन्दी महिलाहरु भने औसतमा दिनको २० रुपैयाँ कमाई गरिरहेका छन् ।

राजधानी काठमाडौंका महानगर प्रमुखको कार्यालय पछाडि भोटेबहालमा रहेको महिला सुधारगृहमा झण्डै तीनसय बन्दीहरु छन् । ती मध्ये एक तिहाइ जतिले दिनमा फूर्सदको समयमा कपासमा औंला खियाउँदै खरानीको सहयोगमा मसिना–मसिना नेपाल भाषामा इताः भनिने (बत्ती) काट्ने गर्छन् । 

चारैतिर दुईतले पुराना घर छन्, बीचमा पिपल चौतारी । श्रमप्रति समर्पित महिलाहरु यत्रतत्र बसेर बत्ती काटिरहेका छन् । केही स–साना बच्चा–बच्चीहरु आफ्ना आमाहरुका वरिपरी खेलिरहेका छन् । 

प्रतिकिलो ४ सय ५० रुपियाँमा आउने एक किलो कपासबाट ३० हजार बत्ती उत्पादन गर्ने उनीहरु बताउँछन् । एकदिनको ५ सय जति बत्ती कात्छन् भने दुई दिनमा एक हजार बत्ती तयार हुन्छ । एक हजार कपासको बत्ती बापत उनीहरुले ४० रुपैयाँ पाउँछन् । यसरी २ महिनामा १२ सय रुपैयाँ प्राप्त गर्छन् बन्दी महिलाहरुले ।

महिला सुधारगृहमा ३३ जना त विदेशी नै छन् । विभिन्न समयमा विभिन्न अपराध गरेर पुगेका विदेशीमा सबैभन्दा बढी सजाय पाएका थाइल्याण्डकी ४७ वर्षीया पारिता रातानाम छिन् । १३ वर्ष बन्दी जीवन बिताएर नेपाली लेख्न र बोल्न राम्रै सिकिसकेकी पारिता २ वर्षपछि रिहा हुनेछिन् । अत्यन्तै प्रशन्न मुद्रामा आफ्नो नाम नेपालीमा लेख्दै उनले मुक्त भएपछि राम्रो काम गर्ने इच्छा प्रकट गरिन् ।

विगत १४ महिनादेखि प्रत्येक महिनाको पहिलो शनिबार एक बौद्ध धर्मावलम्बीको समूह बन्दीहरुलाई बौद्ध शिक्षा प्रवचनमार्फत् प्रदान गर्न पुग्ने गरेको छ । उनीहरु त्यहाँ झण्डै डेढ घण्टा बिताउँछन् र फर्किने गरेका छन् । आयोजक बौद्ध शिक्षा तथा सामाजिक विकास केन्द्र नेपालका महासचिव विजयरत्न तुलाधर यस समूहका संयोजक हुनुहुन्छ । उहाँको अनुभवमा केन्द्रीय कारागार र भद्र बन्दीगृहका पुरुष बन्दीहरुका तुलनामा महिला बन्दीहरु कमै मात्र सुन्नमा रुची राख्दछन् । त्यसो हुनुमा महिला बन्दीहरु आफ्नै काममा बढी व्यस्त हुने र अन्य कुरामा रुची राख्न नचाहने प्रमुख कारण भएको अनुमान गरिएको छ ।  

अघिल्लो हप्ता पनि भिक्षुणी सदाचारीको नेतृत्वमा टोली महिला सुधारगृह पुग्दा पनि प्रवचन सुन्न रुचाउने कमै दखिए । कम मध्येबाट पनि केही श्रद्धावान् देखिए, जसले आफ्नो क्षमता अनुसार दान दिन रुचाए । सदाचारी गुरुमां सम्बोधन गर्दै हुनुहुन्थ्यो– “संसार नै एउटा जेल जस्तै हो, हामी कैद भुक्तान गर्न सजाय भोगिरहेका छौं । बरु तपाईहरुलाई त्यति तनाव छैन, यो जेलको पर्खाल बाहिर बस्नेहरु त्यति तनावमा बाँचिरहेका छन् ।”

यसो भन्दा मुसुक्क हाँसेर आपसमा मुखामुख गरेका महिला बन्दीहरुलाई पनि पक्कै थाहा छ, कि जेलभन्दा बाहिर “स्वतन्त्र” छु भन्नेहरुले उनीहरुको श्रम परेको सस्तो कपासे बत्ति महंगो मूल्य तिरेर मन्दिर र गुम्बाहरुमा बाल्दै भगवानसित सुखी जीवन र समृद्धिको बरदान मागिरहेका छन् । 
 

अन्तिम अपडेट: भदौ १४, २०७५

कुमार रञ्जित

तपाईको प्रतिक्रिया