क्वरेन्टीनमा रहेका व्यक्तिको अनुमगन गर्न मोबाइल एप

 चैत २४, २०७६ सोमबार १७:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सङ्क्रमणको सम्भावना भइ क्वरेन्टीनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खबर हुने मोबाइल एप सञ्चालनमा आएको छ । 

सरकारले क्वन्टीनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खवर दिने विशेषता सहितको कोभिड-१९ साथी एप सञ्चालनमा आएको हो ।

 एपको जियो फेन्सिङ तथा अनुहार पहिचान प्रणाली भएको एपमा क्वरेन्टीनमा रहने व्यक्तिको फोटो र फोन नम्बरको माध्यमबाट अनुगमन गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीरकण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो ।

‘होम क्वरेन्टीन’ वा सार्वजनिक क्वरेन्टीनमा राखेका व्यक्ति सीमित दायराबाट बाहिर गएमा तत्काल जिल्ला आपतकालीन केन्द्र, प्रहरी तथा अन्य आपतकालीन निकायमा ‘अलर्ट’ बज्ने उहाँले बताउनुभयो ।

एपले कुनै पनि व्यक्ति आफ्नो स्थानमा बसेको छ, छैन, आफ्नो घरमा बसेको छ, छैन भनेर अनगमन गर्नेछ । क्वरेन्टीनमा आपतकालिन अवस्थामा टेलिफोन सञ्चार नचलेमा पनि एपको आन्तरिक सन्देश प्रणालीबाट सम्बन्धित निकायसँग तुरुन्त सम्पर्क गर्न सक्ने फिचर सामवेश गरिएको छ । 

यस्तै उनीहरुको दैनिक स्वास्थ्य स्थिति ज्वरोको विवरण राखेर सम्बन्धित निकायमा त्यसको जानकारी पुर्याउने विशेषता पनि एपमा समावेश गरिएको छ ।  मोबाइल एपको मद्दतबाट अनियन्त्रित तवरले सङ्क्रमण फैलिने अवस्था रोख्न, कुन ठाउँमा कति मानिसहरुलाई ज्वरो आएको छ भन्ने कुराको लेखाजोखा गर्न र क्वरेन्टीनको अवधिमा यथाशीघ्र सेवा सहयोग पुर्याउन सहयोग गर्नेछ ।

गृहमन्त्री रामबहादुर थापाले विपद विरुद्ध विजय प्राप्त गर्न मोबाइल एपबाट गरिने अनुगमनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कोभिड-१९ साथी एपले कोरोनाका लागि मात्रै नभएर भविस्यमा सूचना केन्द्रीत गर्न पनि भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

यसैगरी कोरोना भाइरस (कोभिड-१९) को तथ्याङ्क तथा सूचनाहरु सबै प्रदेश, जिल्ला र स्थानीय तहले हेर्न सक्ने गरी वेबसाइट पनि सञ्चालनमा आएको छ ।एकीकृत तथा भू–सान्दर्भिक राष्ट्रिय कोभिड-१९ ले सूचना प्रणालीको माध्यमले सूचना तथा तथ्याङ्कको दैनिक संकलन, विश्लेषण, भण्डारण र सम्प्रेषण गर्नेछ ।

वेब साइटको माध्यमबाट स्थलमार्थ तथा हवाईमार्गबाट आएका व्यक्तिहरुको विवरण, सामुदायिक क्वरेन्टीनमा वा आफ्नै घरमा क्वरेन्टीनमा बसेकाहरुको विवरण, उनीहरुको स्वास्थ्य अवस्था, आइसोलेसनमा भएका व्यक्तिहरुको विवरण, प्रत्येक जिल्लाबाट संकलन गरिएका स्वाब आदिको नेपाल भरीको जानकारी एकै ठाउँबाट प्राप्त गर्न सकिने छ । 

कोभिड-१९ डट एनडीआरआरएमए डट जिओभी डट एन पी  https://covid19.ndrrma.gov.np/ को माध्यमबाट कोभिड-१९ को जोखिममा रहेका समुदायको पहिचान गरी समुदाय केन्द्रीत विपद् प्रतिकार्य योजना बनाउन र कार्यान्वयन गर्न मद्दत गर्नेछ । 

भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको सूचना आफैँले क्राउड सोर्स प्रविधिबाट आफैँ राख्न सकिने विशेषता पनि रहेको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०७७

तपाईको प्रतिक्रिया