कोरोना महामारी र लम्बिएको 'लकडाउन'ले जुराएका अवसरहरु

 चैत २६, २०७६ बुधबार ९:३१:३२ | सरोज गिरी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणले विश्वव्यापी महामारीको रुप लिए पनि सबै देश समान रुपले पीडित छैनन् । चीन सङ्क्रमणसँग लड्दै लडाइँको अन्तिम अवस्थामा पुगेको छ । दक्षिण कोरिया केही हदमा तङ्ग्रिएको छ । उत्तर कोरियाले आफ्नोमा सङ्क्रमण शून्य रहेको घोषणा गरेको छ भने अमेरिका र युरोपले महामारीसँग युद्ध स्तरमा लडिरहेका छन् । 

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा आजसम्म ९ जना सङ्क्रमित भएका छन् । जसमा ८ जना देशबाहिरबाट आएका र एक जना स्थानीय सङ्क्रमित छन् । स्थानीय सङ्क्रमणसँगै नेपाल सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । प्रकोप थोरै हुँदाहुँदै पनि नेपाल अहिले ‘लकडाउन’मा छ र यो अझै केही दिन लम्बिने सम्भावना छ । नेपाल र नेपालजस्तै विकासोन्मुख देशका लागि यसको रोकथाम विधि नै जोखिम न्यूनीकरण गर्ने प्रमुख बाटो हो । कोरोना सङ्क्रमणले विश्व र नेपालका विभिन्न क्षेत्रमा ठूलाठूला चुनौती थपिदै जानेछन् र कतिसम्म क्षति गर्छ त्यो समयले बिस्तारै बताउने छ ।  

तर कोरोना भाइरस जसरी वैज्ञानिक, चिकित्सक र सुरक्षाविद्हरुका लागि चुनौतीसँगै अवसर लिएर आएको छ त्यसरी नै सामाजिक परिवर्तन र सुधारको लागि यो ठूलो अवसर बनेर आएको छ । सामुदायिक रुपमा कोरोनाले केही अभूतपूर्व सकारात्मक अवसर पनि ल्याएको छ । 

कोरोना भाइरसले न्यून प्रभावित समाजमा ल्याएका अवसरहरुः 

१) आवश्यकता र स्रोतको पहिचान

विकासोन्मुख धेरै देशले उपभोक्तावादी समाज निर्माण गर्दैछन् । उपभोक्तावादी समाजमा स्रोत र साधनको अधिक र अनावश्यक प्रयोग भइरहेको हुन्छ । कोरोना सङ्क्रमणसँगै भएको ‘लकडाउन’ले सबैलाई सीमित स्रोत साधानमा जीविकोपार्जन गर्न बाध्यता पारेको छ । यो बाध्यताले हामीलाई सरल जीवन बाँच्न वास्तविक आवश्यकताहरु के के हुन् ? यी आवश्यकतासँग सम्बन्धित स्रोत कुन कुन रहेछन् र सीमित स्रोतले जीवन कसरी सरल बन्दोरहेछ भन्ने पाठ सिक्ने र सिकाउने अवसर दिएको छ । सँगसँगै केही स्रोत आफ्नै सेरोफेरोमा भएर पनि पहिचान नभएका र आफैँले केही स्रोत कसरी सिर्जना गर्न सकिन्छ भन्ने ज्ञान आर्जन गर्ने अवसर पनि प्रदान गरेको छ ।  

२) अनौपचारिक शिक्षाको समय  

हुन त औपचारिक शिक्षासँग  अनौपचारिक शिक्षाको तुलना नहुन सक्छ । अहिले कति अभिभावक, शैक्षिक संस्था र विश्वविद्यालयले औपचारिक कक्षा अनलाइनमार्फत् सञ्चालन गर्ने तयारी गर्दैछन् र केहीले गरिसके । तर विश्वव्यापी महामारीमा हामीजस्तो न्यून प्रभावित तथा सामूहिक र सांस्कृतिक भावनाले जोडिएको देशमा औपचारिक शिक्षा गराइहाल्नु पर्छ भन्ने कुरा उचित होइन । यो अवस्थामा हरेक व्यक्तिमा अब के हुन्छ भन्ने डर हुन्छ । त्यसैले यस्तो मनोवैज्ञानिक अवस्थाको कारणले गर्दा यो औपचारिक शिक्षा दिने र लिने समय होइन । 

दिने त तयार होला तर लिने मानिसमा लिन सक्ने मनोविज्ञान तयार भइसकेको हुँदैन । त्यसैले यो समयमा अनौपचारिक शिक्षा एकदमै फलदायी हुन्छ । विशेषगरी जीवन उपयोगी सीपहरु र आफ्नो चासो वा इच्छाअनुसारका सिपहरु सिक्ने यो एकदमै राम्रो अवसर हो । औपचारिक शिक्षाबाट लिन नसकिएका धेरै ज्ञान अनौपचारिक शिक्षा प्रणालीबाट प्राप्त गर्न सकिन्छ । 

३) भूमिका अनुभूतिको अवसर  

हामीले विभिन्न कारणले घरभित्रका सदस्यको भूमिका बुझ्न सकिरहेका हुँदैनौं या बुझाउन चाहेका हुँदैनौं । त्यसैले यो समय भूमिका अनुभूति गर्ने र गराउने स्वर्णिम अवसर हो । ‘लकडाउन’मा घरमा सँगै बसेका सदस्यहरुको हरेक दिन भूमिका फेरिदिने र हरेक साँझ त्यसको बारेमा मूल्याङ्कन र अनुभव साटासाट गर्न लगाउनुपर्छ । पहिलो, यसले एकअर्काको भूमिका अनुभूति गराउँछ र हरेकको भूमिकाप्रति सम्मान उजागर गर्दछ । यसले परिवारका सदस्यहरुबीचको सम्बन्ध दीर्घकालीन पनि बनाउन मद्दत गर्दछ । 

दोस्रो, यसले भोलि आउन सक्ने र निभाउनुपर्ने भूमिकाबारे दोस्रो पुस्ता अभ्यस्त हुन्छ र उनीहरुको जीवन सहज हुन सक्छ । दोस्रो अर्थात नयाँ पुस्ताले केही अति आवश्यक सीपजस्तै भान्साको काम, घर सञ्चालनको लागि बजेट बनाउने काम, सरसफाई गर्ने काम र महत्त्वसहित बुझ्ने अवसर प्राप्त गर्दछ । 

४) सीप र ज्ञान हस्तान्तरण 

यस्तो खाली समय शताब्दीमा एकाध पटक आउने हो । नेपालका हरेक  समुदायका आआफ्नै सांस्कृतिक, परम्परागत र धार्मिक जीवन उपयोगी सीप र कला छन् । समय अभावको बहानाले होस्, विश्वव्यापीकरणको नाममा होस्, आधुनिकीकरणको नाममा होस् या औपचारिक शिक्षा मात्रको महत्त्वको नाममा होस हाम्रो अघिल्लो पुस्ताले आफूसँग भएका ती सीप र कला नयाँ पुस्तालाई सिकाएन वा दोस्रो पुस्ताले सिक्न चाहेन । तर यो शून्य समय ती जीवन उपयोगी कला र सीप हस्तान्तरण गर्ने र गराउने अवसर लिएर आएको छ ।  

५) जटिलताबाट सरलतातर्फ

जन्मेदेखि नै मानव जीवन जटिल होइन, सरल छ । तर अनावश्यक प्रतिस्पर्धा, रिस, डाह, क्रोध, भ्रम, उत्तेजना र लोभजस्ता कुरा सिर्जित गराएर मानिसले यसलाई जटिल बनाउँदै लगेको छ । अहिले यी सबै कुराबाट मानव जीवनलाई केही पर राखेर मानिसलाई फेरि सरलतातर्फ लग्न कोरोना महामारी र ‘लकडाउन’ले अवसर प्रदान गरेको छ । अनावश्यक सम्बन्ध र सामाजिक हेलमेल तथा  अनावश्यक भौतिक र शारीरिक आवश्यकताले सिर्जित जटिलताबाट जीवनलाई सरलतातर्फ लग्न ‘लकडाउन’ले सहज अवसर प्रदान गरेको छ ।  

६) उदार सक्रियवादतर्फ 

विशेषगरी यो कुरा आफ्नो प्रकृतिमा पनि भर पर्ने कुरा हो ।  तर यथार्थमा समयको अभाव वा सिक्ने अवसरको अभावमा मानिस प्रतिक्रियावादी बन्छ । तर यो समयले हामीलाई उदार सक्रियवादी बन्ने अवसर दिएको छ । कुनै कुरा हतारमा गरिहाल्नुपर्ने, बोलिहाल्नुपर्ने वा केही कुराको बारेमा यथाशीघ्र निर्णय लिइहाल्नु पर्नेसमय यो होइन । तसर्थ प्रयाप्त समय लिएर हरेक कुरामा सक्रिय श्रवण र मनन क्षमता बढाएर तथ्यपरक, सिर्जनशील र तार्किक बहस गर्न सक्ने र सिक्ने अवसर लम्बिएको ‘लकडाउन’ले दिएको छ । 

७) प्रकृतिसँग पुनः प्रेम 

पछिल्लो एक शताब्दीमा मानिसले प्रकृतिलाई असाध्यै धेरै दुरुपयोग गर्यो । प्रकृतिले सहनु सह्यो र मानव जातिलाई लाभ प्रदान गरिरह्यो । अहिले जब पुरै विश्व ‘लकडाउन’मा छ । यसले प्रकृतिलाई मौलिक स्वरुपमा फर्किन मद्दत गरेको छ । हाम्रा सहरहरु सुन्दर, सफा र स्वच्छ भएका छन् । विश्वका चर्चित सहरमा जङ्गली जनावर, सडकमा बिरुवा र नदी किनारमा देखिएका अभुतपूर्व दृश्यहरुले प्रकृति र मानवबीचको महत्त्व र सम्बन्धबारे ठूलो पाठ सिक्ने अवसर दिएको छ । कसरी प्रकृतिको अति न्यून प्रयोग गरेर उच्च फाइदा लिन सक्ने भनेर आउँदो पुस्तालाई सिकाउने अवसर यो समयले हामीलाई प्रदान गरेको  छ । हामीलाई प्रकृतिसँग प्रेम सम्बन्ध पुनः गाँस्ने अवसर प्रदान गरेको छ ।

८) सामाजिक दूरी घटाउँ 

विश्व स्वास्थ्य सङ्गठनसहित संसारका देशहरुले कोरोनासँग लड्न अपनाएको नारा हो – सामाजिक दूरी बढाउँ । कोरोनाबाट कम प्रभावित देश भएपनि नेपालले पनि यो नारालाई अङ्गालेको छ । तर सामाजिक दूरीले भावनात्मक सम्बन्ध, सामाजिक नेतृत्व र उत्तरदायित्व तथा मानवीय अनुभूतिलाई नकारात्मक असर गर्ने हुनाले सामाजिक दूरीलाई घटाएर शारीरिक दूरीलाई बढाउनुपर्छ । ‘लकडाउन’ले सामाजिक दूरीलाई घटाउने र सम्बन्धहरुलाई पुनः जोड्ने अवसर प्रदान गरेको छ ।  यससँगै हामीलाई सामाजिक सहिष्णुता, एकता र सहयोगको भावना, सामूहिक पहल, विभेदको अन्त्य र सामाजिक सम्मानको भाव सिर्जना गर्ने अवसर पनि प्रदान गरेको छ । 

अन्तिम अपडेट: जेठ ३, २०७७

सरोज गिरी

सरोज गिरी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सामाजिक कार्य विषय पढाउने लेक्चरर हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया