शुक्रबारदेखि ओमानमा लकडाउन खुल्ने, सरकारी निकायमा कम्तिमा ५० प्रतिशत कर्मचारी उपस्थित हुनुपर्ने

 जेठ १४, २०७७ बुधबार २०:८:३१ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबारदेखि ओमानमा लकडाउन खुल्ने भएको छ । कोभिड–१९ महामारी सम्बन्धमा काम गरिरहेको सर्वोच्च समितिले मस्कट गभरनेट क्षेत्रको लकडाउन मे २९ देखि हटाउने भएको हो ।

समितिले सरकारी निकायहरुमा कम्तिमा ५० प्रतिशत कर्मचारी उपस्थित हुनुपर्ने निर्णय गरेको छ । योभन्दा पहिले कर्मचारीको न्युनतम उपस्थिति हुनुपर्ने निर्णय भएको थियो ।

प्रत्येक इकाईका प्रमुखले महामारीको प्रसारलाई रोक्न आवश्यक सावधानीका उपायहरु अपनाउँदै सरकारी निकायको नियमित गतिबिधि र कार्य सम्पादन गर्न सक्ने निर्णय भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । 

समितिको निर्णय अनुसार केही कर्मचारी वार्षिक बिदामा पनि बस्न सक्ने छन् भने बाँकी कर्मचारीहरुले मे ३१ अर्थात आइतबारदेखि काममा फर्कनु पर्नेछ ।

यस्तै इदको बिदाको समयमा सर्वोच्च समितिको निर्णय बिरुद्ध गतिविधिहरु भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न भएकाहरुलाई कारबाही गरिने रोयल ओमान पुलिसले जनाएको छ । 

सार्वजनिक स्थलमा जमघटहरु गरेको, समितिले बन्द गर्न निर्णय गरेका व्यावसायिक गतिबिधिहरु बन्द नगरेको, पुनः सञ्चालनका लागि अनुमति प्राप्त व्यावसायिक गतिविधिहरुमा सुरक्षा र सावधानीका उपायहरु पालना नगरेको र अनुहारमा मास्क प्रयोग नगरिएको भन्दै त्यस्ता गतिविधि गर्नेलाई कारबाही गरिने भएको हो । 

यस्ता गतिविधि गर्नेलाई ओमान सरकारले फरक फरक जरिवाना तोकेको छ ।  

जमघटको लागि आव्हान गरेको व्यक्तिलाई ओमानी रियाल १५०० र जमघटमा सामेल हुनेलाई ओमानी रियाल १०० तोकेको छ । यस्तै सार्वजनिक स्थलमा मास्क नलगाउनेहरुलाइे २० जरिवाना तोकेको छ । 

समितिको निर्णयको अवज्ञा गर्दै व्यवसायिक गतिबिधिहरु सञ्चालन गर्नेलाई ३ हजार ओमानी रियाल जरिवाना र अस्थाई रुपमा सम्वन्धित व्यवसायिक गतिबिधि बन्द गरिने छ ।

यस्तै आवश्यक सुरक्षाका उपायहरुलाई पालना नगरी व्यवसायिक गतिबिधिहरु सञ्चालन गर्नेहरुलाई १५ सय ओमानी रियाल र एक महिना सम्वन्धित गतिबिधिहरु बन्द गरिने निर्णय गरिएको दूतावासले जनाएको छ ।

 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया