बार्दियामा पीसीआर परीक्षणको दायरा बढेन : जोखिम बढ्न सक्ने खतरा

 जेठ १८, २०७७ आइतबार ८:५३:४५ | भावुक योगी
unn.prixa.net

बर्दियामा पीसीआर परीक्षणको दायरा नबढाइँदा समस्या भएको छ ।

दुई सातायता भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न नाका तथा नेपालगञ्ज जमुनाहा नाकाबाट दिनहँ सयौँ मानिसहरु बर्दिया भित्रिरहेका छन् तर जिल्लामा पीसीआर परीक्षणको दायरा नबढाउँदा सङ्क्रमणको जोखिम बढ्दै गएको छ ।

आरडीटी पोजेटिभ देखिएका, सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका र आइसोलेसनमा रहेको व्यक्तिको अन्तिम परीक्षणका लागि पीसीआर गरिने व्यवस्था रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । 

पीसीआर परिक्षणका लागि ४ वटा दायरा कायम गरिएको गिरीले बताउनुभयो । क्वरेन्टीनमा बसेकाहरुको पीसीआर परीक्षण गर्ने कुनै व्यवस्था छैन । 
जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार जेठ महिना यता २ हजारभन्दा बढी मानिसहरु भारतबाट जिल्ला भित्रिएका छन् । 

भारतबाट घर आएका जो कोहीलाई पनि अनिवार्य क्वरेन्टीनमा बस्नु पर्ने नियम बनाइएको छ । भारतबाट घर फर्कनेको संख्या बढ्दै गएपछि यहाँका क्वरेन्टीनहरु पनि भरिन थालेकाले व्यवस्थापन गर्न पालिकाहरुलाई हम्मेहम्मे परेको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका स्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीका अनुसार हाल ३ हजार ४ सय ३३ जना बर्दियाका विभिन्न क्वरेन्टीनमा बसिरहेका छन् ।

स्वास्थ्य कार्यालयको प्रतिवेदन अनुसार हालसम्म जम्मा १ हजार ३०५ जनाको मात्र पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको छ । जसमध्ये १ हजार २३७ जनाको रिर्पोट नेगेटिभ आएको छ भने ९ जनाको कोरोना पोजेटिभ देखिएको छ । अझैँ ५९ जनाको पीसीआर रिर्पोट आउन बाँकी छ ।

बर्दियामा पीसीआर परीक्षण किट पर्याप्त छैन । पछिल्लो समय शनिबार बर्दियामा ३ सय वटा मात्र पीसीआर किट आएको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताउनुभयो । भारतबाट आएर क्वरेन्टीनमा बसेका सबैको पीसीआर परीक्षण गर्नु पर्ने हो । तर परीक्षण गरिएको छैन ।

क्वरेन्टीनमा बसेकाहरुको ५ देखि ७ वा १० दिन भित्र पीसीआर परीक्षण गरिसक्नु पर्छ । तर यहाँ १४ दिनपछि आरडिटी परीक्षण मात्र गर्ने गरिएको छ । आरडिटी रिर्पोट पोजेटिभ देखिएकाहरुको मात्र पीसीआर परिक्षण गरिने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनुभयो । 

पीसीआर परीक्षण नहँदा क्वरेन्टीनको अवधी पुरा गरेर घर फर्के पनि त्रास रहिरहने क्वरेन्टीनमा बसेकाहरु बताउँछन् । क्वरेन्टीनमा पीसीआर परिक्षण नहुँदा समुदायमा पनि त्रास फैलने स्थानीयहरु बताउँछन् ।

यस्तै उज्च जोखिममा रहेको बर्दियामा कोरोना सङ्क्रमण्म फैलिन नदिन खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायतको पीसीआर परीक्षण पनि हुन सकेको छैन ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया