दर्ता नगरी चलेका अनलाइन व्यवसाय कारबाहीमा, घरघरै सेवा दिने धेरैजसो कम्पनी ‘गैरकानुनी’

 जेठ २४, २०७७ शनिबार १०:३३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दर्ता नगरी अनलाइन व्यवसाय गर्नेहरुलाई सरकारले कारबाही गर्न थालेको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले दर्ता नभइ होम डेलिभरीका नाममा अनलाइन व्यवसाय सञ्चालन गर्नेहरुलाई कारबाही थालिएको जनाएको छ । विभागले शुक्रबार डेलिभर इन्कर्पोरेशनलाई दर्ता विना व्यवसाय सञ्चालन गरेको भन्दै ५० हजार रुपैँया जरिवाना तिराएको छ ।

यस्तै टेलिटक नेपाललाई २० हजार जरिवाना गरिएको छ भने रैथाने एग्रो प्रडक्ट महाराजगञ्जलाई विभागले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० मा व्यापारिक कारोबार गर्ने सबैले मुल्यसूची र दर्ता प्रमाणपत्र राख्नुपर्ने व्यवस्था छ ।

तर लकडाउनको समयमा होम डेलिभरी गर्ने नाममा दर्ता विना नै अनलाइन व्यवसाय गर्ने क्रम बढेकाले अनुगमन गरी कारबाही थालिएको विभागले जनाएको छ । वस्तु उत्पादन गर्ने उद्योग भए उद्योग दर्ता र व्यवसाय गर्ने भएमा व्यवसाय दर्ताको प्रमाणपत्र सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था छ ।

तर लकडाउनको समयमा घरघरै सेवा दिने बहानामा धेरै कम्पनीले गैरकानुनी रुपमा व्यापार गरिरहेको सूचना आएको विभागका एक कर्मचारीले उज्यालो अनलाइनलाई जानकारी दिए ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया