वन्यजन्तुमा आधारित पर्यटन, अब्बल बन्दै सौराहा

 साउन १८, २०७५ शुक्रबार ९:२०:५५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – नेपालको पर्यटकीय गन्तव्य सौराहाको पर्यटन अब्बल बन्दै गएको छ । २०७२ सालको भूकम्प, २०७४ सालको बाढी र नारायणगढ–मुग्लिन सडकखण्डको सवारी अवरोधका कारण समस्यामा परेको सौराहाको पर्यटन लयमा फर्किएको छ ।  

दुर्लभ वन्यजन्तु हेर्न पाइने भएकाले नेपालकै सफारी पर्यटनमा उत्कृष्ट गन्तव्य सौराहा बनेको छ । वन्यजन्तुमा आधारीत पर्यटकीय स्थल सौराहामा हात्ती, डुंगा तथा जीप सफारी गरी वन्यजन्तुको अवलोकन पर्यटकको लागि मुख्य आकर्षण बनेको छ । विश्व संरक्षण सूचिमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज, यहाँको जनावर, पंक्षीमा पर्यटन जोडिएको छ ।

सौराहामा विदेशी पर्यटकहरुमात्र होइन स्वदेशी पर्यटकहरु पनि प्रशस्त पुग्ने गरेका छन् । सौरहाका होटल व्यवसायीहरुका अनुसार पछिल्लो समय त्यहाँको व्यवसाय अन्तरिक पर्यटकले धान्न थालेका छन् । हात्ती चढेर जंगल घुम्नु र जनावर हेर्नु, निकुञ्जमा जीप सफारी गरेर दृष्यावलोकनमा रमाउनु, डुंगा चढेर मनोरञ्जन लिनु, सूर्यास्त अवलोकन गर्नु सौराहाको विशेषता हो । प्रकृतिसँग नजिकिने पर्यटक नेपाल आउँदा सौराहा नघुमी फर्किदैनन् । जंगलका घाँसे मैदान र पानीका तलाउहरुमा दुर्लभ एकसिंगे गैंडा रमाइरहेका भेटिन्छन् ।

२०२९ सालमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि २०३२ सालमा पर्यटनसम्बन्धी गतिविधि सौराहामा सुरु भएको पाइन्छ । २०३७ सालबाट सौराहामा पर्यटन व्यवसाय सुरु भएको थियो । २०४२ सालबाट औपचारीक रुपमा व्यावसायिक रूपमा थालिएको पर्यटन व्यवसाय अहिले निकै फस्टाउँदै गएको छ । 

सौराहामा प्रत्यक्ष अप्रत्यक्ष गरी १० हजार भन्दा बढीले रोजगारी पाएका छन् । सौराहामा रहेका ठूला होटलभन्दा बाहेक ४० रेष्टुरेन्ट, एक सयभन्दा बढी जिप, ४० टागा र ६० हात्तीमा संलग्न रहेका कामदारको संख्या एक हजार भन्दा बढी छ । दैनिक २८ सय पर्यटक बस्नसक्ने क्षमता सौराहामा अहिले १ सय १० वटा सुविधायुक्त होटल छन् । सौराहामा ६० प्रतिशत स्वदेशी र ४० प्रतिशत विदेशी पर्यटक आउने गर्दछन् । 

हात्ती सफारी 

जंगल सफारीका लागि प्रसिद्ध सौराहामा निजी क्षेत्रका व्यवसायीले ६० वटा हात्ती पालेका छन् । ५० लाखदेखि झण्डै एक करोड रुपैयाँ खर्चेर व्यवसायीले हात्ती किनेर ल्याउने क्रम पनि बढेको छ ।

अन्य जनावरहरु नजिकबाट नियाल्न सकिने र सुरक्षित हुने भएकाले हात्ती सफारीले मन तान्छ । हौदा राखिएको हात्तीमा ४ जना बस्न मिल्छ । सबैभन्दा ठूलो जनावर हात्ती भएकाले अन्य जनावरबाट हात्ती सफारीमा पर्यटकलाई कुनै डर हुँदैन । घाँसे मैदान या पानीका तालमा दुर्लभ एकसिंगे गैंडा चर्दै र खेल्दै गरेको दृष्य हेर्नका लागि हात्ती सफारी सहज मानिन्छ । उनीहरुबीचको क्रिडाले पर्यटकलाई लोभ्याउँछ । हात्तीसँग खेल्दै नुहाउन पर्यटकको लाइन लाग्छ । 

जीप सफारी 

सौराहादेखि कसरासम्म जीप सफारी गर्न पाइन्छ । ३ देखि ४ घण्टाको यो यात्रा निकुञ्ज भित्रैको हो । संयोग पर्दा बाटैमा सुतेको र लस्केको बाघ देख्न पाइन्छ भने गैंडाले बाटो नै छेक्छ । निकुञ्जको मुख्यालय कसरामा पुग्दा नेपालकै एकमात्र गोही प्रजनन् केन्द्रमा विभिन्न उमेर समुहका  गोहीहरुले पर्यर्टकलाई आकर्षित बनाउँछ । 

साहसिक पर्यटकहरु पैदलै पनि हिँडेर यस्ता दुर्लभ वन्यजन्तु अवलोकन गर्छन् । हरेक सफारीका लागि तालिम प्राप्त पथप्रदर्शकहरु सहयोगी बन्छन् । वन र वन्यजन्तुसँग जोडिएको पर्यटन भएकैले सौराहाको पहिचान नेपालको अन्य पर्यटकिय क्षेत्रभन्दा फरक बन्दै गइरहेको छ । 

पर्यटकीय नगरी सौराहामा आउने पर्यटकमध्ये झण्डै ७० प्रतिशतले जिप सफारी गरेर चितवन निकुञ्ज घुम्ने गरेका छन् । सुरक्षित र सहज रुपमा वन्यजन्तु हेर्न पाइने भएकाले निकुञ्जको जिप सफारीमा पर्यटकको आकर्षण बढेको हो । सौराहाबाट निकुञ्ज घुम्नका लागि ४० भन्दा बढी जीप सञ्चालनमा छन् ।

डुंगा सफारी 

राप्ती नदीमा दिनभरी डुंगा सफारी गर्न सकिन्छ । नदीका छेउकुनामा देखिने घाम ताप्दै गरेका गोही तथा साइबेरियालगायत क्षेत्रबाट आउने चराका बथानले आकर्षण थप्छ । पानीचराको मुख्य बासस्थान राप्ती नदी भएकाले विभिन्न प्रजातीका चरा अवलोकन गर्न पाइन्छ ।

विभिन्न प्रजातीका जनावर पानी पिउन नदीमै पनि आइपुग्छन् । राप्ती नदी हात्ती वाथमा रमाउने पर्यटक बेग्लै छ । 

यस्तो छ प्याकेज 

सौराहामा पर्यटन व्यवसायीको प्याकेज कार्यक्रम चल्छ । व्यवसायीले प्याकेज प्रोग्राम बेच्छन् । मुख्य गरी २ रात तीन दिनको एउटा प्याकेज हुन्छ । २ लन्च, २ डिनर र ब्रेकफाष्ट सहितको प्याकेज । यसका अलावा हात्ती सफारी, डुंगा सफारी, जंगल वाक, थारु कल्चर र चरा अवलोकन, विभिन्न कल्चरल कार्यक्रमहरु पनि प्याकेजमै समेटिन्छन् ।

जीप सफारी प्याकेज बाहिर छ । प्याकेजको मूल्य होटलको स्तर हेरेर रु ५ हजारदेखि १० हजारसम्मको छ । प्याकेज आउँदा पर्यटकहरुलाई झन्झट नहुने तर्क व्यवसायीहरुको छ । प्याकेजमा नआएका पर्यटकहरु पनि प्रशस्तै आउँछन् । उनीहरुले झण्डै १० हजार रुपैयाँमा यहाँका सबै अनुभवहरु लिन सक्ने छन् । कोठा मात्रै पनि ५०० देखि १० हजार रुपैयाँसम्मका छन् । सौराहामा पछिल्लो समयमा होटल खुल्ने क्रम बढ्दो छ । 

सौराहामा पहिलो लगानी १० करोड लगानीमा खोलिएका होटल झण्डै एक दर्जन पुगेको छ । बेमौसममा पर्यटक तान्न मेला र महोत्सवको आयोजना पनि हुन थालेको छ । भदौ दोस्रोसातादेखि कार्तिक दोस्रोसातासम्म  र फागुन दोस्रोसातादेखि वैशाख दोस्रोसातासम्म बढी पर्यटकहरु सौराहा घुम्न आउने गर्छन् । 
त्यसैले अफसिजनमा पर्यटकको बसाई लम्ब्याउन र नयाँ पर्यटकलाई आकर्षित गर्न मेला महोत्सव शुरु गरिएका छन् यहाँ हात्ती महोत्सव गर्न थालिएको छ । सौराहा फुड फेस्टिभल हुँदै आएको छ । पर्यटक सुनसान हुने क्रिसमस र अंग्रेजी नयाँ वर्षमा हात्ती महोत्सव हुन्छ ।

आचार संहिता 

सौराहाको पर्यटन क्षेत्रलाई व्यवस्थित गरी पर्यटनमैत्री बनाउन व्यवसायीले आचारसंहिता जारी गरेका छन् । ध्वनि प्रदूषणमा नियन्त्रण, पर्यटनमैत्री वातावरण, वन, वन्यजन्तु र वातावरण संरक्षणलाई केन्द्रमा राखेर व्यवसायीले १६ बुँदे आचारसंहिता जारी गरेका हुन् ।

कुनै मेला महोत्सवबाहेक जाडो समयमा राति ११ बजेसम्म र गर्मी समयमा १२ बजेसम्म होटल रेष्टुरेन्ट सञ्चालन गर्ने उल्लेख छ । पर्यटकलाई बीच बाटोमा रोकेर हात्ती, जिप सफारी तथा होटलको कोठा बेच्न नपाउने, पर्यटन क्षेत्रका बाटोघाटोमा गाडी रोक्न नपाउने, पोशाकमा आएका विद्यार्थीका लागि जिम्मेवार अभिभावक नभएसम्म कोठामा बस्न नदिने, स्वीमिङ पुलमा अनिवार्यरुपमा लाइफ ज्याकेट राख्ने, अनुमति बिना ड्रोनको प्रयोग गर्न नदिने गरी आचारसंहिता बनाइएको छ ।

गुरु योजना

नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा पर्यटन व्यवसाय सुरु भएको तीन दशकपछि बल्ल पर्यटन गुरु योजना निर्माण गर्न थालिएको छ ।

जिल्लाकै समग्र पर्यटन क्षेत्रलाई जोड्ने गरी पर्यटकीय पूर्वाधार निर्माण, वन्यजन्तु र वातावरण संरक्षण, तालतलैया निर्माण, प्रचारप्रसार तथा सम्मेलन केन्द्र, संस्कृति संरक्षणलगायत आवश्यक भौतिक निर्माणलाई प्राथमिकतामा राखेर गुरुयोजना बनाउने तयारीमा व्यवसायीहरु लागेका छन्  ।

सुधार गर्नुपर्ने पक्ष

सौराहाको पर्यटनमा दीर्घकालीन योजनाहरु छैनन् । वाईल्डफाईफ पर्यटनमा असर परेमा सौराहा सुनसान हुने पक्का छ । विविधता दिन नसकेको र प्रचार प्रसार गर्न पछि परेको स्वयं व्यवसायीहरु स्वीकार्छन् ।

विविधता दिन नसक्नु सबैभन्दा ठूलो कमजोरी बन्दै आएको छ । सौराहामा महत्वपूर्ण विकासका कार्यक्रम र खेलगल्फ कोर्स लगायत फरक खालका गतिविधि गर्नु जरुरी छ । 

पर्यटन सूचना केन्द्र र सभाहल निर्माणको काम अगाडि बढाउनुपर्ने छ । पर्यटकका लागि चाहिने हस्पिटालिटी भने सौराहामा कमजोर छ । होटल र कर्मचारीका स्तरवृद्धि तथा खानाको गुणस्तरमा अझै सौराहा कमजोर नै देखिन्छ ।

अन्तिम अपडेट: कात्तिक २४, २०७५

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हुनुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया