गोरखा दरबारनजिकै ठडियो पृथ्वीनारायण शाहलाई सल्लाह दिने बिसे नगर्चीको शालिक

 साउन १८, २०७५ शुक्रबार २०:२६:३ | किरण लोहनी
unn.prixa.net

गोरखा – नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहलाई महत्वपूर्ण आर्थिक सल्लाह दिएका बिसे नगर्चीको अर्धकदको शालिक स्थापना गरिएको छ । 

ऐतिहासिक गोरखा दबार मुन्तिरको गीतारडाँडा भन्ने ठाऊँ नजिकै ढलौटको अर्धकदको शालिक स्थापना गरिएको हो । शालिक स्थापना गरिएको स्थानमा नजिकैको गाउँमा केही दशक अघिसम्म नगर्चीको घरको भग्नावशेष रहेको बताइन्छ । गोरखा नगरपालिका, परियार सेवा समाज काठमाडौं र बिसे नगर्ची पार्क निर्माण समिति गोरखाको संयुक्त पहलमा पहिलो चरणमा शालिक स्थापना गरिएको हो । त्यही ठाउँ वरपर पार्क निर्माणको योजना अघि सारिएको छ । त्यसको डिजाइन तयार पार्ने काम सकिएको गोरखा नगरपालिकाकी उपप्रमुख बिना श्रेष्ठले बताउनुभयो ।

बिसे नगर्चीको ऐतिहासिक जन्मथलोलाई विश्वसामू चिनाएर पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पार्क निर्माण गर्न लागिएको उहाँको भनाई छ । झण्डै पाँच रोपनी सरकारी जग्गामा पार्क निर्माण गर्न लागिएको छ । पार्क निर्माणका लागि झण्डै पचास लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

पहिलो चरणमा बिसे नगर्चीको शालिक राखिएको र अब क्रमशः अरु संरचना थप गर्दै लैजाने शालिक निर्माण समितिका सचिव सोमबहादुर अछामीले बताउनुभयो । लामो समयको पहलपछि शालिक स्थापना भएकोमा स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहलाई पैसाको खाँचो परेको र नगर्चीकै सल्लाह अनुसार तत्कालीन गोरखा राज्यभित्रका हरेक घरधुरीबाट नगद संकलन गरिएको राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचिव सीताराम घले परियारले बताउनुभयो । 

‘दरबारमा नगर्चीको काम गर्ने बिसेको आँगनमै पुगेर पृथ्वीनारायण शाहले एकीकरणका लागि हतियारको बन्दोबस्त गर्न अप्ठ्यारो परेको कुरा गर्नुभएछ’, परियारले भन्नुभयो, ‘त्यसपछि बिसेले घरभित्रबाट एक रुपैयाँको ढ्याक ल्याएर दिएछन्, पहिले एक रुपैयाँ दिएर आफूलाई हेपेको ठानेका शाहले पछि नगर्चीकै सल्लाहमा सबै घरधुरीबाट एक–एक रुपैयाँ संकलन गरी हतियार किनेको इतिहासका विभिन्न पुस्तकमा चर्चा गरिएको छ ।’ 

नगर्चीहरुको मुख्य काम गोरखकाली मन्दिरमा विशेष पूजाआजा हुँदा नगरा बजाउनु हो । हिजोआज पनि यो परम्परा चलिआएको छ । अहिले नगरा बजाउने काम गर्दै आउनुभएका भुन्टे परियार बिसे नगर्चीको शालिक बनेकोमा खुशी हुनुहुन्छ । ‘उहाँको सल्लाह राजाले मानेकैले अहिले यत्रो देश बन्यो भन्ने सुनिन्छ’, भुन्टेले भन्नुभयो, ‘सानो मान्छेको सानो कुराले पनि मान्यता पायो र अहिले शालिक नै खडा भयो ।’

शाहकालीन इतिहासका विभिन्न सन्दर्भमा बिसे नगर्चीको चर्चा गरिएपनि २०६२÷६३ को जनआन्दोलनको बेलातिर कवि श्रवण मुकारुङको बिसे नगर्चीको बयान कवितापछि भने उनको चर्चा चुलिएको दलित आयोगका पूर्व सदस्य सचिव परियारले बताउनुभयो । शालिक र पार्क बनेपछि उनको ऐतिहासिक योगदानको थप चर्चा हुने र नयाँ पुस्ताले जान्न पाउने उहाँको विश्वास छ । 

शालिक र पार्क निर्माणमा विवाद

शालिकको अनावरण गरिए पनि बिसे नगर्चीको सम्झनामा बन्दै गरेको पार्क निर्माणको काम भने रोकिएको छ । पार्क निर्माणका लागि गत जेठ २६ गते शिलान्यास भै काम सुरु भएको थियो । गोरखा नगरपालिका, परियार सेवा समाज काठमाडौं र बिसे नगर्ची पार्क निर्माण समिति गोरखाको संयुक्त पहलमा निर्माण सुरु भए पनि पुरातत्व विभागले काम रोकेको हो ।

पुरातात्विक क्षेत्रभित्र पार्क निर्माण गर्दा आफूसँग सरसल्लाह नगरेको भन्दै निर्माण रोकिएको विभाग अन्तर्गतको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । गोरखा दरबार परिसरभित्र पार्क निर्माण गर्दा पनि छलफल नगरिएको भन्दै पुरातत्व विभागले हेरचाह अड्डामार्फत काम रोक्न भनेको हो । शालिक निर्माणमा सक्रिय परियार सेवा समाजको आधिकारिकतासम्बन्धी विवादका कारण पनि पार्क निर्माण अलमलमा परेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । परियार सेवा समाजकै नाममा दुईवटा संस्था दर्ता भएपछि आधिकारिकतासम्बन्धी विवाद बढेको हो । 

सर्वोच्च अदालतले डीबी परियार नेतृत्वको पुरानो कार्यसमितिलाईनै आधिकारिकता दिए पनि विवाद साम्य भएको छैन । तर संस्थाको आधिकारिकतालाई कारण देखाएर पुरातत्व विभागले शालिक र पार्क निर्माणको काम रोक्न नमिल्ने प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ । यसबारे विभाग, गोरखा नगरपालिका, परियार सेवा समाजलगायत सरोकारवाला निकाय र संघसंस्थाहरुसँग समन्वयको पहल भैरहेको उहाँले बताउनुभयो ।

पार्क निर्माण रोकिएकोमा गोरखा नगरपालीकाका प्रमुख राजनराज पन्तले तीव्र असन्तुष्टि जनाउनुभएको छ । शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘नेपाल एकीकरणका ऐतिहासिक व्यक्तिको नाममा राजनीति नहोस्, हामी स्थानीय सरकार हौँ, पार्क निर्माणको काम जसरी पनि अघि बढ्छ ।’


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया